close

क्यान महासंघको पहिलो महिला अध्यक्ष बनिन् सुनैना, नयाँ कार्यसमितिमा कोको आए ?

टेकपाना टेकपाना

पुस १३, २०८१ २०:२०

क्यान महासंघको पहिलो महिला अध्यक्ष बनिन् सुनैना, नयाँ कार्यसमितिमा कोको आए ?

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को १५औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा सुनैना पाण्डे घिमिरेसहित अधिकांश कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । योसँगै क्यानले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ ।  

व्यक्तिगत साधारण समूहतर्फ र जिल्ला शाखा समूहको बागमती र लुम्बिनी प्रदेशतर्फबाट प्रतिनिधित्व हुने कार्यसमिति सदस्यका लागि मात्रै शनिबार मतदान भएको थियो ।

यसअन्तर्गत व्यक्तिगत साधारण समूहतर्फ सुभाष खड्का सर्वाधिक मत पाई विजयी भएका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका खड्काले १२४ मत पाए ।

त्यस्तै उक्त समूहबाट बन्दना शर्मा ज्ञवालीले ११६, राजु कट्टेलले ११४, ओमकार बस्नेतले ११०, दिनेशराज कार्कीले १०३, शिला कंसाकारले ९० र दिपेन्द्र पौडेलले ८२ मत पाएर केन्द्रीय सदस्यमा विजय प्राप्त गरे ।

१४औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका खुशल रेग्मी भने यसपटक पराजित हुन पुगेका छन् । उनले ७९ मत मात्रै पाए । त्यस्तै रिना श्रेष्ठले ७१ मत मात्रै प्राप्त गरिन् ।

त्यसैगरी जिल्ला शाखा समूहतर्फ भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट नारायण प्रसाद श्रेष्ठ र ध्रुवराज शर्मा तथा बागमती प्रदेशबाट शेखरनाथ दुलाल विजयी भए । यसबाहेक अन्य जिल्ला शाखा समूह, व्यक्तिगत आजीवन, संस्थागत साधारण, संस्थागत आजीवन, विषयगत र लेखा समितिबाट सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

कार्यसमितिको निर्वाचन सकिएसँगै आइतबार पदाधिकारीको निर्वाचन हुनेछ । यसअन्तर्गत चार उपाध्यक्ष, महासचिव, सात सचिव र कोषाध्यक्ष चयन गरिने छ ।

कोको भए निर्वाचित ?

पछिल्लो अध्यावधिक: पुस १४, २०८१ १९:०