close

जनावरको भाषा बुझ्न एआई प्रयोग हुँदै, नतिजा कस्तो आउला ?

टेकपाना टेकपाना

पुस १४, २०८१ २०:१

जनावरको भाषा बुझ्न एआई प्रयोग हुँदै, नतिजा कस्तो आउला ?

काठमाडौं । वैज्ञानिकहरू जनावरबीचको संवाद बुझ्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली विकासमा जुटेका छन् । जनावरका भाषा बुझ्न मद्दत गर्ने उद्देश्यसहित यस्तो प्रणाली निर्माण भइरहेको हो । यो प्रविधिले जनावर र मानवबीचको अन्तर बुझ्न सहयोग गर्नुका साथै प्रकृतिसँगको हराउँदै गएको सम्बन्धलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

 

साथै, जनावरलाई कानुनी अधिकार दिनुपर्नेमा बलियो आधारसमेत तयार गर्न सकिने केही अधिवक्ताहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत जनाएका छन् । यसै सन्दर्भमा, यस वर्षको सुरुमा ‘नेचरएलएम’ (NatureLM) नामक एआई प्रणाली प्रस्तुत गरिएको थियो । यो प्रणालीले विभिन्न जनावरका प्रजाति, ती जनावरको अनुमानित उमेर र तिनीहरूले व्यक्त गर्ने संकेतबारे जानकारी दिन सक्छ ।

‘अर्थ स्पेसिस प्रोजेक्ट’ (Earth Species Project) द्वारा विकसित गरिएको यस प्रणालीले पहिले कहिल्यै नदेखिएका प्रजातिहरूको संवाद समेत पहिचान गर्न सक्ने सम्भावना देखाएको छ ।

नेचरएलएमलाई मानव भाषा, वातावरणीय आवाज र अन्य डेटा प्रयोग गरेर तालिम दिइएको छ । यस संस्थाले हालै एक करोड ७० लाख डलरको अनुदान प्राप्त गरी आफ्नो काम अघि बढाइरहेको जनाएको छ ।

“हामी जैविक विविधताको संकटको सामना गरिरहेका छौं,” अर्थ स्पेसिस प्रोजेक्टकी प्रमुख कार्यकारी अधिकृत केटी जाकारियनले सान फ्रान्सिस्कोमा आयोजित एएक्सिओएस एआई प्लस सम्मेलनमा नेचरएलएम प्रस्तुत गर्दै भनिन्, “हाम्रो आजको अवस्था प्रकृतिसँगको सम्बन्ध विच्छेदका कारण आएको हो । एआईले जनावरको संवादलाई डिकोड गरी मानवलाई फेरि प्रकृतिसँग जोड्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”

जनावरको भाषालाई मानव भाषामा अनुवाद गर्न विभिन्न चुनौतीहरू छन् । उदाहरणका लागि, चरा गीत गाउन र चेतावनी दिन फरक आवाज निकाल्छ भन्ने अनुसन्धानले देखाइसकेको छ । केही प्रजातिले एकअर्कालाई व्यक्तिगत नाम दिन्छन् भने प्रेयरी प्रजातिका कुकुरहरूले आफ्नो सिकार सम्बन्धी चेतावनी दिन विशेषण र संज्ञा प्रयोग गर्छन् ।

अर्थ स्पेसिस प्रोजेक्टले एआईको प्रयोग गरेर पृथ्वीका समस्या समाधान गर्न विभिन्न प्रयास गरिरहेको छ । यसै क्रममा, माइक्रोसफ्टले जैविक विविधता मापन गर्न ‘स्प्यारो’ (SPARROW) नामक एआई प्रणाली प्रस्तुत गरेको थियो । यो प्रणालीले सौर्य ऊर्जाबाट सञ्चालित डिभाइस प्रयोग गरी क्यामेरा, ध्वनि उपकरण र अन्य सेन्सरबाट डेटा सङ्कलन गर्छ ।

तर, एआईको उच्च ऊर्जा खपतले विद्युतीय प्रणालीमा दबाब सिर्जना गरिरहेको र यसले कार्बन न्युट्रल प्रयासमा अवरोध पुर्‍याउने खतरा पनि रहेको विज्ञहरूले औंल्याएका छन् । “यस क्षेत्रमा जिम्मेवार उपयोग र नैतिक सुरक्षा सम्बन्धी चुनौतीहरूसँग जुध्न आवश्यक छ,” जाकारियनले थपिन् ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८१ २०:१