काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको डेटा डार्क वेबमा बिक्रीका लागि राखेको पाइएको छ । दक्षिण एसियाली ह्याकरको समूह फङ्कसेकले सोमबार राति मन्त्रालयको डेटा डार्क वेबमा ५० अमेरिकी डलर मूल्यमा बिक्रीका लागि राखेको हो ।
फङ्कसेक साइबर आक्रमणका लागि परिचित एक समूह हो । जसले सरकारी तथा सार्वजनिक संस्थानहरूलाई निशानामा पार्ने गरेको छ । खासगरी राजनीतिक तथा वैचारिक हिसाबले प्रेरित यो समूहले विभिन्न ट्याक्टिक्स, टेक्निक्स र प्रोसिजर (टीटीपी) प्रयोग गरी कमजोरीहरू हात पार्ने गर्छ ।
सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै उक्त समूहले चार ओटा सरकारी वेबसाइट मुसाको भाउमा बिक्रीका लागि राखेको जानकारी दिएको थियो । त्यसमा नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि परेको छ ।
डार्क वेबमा उक्त समूहले मन्त्रालयको परिचय यसरी दिएको छ, “यस मन्त्रालयले नेपालका स्थानीय सरकार (नगरपालिका र गाउँपालिका) को निरीक्षण गर्छ । र नेपालमा निजामती सेवाको व्यवस्थापन गर्छ । यसको मुख्य जिम्मेवारी नेपालको संविधान र सम्बन्धित कानुन अनुसार स्थानीय तहहरूको समन्वय, सहायता, सहजीकरण र सहयोग प्रदान गर्नु हो ।”
डार्क वेबमा राखिएको सूचना अनुसार यस समूहले वेबसाइटमा आधिकारिक एक्सेस पाउने सुपर एड्मिन प्यानलको डेटा बिक्रीका लागि राखेको हो । यसको मूल्य ५० अमेरिकी डलर राखिएको छ । सो रकम पनि आपसी समझदारीमा मिलाउन सकिने उक्त ह्याकर समूहले जानकारी दिएको छ ।
डार्क वेबमा सार्वजनिक गरिएको फोटोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पोर्टलको विवरण देखिन्छ । यही प्यानलबाट बजेट विवरण, परिपत्र निर्देशन, पालिका विवरण, पालिका वेबसाइट लगायतका विवरण व्यवस्थापन गर्न सकिने देखिन्छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यस विषयमा आफू अनभिज्ञ रहेको भन्दै कर्मचारीसँग बुझेर जानकारी दिने बताए ।
वेबसाइट ह्याक भएको जानकारी दिने प्लेटफर्म ओन्जयु डटकमका अनुसार गत अगस्टमा यो वेबसाइट ह्याक भएको थियो । बङ्गलादेशी ह्याकरको समूह एनोनिमस बङ्ग्लादेशले वेबसाइट ह्याक गरेको जिम्मेवारी लिएको थियो ।