काठमाडौं । नेपाली भाषाको आधिकारिक शब्दकोश ‘नेपाली बृहत् शब्दकोश’को मोबाइल एपमा झन्डै तीन वर्षदेखि कुनै अपडेट आएको छैन । नेपाल प्रज्ञा प्रतिष्ठानले इन्टरनेटमा उपलब्ध गराएको दुई वर्षसम्म निरन्तर अपडेट आइरहेको भए पनि नेतृत्व परिवर्तन भएपछि भने एप बेवारिसे जस्तै बनेको हो ।
नेपाली बृहत् शब्दकोशको पहिलो संस्करण विसं २०४० (सन् १९८३) मा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएको थियो । यसको दशौँ संस्करण विसं २०७५ (सन् २०१८) मा प्रकाशित भएको थियो, सम्पादक डा. यज्ञेश्वर निरौला थिए ।
त्यसैलाई डिजिटल स्वरूपमा सन् २०२० मा ल्याइएको थियो । डिजिटल स्वरूपमा ल्याउन नयाँ यात्रा प्रालि नामक कम्पनीले प्राविधिक सहयोग गरेको थियो ।
नयाँ यात्राकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिरीष पाण्डेका अनुसार सो एपमा भएका शब्दमा त्रुटि भएको उल्लेख गर्दै ४ हजार ४२६ ओटा रिपोर्ट आएका छन् । त्यस्तै शब्दहरू छुटेको झन्डै १,५९६ बढीले रिपोर्ट गरेका छन् । तर, सिस्टम सबै प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेकाले त्यसलाई मिलाउन नसकिएको उनले सुनाए ।
“दिनदिनै प्रविधि अत्याधुनिक हुँदै गइरहेको छ,” पाण्डे भन्छन्, “त्यसमा पनि एप लाखौँले प्रयोग गर्छन् । यस्तोमा सुधार्नु पर्ने पक्षबारे दिनदिनै गुनासो आइरहेको हुन्छ । त्यसैले अपडेट गर्नुपर्ने हो । तर, दुई वर्षदेखि त्यसको काम भएको छैन ।”
प्रज्ञामा पहिले शब्दकोशको भौतिक स्वरूप परिमार्जन गरी त्यसपछि मात्र डिजिटल भर्सनलाई अद्यावधिक गर्ने प्रवृत्ति छ । तर, यो असजिलो प्रक्रिया भएको उनको तर्क छ ।
भन्छन्, “भौतिक पुस्तकभन्दा एप धेरैको पहुँचमा हुन्छ । त्यसमा सुधार्नु पर्ने पक्षको जानकारी धेरै र छिटो आउँछ । तर, प्रज्ञामा पहिले भौतिक संस्करण परिमार्जन गरेर पछि डिजिटल स्वरूप परिमार्जन गर्ने गरिन्छ ।”
प्रतिष्ठानमा नयाँ नेतृत्व आएपछि एपका विषयमा खासै छलफल नभएको उनले सुनाए । प्रतिष्ठान एप परिमार्जन (अपडेट) गर्न तयार भए आफूहरूले सहयोग गर्ने पाण्डेले सुनाए ।
पहिले डिजिटल भर्सन परिमार्जन गरी त्यसपछि भौतिक संस्करणमा जानुपर्ने धारणामा डा. यज्ञेश्वर निरौलाको छ । उनका अनुसार जति बढी प्रतिक्रिया डिजिटल स्वरूपबाट पाइन्छ, त्यो भन्दा कम मात्र भौतिक पुस्तकबाट पाइन्छ । यस्तोमा पहिले डिजिटल भर्सन परिमार्जन गरेर मात्र शब्दकोशको नयाँ संस्करण ल्याउनुपर्ने उनको राय छ ।
प्रज्ञा नेपाली बृहत् शब्दकोश आधिकारिक शब्दकोश भएकाले यसका फिचर पनि त्यही किसिमका छन् । खासगरी यस एपलाई इन्टरनेट नहुँदा पनि प्रयोग गर्न सकिन्छ । यस्तो बनाउनका लागि नयाँ यात्राले समय र सीप खर्चेको छ ।
तर, त्यसपछि त्यही डेटालाई आधार बनाई ल्याएका शब्दकोशका एप बढी परिमार्जित जस्ता देखिन्छन् । यसले गर्दा समय अनुसार प्रज्ञाको शब्दकोशको एपलाई पनि परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको पाण्डे र निरौला दुवैको तर्क छ ।
निरौला एप विकास गर्ने क्रममा संलग्न भए पनि अहिले उनी प्रज्ञामा आबद्ध छैनन् । उनका अनुसार नेपाली भाषीहरू विश्वभर रहेको अवस्थामा सबैको हातमा भौतिक संस्करण पुर्याउन नसकिने भएकाले त्यस बेला डिजिटल संस्करणको परिकल्पना गरिएको थियो । मोबाइल एप उपलब्ध भएको अवस्थामा स्मार्टफोन भएका संसारभरका नेपाली भाषीले एप प्रयोग गर्न सक्ने विश्वास गरिएको थियो ।
त्यसपछि एप विकासको काम अगाडि बढेको हो । एप सार्वजनिक भएपछि पनि त्रुटि सङ्कलन गरी नयाँ भर्सनमा त्यसलाई व्यवस्थापन गर्दै आइएको थियो ।
तर, पछि निरौला सहित एप विकासमा महत्त्वपूर्ण भूमिका निभाउने प्रज्ञाका पदाधिकारी परिवर्तन भए । आगामी दिनमा समेत एप वा भौतिक संस्करणमा हुने परिमार्जनमा आफू योगदान दिन तयार भएको उनले सुनाए ।
प्रज्ञाको नयाँ नेतृत्वले एप प्रति खासै चासो नदिएको उनीहरूको तर्क छ । प्रज्ञा-प्रतिष्ठानले ४ असोजमा एक सूचना जारी गर्दै शब्दकोष परिमार्जनका लागि सुझाव पठाउन अनुरोध गरेको थियो ।
विशेषगरी शब्दकोशमा प्रविष्ट कतिपय शब्दार्थका बारेमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिङ्ग, पेसा विशेषबाट मौखिक तथा लिखित रूपमा असन्तुष्टि आएको भन्दै प्रतिष्ठानले परिमार्जनको प्रक्रिया थालेको थियो । यसका लागि पुस २०८१ भित्र सुझाव पठाइ सक्नु पर्ने भनिएको छ ।