काठमाडौं । तपाईंको वेब ब्राउजर आफैँमा एक सानो इकोसिस्टम हो । यसमा पासवर्ड, सर्च हिस्ट्री, क्रेडिट कार्ड नम्बर, एड्रेस लगायतका महत्त्वपूर्ण डेटा हुन्छन् । हानिकारक एपहरूले फोन वा पीसीको डेटा खतरामा पारे जस्तै हानिकारक एक्सटेन्सनले तपाईंको ब्राउजरमा स्टोर भएका सबै डेटा चोर्न सक्छन् ।
ह्याकरहरूले पछिल्लो समय चर्चित एक्सटेन्सनहरूमा हानिकारक कोड राख्न विभिन्न तरिका अपनाएका छन् । एक्सटेन्सन बनाउने डेभलपरलाई नै लक्षित गरी चलेको यस ह्याकिङ अभियानबाट प्रयोगकर्ताका ब्राउजरका कुकी, टोकनलगायत संवेदनशील डेटा चोरी भइरहेको विभिन्न अनुसन्धानले खुलाएका छन् ।
सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार हालसम्म ३३ भन्दा बढी एक्सटेन्सन ह्याकरको नियन्त्रणमा पुगेका छन्, जसबाट २६ लाखभन्दा बढी क्रोम प्रयोगकर्ताको ब्राउजिङ डेटा र अकाउन्ट जोखिममा परेको छ ।
ह्याकरहरूले ब्राउजर प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न विभिन्न विधिमार्फत एक्सटेन्सनलाई आक्रमण गरिरहेका छन् । हालै साइबरसेक्युरिटी कम्पनी साइबरहेभनले एक्सटेन्सन लक्षित ह्याकिङ अभियान चलेको तथ्य बाहिर ल्याएको थियो । उक्त कम्पनीका एक कर्मचारी फिशिङ आक्रमणबाट पीडित भएपछि अध्ययन गर्दै जाँदा ब्राउजर एक्सटेन्सन नै ह्याक भएको पत्ता लागेको थियो ।
ह्याकरले आफ्नो कब्जामा लिएका एक्सटेन्सनरमार्फत प्रयोगकर्ताको ब्राउजिङ डेटा बाहिर निकाल्ने, प्रयोगकर्ता गतिविधि निगरानी गर्ने र टु स्टेप भेरिफिकेसन जस्ता सुरक्षा उपायहरूलाई समेत बाइपास गर्नसक्ने बताइएको छ । त्यस्तै कतिपय ब्राउजर एक्सटेन्सनका डेभलपरले जानीनजानी हानिकारक कोड राख्नाले पनि ब्राउजर प्रयोगकर्ताको डेटा जोखिममा परेको छ ।
ब्राउजर एक्सटेन्सन सेक्युरिटी प्लेटफर्म सेक्योर एनेक्सले ३३ भन्दा बढी एक्सटेन्सन ह्याक भएको पत्ता लगाएको छ, जुन यसप्रकार छन्:
-
AI Assistant - ChatGPT and Gemini for Chrome
-
Bard AI Chat Extension
-
GPT 4 Summary with OpenAI
-
Search Copilot AI Assistant for Chrome
-
TinaMInd AI Assistant
-
Wayin AI
-
VPNCity
-
Internxt VPN
-
Vindoz Flex Video Recorder
-
VidHelper Video Downloader
-
Bookmark Favicon Changer
-
Castorus
-
Uvoice
-
Reader Mode
-
Parrot Talks
-
Primus
-
Tackker - online keylogger tool
-
AI Shop Buddy
-
Sort by Oldest
-
Rewards Search Automator
-
ChatGPT Assistant - Smart Search
-
Keyboard History Recorder
-
Email Hunter
-
Visual Effects for Google Meet
-
Earny - Up to 20% Cash Back
-
Cyberhaven security extension V3
-
GraphQL Network Inspector
-
Vidnoz Flex - Video recorder & Video share
-
YesCaptcha assistant
-
Proxy SwitchyOmega (V3)
-
ChatGPT App
-
Web Mirror
-
Hi AI
यदि तपाईंको ब्राउजरमा पनि यस्ता एक्सटेन्सन छन् भने तुरुन्तै हटाउन सचेत गराइएको छ । गुगल क्रोमबाट एक्सटेन्सन हटाउन यी चरण पालना गर्नुहोस्:
१. क्रोम खोल्नुहोस् र पजलको टुक्रा जस्तो देखिने आइकनमा क्लिक गर्नुहोस् । यो आइकन ब्राउजरको माथिल्लो दायाँ कुनामा छ ।
२. अब सबै सक्रिय एक्सटेन्सनहरू देख्न सक्नुहुन्छ । तपाईंले हटाउन चाहेको एक्सटेन्सनको छेउमा रहेको थ्री डट आइकनमा क्लिक गर्नुहोस् र ‘Remove from Chrome’ मा क्लिक गर्नुहोस् ।
३. यसपछि ‘Remove’ मा क्लिक गर्नुहोस् ।
ह्याकरहरू दिनप्रतिदिन चतुर हुँदैछन् । उनीहरूका लागि ब्राउजर एक्सटेन्सनहरू संवेदनशील डेटा चोर्ने माध्यम बनेका छन् । यसकारण शङ्कास्पद एक्सटेन्सनहरू हटाउनु नै तपाईँका लागि पहिलो कदम हुनेछ । त्यस्तै फिशिङ ईमेल र लिंकबाट सचेत हुनुहोस् । सुरक्षा जानकारले एन्टिभाइरस सफ्टवेयरको प्रयोगमा पनि जोड दिएका छन् । सम्भावित जोखिमबाट बच्न ब्राउजरमा एक्सटेन्सन अनुमति र संख्या सीमित गर्न सकिनेछ भने नियमित रूपमा ब्राउजर अपडेट गर्नु राम्रो मानिन्छ ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८१ २०:९
