काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानमाथि आफ्नै बहिनीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी छिन् । बहिनी आनाले यो घटना १९९७ देखि २००६ को बीचमा भएको भन्दै सामविरुद्ध कानुनी मुद्दा दायर गरेकी हुन् ।
सामले भने यी सबै आरोपलाई झूठो भन्दै खण्डन गरेका छन् । सामाजिक सञ्जाल एक्समा आमा, भाइ र आफूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै उनले बहिनीका दाबीहरू अस्वीकार गरेका हुन् । वक्तव्यमा भनिएको छ, “आनाको मानसिक स्वास्थ्य अस्थिर छ । र उनका झूठा आरोपहरूले हाम्रो परिवारलाई ठूलो चोट पुर्याएको छ ।”
वक्तव्यमा वर्षौंदेखि परिवारले आनालाई आर्थिक, चिकित्सा र रोजगारीका अवसरका लागि सहयोग गर्दै आएको उल्लेख गरिएको छ । तर, यी प्रयासहरूका बाबजुद उनले परिवारलाई झूठा आरोप लगाउँदै आएको परिवारको दाबी छ ।
वक्तव्यमा उल्लेख भएअनुसार आनाले सामको परिवारमाथि विभिन्न समयमा अन्य झूठा आरोपहरू लगाएकी छिन् । तीमध्ये उनका बुबाको सम्पत्तिमा रोक लगाएको, वाई-फाई ह्याक गरेको, विभिन्न वेबसाइटहरूबाट 'स्याडोब्यान्डिङ' गरेको जस्ता आरोप रहेका छन् । “यी सबै आरोप झूठा हुन् । आनाको मानसिक स्वास्थ्य समस्याका कारण यी कुरा अघि आएको हाम्रो विश्वास छ,” वक्तव्यमा भनिएको छ ।
सामका अनुसार यो घटना बहिनीको मानसिक स्वास्थ्य समस्याका कारण बाहिर आएको हो । उनले कानुनी प्रक्रियामार्फत सत्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन् । सामको परिवार अहिले यो विवादका कारण गम्भीर मानसिक र सामाजिक दबाबमा रहेको बताइएको छ ।