काठमाडौं । तपाईंले इन्टरनेट चलाउनुभएको छ भने पक्कै पनि ‘रिक्याप्चा’ (reCAPTCHA) बक्स देख्नुभएको होला । केही वेबसाइटमा पहिलो पटक प्रवेश गर्दा यस्ता बक्स देखा पर्छन् । र, तपाईंले आफू रोबोट नभएको प्रमाणित गर्न उक्त बक्समा चेकमार्क लगाउनु पर्ने हुन्छ । सो बक्समा ‘आई एम नट अ रोबोट’ अर्थात् म रोबोट होइन लेखिएको हुन्छ । र, सबैले बिना कुनै शङ्का उक्त बक्समा क्लिक गर्छन् । यसरी क्लिक गरिसकेपछि वेबसाइटमा पुगिन्छ ।
कहिलेकाहीँ बक्समा क्लिक गर्दा तपाईंलाई विभिन्न पजल मिलाउनु पर्ने बाध्यता आइलाग्छ । यसमा मोटरसाइकल भएका सबै तस्बिरहरूमा क्लिक गर्न वा सडक बत्ती भएका सबै तस्बिरमा क्लिक गर्न भनिन्छ । यस्ता अन्य थुप्रै तस्बिर पनि दिइएको हुन्छ । सही तस्वीर छान्न नसकेको अवस्थामा अर्को पजल मिलाउन भनिन्छ । यी आधारभूत परीक्षणबाट मानिसहरूलाई के विश्वास हुन्छ भने रोबोटले पजल मिलाउन सक्दैन अथवा आई एम नट अ रोबोट भन्ने बक्समा क्लिक गर्न सक्दैन । तर वास्तविकता त्यस्तो हुँदैन ।
अनलाइन रोबोट वा साधारणतया ‘बटहरू’ धेरै अत्याधुनिक भइसकेका छन् । ती बट रनस्केप नामको गेम खेल्नेदेखि सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) चलाउने सक्नेसम्मका हुन्छन् । यसरी उनीहरूलाई व्यक्ति वा कम्पनीले प्रशिक्षित गरेका हुन्छन् । त्यसैले रोबोट वा भनौं बटले स्पष्ट रूपमा बक्समा क्लिक गर्न वा स्टप साइन भएको तस्बिरमा क्लिक गर्न सक्छन् ।
बक्समा क्लिक गर्ने वा सही तस्बिर छानेर परिक्षण गर्नुको अर्थ तपाईं क्लिक गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने परीक्षण गर्न होइन । बरु तपाईंले कसरी क्लिक गर्नुहुन्छ वा तस्बिर कसरी छान्नुहुन्छ भन्ने पत्ता लगाउन हो ।
रिक्याप्चा (reCAPTCHA) प्रणालीले तपाईं मानव हो कि होइन भनेर कसरी पत्ता लगाउँछन् भने तिनीले मेसिनको तुलनामा तपाईं कति ढिलो र अक्षम हुनुहुन्छ भनेर हेर्छन् ।
रिक्याप्चा भनेको के हो ?
रिक्याप्चा गुगलको स्वामित्वमा रहेको एउटा कम्पनी हो । यसले इन्टरनेट चलाउँदा तपाईंको स्क्रिनमा देखा पर्ने सबै साना बक्सहरू सञ्चालन गर्छ । यी बक्समा दायाँतिर गोलाकार घुम्ने तीर भएको लोगो र रिक्याप्चा लेखिएको हुन्छ । यो एक अत्याधुनिक प्रोग्राम हो जुन गुगलले वेबसाइट होस्टलाई उनीहरूको साइटहरूमा अनावश्यक ट्राफिक रोक्न मद्दत गर्नका लागि उपलब्ध गराउने गर्छ ।
रिक्याप्चाले पुरानो क्याप्चा (CAPTCHA) प्रणालीलाई प्रतिस्थापन गरेको छ । तपाईंलाई पुरानो क्याप्चा याद हुन सक्छ, जुन घुमाउरो फन्टमा लेखिएको वा कुनै प्रकारको स्क्रिनले अस्पष्ट पारिएको अक्षर र संख्याको सिरिज हुन्थ्यो । यसले गर्दा तिनीहरूलाई बुझ्न गाह्रो हुन्थ्यो । दुर्भाग्यवश पुरानो प्रणाली कमजोर दृष्टिका मानिसका लागि गाह्रो थियो र सामान्य मानिसका लागि पनि निराशाजनक हुन सक्थ्यो । त्यसबाहेक बोटले अन्ततः पुरानो क्याप्चा प्रणालीलाई क्र्याक गर्न सिकेपछि गुगलले एउटा कम्पनीलाई अधिग्रहण गर्यो जसले उक्त सिस्टमलाई थप विविध र बलियो बनायो । यसको मुख्य उद्देश्य के थियो भने अत्यधुनिक अनलाइन बटको सामना सजिलै गर्न सकियोस् ।
क्याप्चाको पूरा रूप ‘कम्प्लिक्टली अटोमेटेड पब्लिक ट्युरिङ टेस्ट तो टेल कम्युटर एन्ड ह्युमन्स अपार्ट (Completely Automated Public Turing test to tell Computers and Humans Apart) हो । यो अलिक लामो छ तर यी साधारण बक्स केका लागि हुन् भनेर वर्णन गर्नमा यो धेरै स्पष्ट छ । यी स्वचालित सार्वजनिक ट्युरिङ परीक्षण सञ्चालन गर्नका लागि तयार पारिएको सिस्टम हो भन्ने उसको फुलफर्मबाट बुझ्न सकिन्छ ।
ट्युरिङ परीक्षण के हो त ? ट्युरिङ परीक्षण कम्प्युटर वैज्ञानिक एलन ट्युरिङले सन् १९५० मा डिजाइन गरेको एउटा साधारण परीक्षण हो । यस परीक्षणको मुख्य उद्देश्य कोही कम्प्युटर, रोबोट वा मानव हो कि भनेर पत्ता लगाउनु थियो । रोबोट वा गैर-मानव कम्प्युटर संस्था परीक्षणमा असफल हुन्छन् र यसरी आफूलाई मानवभन्दा फरक भएको प्रमाणित गर्छन् । त्यसोभए यी बक्सले कसरी रोबोटलाई मानिसहरूबाट अलग बनाउन भूमिका खेल्छन् ?
रिक्याप्चा पद्धति
माथि उल्लेख गरिए जस्तै यो परीक्षण मानिस वा रोबोटले त्यो सानो बक्स क्लिक गर्न सक्छन् कि सक्दैनन् भन्ने होइन् । यस परीक्षणको मुख्य उद्देश्य तपाईंले कसरी बक्समा क्लिक गर्नुहुन्छ भनेर हेर्नु हो । रोबोट केही निश्चित कुरामा मानिसभन्दा सधैं छिटो र कुशल हुन्छन् । उदाहरणका लागि यदि तपाईंले बटलाई यी बक्समा क्लिक गर्नेगरी प्रोग्रामिङ गर्नुभयो भने बटले बक्स जुम गरी तपाईंले भनेजस्तै गरी सटीक रूपमा बक्समा चेक गर्न सक्छन् । यस प्रक्रियामा बट मानिसभन्दा सयौं गुणा अगाडि हुन्छ । यस परीक्षणबाट माउसको क्रसर बक्समा कति चाँडो पुगेर क्लिक भयो अनि माउसको क्रसर कुन बाटोबाट बक्ससम्म पुग्यो भन्ने पत्ता लाग्छ । यहीबाट बक्समा क्लिक गर्ने रोबोट हो वा मान्छे हो भन्ने पहिचान हुन्छ ।
तपाईंले देख्नु भएकै होला मानिस ढिलो, अक्षम र अनियमित हुन्छन् । एक व्यक्तिले क्याप्चा बक्समा माउसलाई कहिल्यै पनि दुई पटक एउटै तरिकाले लैजान सक्दैन । मानव हात यसका लागि धेरै अनियमित हुन्छ । त्यसैगरी तिनीहरूले सधैं छिटो वा कुशल तरिकाले यो काम गर्न पनि सक्दैनन् ।
क्याप्चा बक्समा चेकमार्क लगाउँदा मानिस रोकिन सक्छ र बक्समा के लेखेको छ भन्ने पढ्न सक्छ । वा, आफूले कुन वेबसाइट पहुँच गर्न खोजिरहेका छन् भनेर हेर्न सक्छन् । बटले कहिल्यै पनि यी कुराहरू गर्दैनन् (यदि तिनीहरूलाई प्रोग्राम गरिएको छ भने पनि, तर त्यतिबेला पनि तिनीहरू सधैं सटीक र कुशल हुन्छन् )।
ल्यापटपमा ट्र्याकप्याड प्रयोग गर्ने मानिसहरूको हकमा यो बढी लागू हुन्छ । ट्र्याकप्याडले सधैं आई एम नट अ रोबोट बक्सतिर अनियमित र घुमाउरो बाटोमा लैजान्छ, जसले लगभग हरेक पटक रिक्याप्चा पार गर्ने ग्यारेन्टी दिन्छ । यदि तपाईंले धेरै छिटो क्लिक गर्नुभयो भने तपाईंलाई इमेज पजल समाधान गर्नुपर्ने वाध्यता आइलाग्न सक्छ । पहिले ब्लर र बाङ्गाटिङ्गा शब्द वा अक्षर छान्नुपर्ने वाध्यतालाई विस्थापित गर्दै नयाँ इमेज पजलको विकास भएको हो ।
क्लाउडफ्लेयरका अनुसार अत्याधुनिक एआईले पनि हाल धमिलो वा अस्तव्यस्त तस्बिरबाट विशेष वस्तुहरू छनोट गर्न संघर्ष गर्छ । मानिसलाई त्यस्तो समस्या हुँदैन । धमिलो साइकल, मोपेड र मोटरसाइकलको तस्बिर छुट्याउनु एउटा यस्तो परीक्षण हो जुन एआईले हाल पास गर्न संघर्ष गरिरहेको छ ।
रिक्याप्चाका अन्य विधिहरू
पछिल्लो समय केही वेबसाइटले अदृश्य क्याप्चा प्रोग्रामहरू प्रयोग गर्न थालेका छन् । जसले तपाईंको कम्प्युटरलाई कुकी, ब्राउजिङ हिस्ट्री, माउसको मार्ग र इन्टरनेट व्यवहार जस्ता पक्षलाई स्क्यान गर्छ र तपाईं बट हो कि होइन भनेर निर्धारण गर्छ । गुगलको रिक्याप्चा इन्टरप्राइज प्रणालीले प्रयोगकर्तालाई सजिलै उपलब्ध जानकारीको आधारमा स्कोर दिन्छ, जसले उनीहरू मानव हुन् वा बट भनेर निर्धारण गर्छ ।
रोबोटको सामाजिक क्रेडिट स्कोरको यो अदृश्य प्रणाली अलिकति घुसपैठकारी र डरलाग्दो लाग्छ । तर गुगलले प्रयोगकर्ताको अनुभवलाई सहज रूपमा चलाउन मद्दत गर्छ भन्छ । धेरै मानिसहरू क्याप्चा बक्स आफ्नो स्क्रिनमा देखा पर्दा रिसाउँछन् वा निराश हुन्छन् । किनभने यसले उनीहरूको नियमित काममा बाधा पुर्याउँछ । अहिलेको यस प्रणालीले वेबसाइटलाई ठूलो मात्रामा बटका गतिविधिबाट जोगाउन र तपाईंलाई यी कठिन परीक्षणहरूबाट गुज्रनु नपर्ने गरी वेबसाइटहरू पहुँच गर्न दिन्छ ।
तपाईंले कहिल्यै बटले ‘आई एम नट अ रोबोट’ बक्समा क्लिक गर्न किन सक्दैन होला भन्ने सोच्नु भएको छ ? त्यसोभए यस्तो सोच्नेमा तपाईं मात्र हुनुहुन्न ।
कम्प्युटर स्क्रिनमा बटले आफूले चाहेको कुरामा क्लिक गर्नबाट रोक्ने केही पनि छैन । मुख्य कुरा तिनीहरूले कसरी क्लिक गर्छन् भन्नेमा छ । बटलाई छिटो र कुशल हुन प्रोग्राम गरिएको हुन्छ र तिनीहरूले सधैं मानिसभन्दा छिटो क्लिक गर्छन् । छिटो चल्छन् र छिटो प्रक्रिया सम्पन्न गर्छन् । त्यसैले यी परीक्षणबाट कति छिटो र सटीक ढङ्गले बक्समा क्लिक हुन्छ भन्ने पहिचान गरिन्छ ।
कम्प्युटर वैज्ञानिकहरू के दाबी गर्छन् भने च्याटजीपीटीको नयाँ भर्सनले ट्युरिङ परीक्षण, यहाँसम्म कि अत्याधुनिक परीक्षण पनि, सहज रूपमा पास गर्न सक्छन् । जसले अनलाइन गतिविधिमा मानव र एआई बीचको रेखालाई थप धमिलो बनाउने भन्ने उनीहरूको विश्वास छ ।
आज विकास भइरहेका थप अत्याधुनिक र मानव जस्ता बटलाई हटाउन सक्ने नयाँ रिक्याप्चा प्रणालीको आवश्यकता पर्न सक्छ ।