काठमाडौं । चितवन भरतपुरस्थित एसडी टेक कम्पनीका सीईओ सौगात देवकोटालाई उनका एक जना नजिकका साथीले ह्वाट्सएपमा मेसेज पठाए । मेसेजमा लेखिएको थियो, “तपाईंकोमा त दिनकै २५ हजार रुपैयाँसम्म तलब आउने काम रहेछ । हामी नजिकका मान्छेलाई यस्तो कामबारे नभन्ने ?”
साथीको यस्तो मेसेज देखेर सौगात रनभुल्लमा परे । झट्ट हेर्दा मजाक गर्ने आशयले उक्त मेसेज नपठाएको प्रष्ट हुन्थ्यो । उनी सोच्न थाले, “साथीले एकाएक किन यस्तो भने होला ?” त्यसपछि उनले साथीलाई मेसेजमा नै जवाफ फर्काए, “के भन्नु भएको ? कहाँ दिनकै २५ हजार आउने काम हुनु यता ?”
जवाफमा साथीले भने, “तपाईंकै कम्पनीको नामबाट मेसेज आइरहेको छ । हेर्नुस् त ।” साथीले पठाएको स्क्रिनशट देख्नासाथ सौगात चकित परे । त्यहाँ कम्पनीको सही विवरण राखेर कामका लागि अफर गरिएको थियो । यति मात्र नभएर विश्वास दिलाउनका लागि कम्पनीकै नाम र नम्बर राखी भिजिटिङ कार्डसमेत बनाइएको थियो ।
तर, उक्त मेसेज पठाउने नम्बर नेपालको नभएर इन्डोनेसियाबाट आएको थियो । सौगातका साथीले उक्त मेसेज कुनै स्क्यामरले ठगी गर्ने आशयले पठाएको हो भन्ने थाहा पाइसकेका थिए । त्यसैले उनले कसरी कम्पनीको नाम दुरुपयोग गरेर सर्वसाधारणलाई ठगी गर्ने रहेछ भन्ने बुझ्न थाले ।
सौगातका अनुसार उनका साथीलाई सबैभन्दा पहिले उक्त नम्बरबाट ह्वाट्सएपमा ‘दिनमा २५ हजार रुपैयाँ’सम्म कमाउन सकिने भन्दै मेसेज पठाइएको थियो । संयोगले उक्त मेसेजमा चिनेकै साथीको कम्पनीको नाम उल्लेख थियो ।
मेसेजमा लेखिएको थियो, “नमस्कार, शुभ प्रभात ?, मेरो नाम माया मिलन हो, म एसडी टेक कम्पनीमा एचआर भर्तीकर्ता हुँ । हाम्रो कम्पनीले नेपालमा नयाँ परियोजनाको लागि अनलाइन काम गर्न पार्ट-टाइम/फुल-टाइम कामदार खोजिरहेको छ, तपाईं घरबाट, समानान्तर र सप्ताहन्तमा काम गर्न सक्नुहुन्छ । तपाईँले सामेल हुन कुनै शुल्क तिर्नु पर्दैन । तपाईंलाई सुरु गर्नको लागि तपाईंको स्मार्टफोन र बलियो नेटवर्क चाहिन्छ । यो नयाँ अद्भुत जागिर अवसरको साथ, तपाईंले दैनिक ज्याला ५६०० एनपीआरदेखि २५००० एनपीआरसम्म कमाउन सक्नुहुन्छ जुन दैनिक आधारमा भुक्तानी गरिनेछ। के म तपाईंलाई जागिरको विवरण पठाउन सक्छु ?”
यस्तो अपत्यारिलो मेसेज देखेपछि सौगातका साथीले भने, “हुन्छ, मलाई थप विवरण पठाउनुस् ।” त्यसपछि उनलाई कम्पनीको प्रोफाइल पठाइयो । त्यसमा उल्लेख भएका प्रायः सबै विवरण सही थिए । शंका गर्ने ठाउँ उक्त विदेशी ह्वाट्सएप नम्बर मात्र थियो ।
सोही मेसेजमा काम कसरी गर्ने भन्ने उल्लेख गरिएको थियो । पहिलो काम स्वरूप ‘भरतपुर महानगर’को युट्युब च्यानल सब्स्क्राइब गरेर स्क्रिनशट पठाउन भनियो । तर, सौगातका साथीले थप विवरण पठाउन भने । त्यसपछि उनलाई ‘जस्मिन नूर’ नाममा तयार पारिएको भिजिटिङ कार्ड पठाइयो । त्यसमा पनि एसडी टेक कम्पनीको लोगो, ईमेल, फोन नम्बर र एड्रेस राखिएको थियो । यति विवरण पाएपछि सौगातका साथीले यो कसैले उक्त कम्पनीको नाम दुरुपयोग गरेर ठगी गरिरहेको छ भन्ने अड्कल गरे र सौगातलाई जानकारी दिए ।
त्यस लगत्तै उनका अर्का साथीले त्यस्तै प्रकृतिको मेसेज पठाए । त्यसमा पनि भरतपुर महानगरपालिकाको युट्युब च्यानल सब्स्क्राइब गर्न लगाइएको थियो । दुई जना साथीहरूबाट कसैले कम्पनीको नाम दुरुपयोग गरिरहेको छ भन्ने सूचना पाएपछि सौगात अलि चनाखो भए । र, कसले यस्तो गरिरहेको छ भन्ने पत्ता लगाउनतर्फ लागे ।
त्यसपछि उनलाई विभिन्न व्यक्तिले फोन गर्दै मैले टास्क पूरा गर्दा पनि पैसा नपठाउने भन्दै धम्की दिन थाले । यतिबेलासम्म पनि यो सबै कसरी भइरहेको छ भन्ने सौगातलाई अत्तोपत्तो थिएन । “कामका लागि आउने कलभन्दा बढी मेरो पैसा खै भनेर धम्की दिंदै कल आउने थाले,” सौगात भन्छन्, “आफ्नो कामको चिन्ता हुनु स्वभाविक हो । तर, यो गर्दै नगरेको कामको दोष दिंदै धम्की दिन थालेपछि असह्य भयो ।”
उनले एक पीडितलाई यस घटनाको बेलिविस्तार लगाउन भने । पीडितका अनुसार उनले त्यसरी नै ह्वाट्सएपमा तीनदेखि पाँच मिनेटमा २५ हजार रुपैयाँसम्म कमाउन सकिने मेसेज पाएका थिए । त्यसमा कुरा गर्दै जाँदा ती व्यक्तिलाई एडडी टेक डिजिटल मार्केटिङ कम्पनी भएकाले त्यही अनुसार भरतपुर महानगरपालिकाको युट्युब च्यानलमा सब्स्क्राइबर बढाउनु पर्ने काम भएको भनियो । ती व्यक्तिले पनि युट्युब च्यानल सब्सक्राइब गर्दै स्क्रिनशट पठाए । त्यसपछि अन्य नेपाली युट्युब च्यानल सब्स्क्राइब गर्न भनियो । त्यसरी तीन ओटा च्यानल सब्स्क्राइब गरिसकेपछि उनलाई इसेवा अकाउन्ट पठाउन भनियो । ती व्यक्तिले इसेवा आईडी पठाइदिए । त्यसको एक मिनेटमै उनको खातामा दुई सय रुपैयाँ आयो । यसरी पहिलो दिनको ‘टास्क’ सकयो । र, उनलाई अर्को दिन नौ बजे मेसेज हेर्न भनियो । भोलिपल्ट पनि त्यसरी नै च्यानल सब्सक्राइब गर्न लगाएर रकम पठाइयो । दोस्रो दिनको टास्क पनि सकियो । त्यसरी नै तेस्रो दिन पनि टास्क पूरा गर्न भनियो । र, दुई सय रुपैयाँ हालियो ।
चौथो दिन भने अब आम्दानी गर्न लगानी गर्नुपर्छ भनियो । पहिले खुरुखुरू रकम पाइरहेका ति व्यक्तिलाई उक्त ह्वाट्सएप अकाउन्टप्रति विश्वास थियो । त्यही अन्तर्गत उनले पहिले पाँच हजार रुपैयाँ जम्मा गरे । त्यसपछि १० हजार, ५० हजार हुँदै एक लाख रुपैयाँसम्म जम्मा गर्न लगाइयो । (यसमा मान्छे किन यतिका रकम सहजै दिन्छ भन्ने बुझ्न र ठगीको शैली थाहा पाउन यहाँ क्लिक गरेर अर्को आर्टिकल पढ्न सक्नुहुन्छ ।) यसरी डेढ लाख बढी पठाइसकेपछि ती व्यक्तिलाई शंका लाग्यो । र, उनले आफ्नो रकम फिर्ता मागे । तर, पहिले सबै टास्क पूरा गरेपछि मात्र रकम पाउने भन्दै उनलाई थप रकम जम्मा गर्न भनियो । लगानी गरेको पैसा नआउने निश्चित भएपछि ती पीडितले उक्त भिजिटिङ कार्डमा भएको नेपाली नम्बर (अर्थात् सौगातको कम्पनीको नम्बर)मा फोन गरी आफ्नो रकम फिर्ता गरिदिन अनुरोध गरे । यसरी दैनिक १० भन्दा बढी कल आउन थालेपछि उनले साइबर ब्युरोमा ईमेलमार्फत उजुरी दिए ।
यो एउटा मात्र घटना होइन । नेपाली प्रविधि कम्पनीको नाम दुरुपयोग गर्दै टास्कका नाममा सर्वसाधारणलाई ठगी गर्ने घटना अत्यधिक बढेको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पछिल्लो समय नेपाली आईटी कम्पनी, बैंक तथा वित्तीय संस्थाहरूले नाम दुरुपयोग भएको भन्दै उजुरी दिन थालेका छन् । “केही दिनअघि मात्रै दराजले अनलाइन ठगीमा आफ्नो नाम दुरुपयोग भएको भन्दै उजुरी दिएको थियो,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक अवस्थीले भने, “बैंक र डिजिटल वालेट कम्पनीको नाम र लोगो पनि त्यसरी नै दुरुपयोग भएको छ ।”
नेपाली आईटी कम्पनीको नाम प्रयोग गर्दा अनलाइन लगानी गर्नका लागि सर्वसाधारणलाई प्रेरित गर्न स्क्यामरलाई सहज हुने गरेको देखिन्छ । खासगरी डिजिटल मार्केटिङ, वेब तथा एप डेभलपर कम्पनीको नाम बढी दुरुपयोग भइरहेको देखिन्छ । यस्ता कम्पनीको काम डिजिटल मार्केटिङ र वेब डिजाइनिङ भएकालाई सर्वसाधारणलाई प्रलोभनमा पार्न स्क्यामरलाई सहज हुने गरेको देखिन्छ । ब्युरोका अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्म यसरी अनलाइनमा लगानी र जागिरका नाममा ठगिएको भन्दै १५८५ उजुरी परेका छन् । यसबाट तीन करोड ८३ लाख रुपैयाँ बढी ठगिएको देखिएको छ ।
अनलाइन लगानी र जागिरका नाममा ठगिएको भन्दै दिनहुँ औसतमा ३० भन्दा बढी उजुरी पर्ने गरेका छन् । अनलाइनमा पहिले पोस्ट लाइक गर्दा वा च्यानल सब्स्क्राइब गर्दा रकम दिइरहेको छ भने त्यस्ता काम नगर्न ब्युरोले सचेत बनाएको छ । त्यस्तै कतै लगानी गर्नु छ भने बुझ्ने व्यक्तिसँग सल्लाह लिएर मात्र लगानी गर्न सुझाव दिइएको छ । स्क्यामरले कम्पनीको नाम दियो र त्यो कम्पनी गुगलमा भेटिएपछि सर्वसाधारण उक्त व्यक्तिलाई विश्वास गर्छन् । तर, स्क्यामरले अर्काको कम्पनीको नाम दुरुपयोग गरेको सर्वसाधारणलाई थाहै हुँदैन ।