विभिन्न ग्रुप, पेज चलाउने साथीहरूलाई सुझाव, चेतावनी, आग्रह, अनुरोध ।
सबैभन्दा पहिले तपाईँको पेज वा ग्रुपलाई तुरुन्त दर्ता गर्नुहोस् । त्यही संस्थाको पेज वा ग्रुप हो भनेर जानकारी राख्नुहोस् । नत्र अर्काले दर्ता गरेर मेरो नामबाट पहिचान सिर्जना गरी ग्रुप खोल्यो भनेर उजुरी दिन्छ । अनि तपाईँले ग्रुप वा पेज त गुमाउनु हुन्छ नै, किनभने विभागमा उजुरी दिएपछि विभागले हटाउनु भन्ने बित्तिकै फेसबुक लगायतले हटाउनै पर्छ ।
त्यस्तै, मुद्दा अदालत धाउँदै बस्न पर्ने पनि हुन सक्छ किनभने यसअगाडि गालीबेइज्जती जस्तो मुद्दा हुन्थ्यो र त्यो दुनियाँवादी मुद्दा हुन्थ्यो। विधेयक पास भए मुद्दा सरकारवादी मुद्दा हुन्छ। उजुरीकर्ताका तर्फबाट सरकारले मुद्दा लडी दिन्छ । मुद्दा हालेर बसिदिए पुग्छ ।
आवेगमा कसैले मुद्दा हाली दियो भने पनि सोही व्यक्तिले मुद्दा फिर्ता लिन नपाउने भएकाले तपाईले दुख पाइरहन सक्नुहुन्छ। सरकार तपाईको पक्षमा पर्यो भने फिर्ता हुन्छ। सरकारको तपाई आलोचक हो भने झन् दुख पाउनु हुनेछ । फेसबुकमा कसैको पोस्टमा लाइक गरेकोमा पनि यही हो कुरा ।
तपाईको पेज वा ग्रुप दर्ता भएको छ भने पनि विधेयकको प्रावधान अनुसार तपाईँको समस्या सकिँदैन । तपाईँले कुनै भ्रष्टाचारको आशङ्का गरेर लेख्नु भयो भने मान प्रतिष्ठामा आँच पुर्याएको (दफा १६ को १ को क), कसैको पोस्टमा गएर आलोचना गर्नु भयो भने होच्याएको (सोही दफा), जवाफदेहीताका लागि निरन्तर एउटै विषयमा आफ्नै प्रोफाइलमा पनि पोस्ट गरी रहनु भयो भने मानमर्दन गरेको, लज्जित गराएको, अपमान गरेको (दफा १९), तपाईँले कसैलाई कुनै विषयमा कमेन्टमा सम्झाउँदा पनि गलत मनसायमा गरेको (दफा १६ को २), प्रसिद्ध साहित्यकार सरु भक्तले छद्मभेष पहिचानमार्फत पोस्ट गरेको (दफा २७) भनि उजुरी पर्न सक्ने र तपाईँलाई दण्ड जरिवाना हुन सक्छ ।
यसमा मानहानीमा आँच पुगेको र मनसाय गलतको परिभाषा कतै पनि छैन । कसैको बारेमा गरिने आलोचनालाई सो व्यक्ति वा संस्था सुधार्न र उसको विकासको नियतले गरिएको भन्न पनि सकिन्छ भने त्यसको विपरीत मानहानी गर्ने गलत मनसायले गरेको हो भन्न पनि सकिन्छ । त्यो यही कारणले हो भन्ने नियत जाँच गर्ने मेसिन कोसँग छ ? कसरी जोखिन्छ ? विगत हेरेर गर्ने हो भने मान्छे बिग्रिने वा सप्रिने समयावधि हुन्न । हुने बिरुवाको चिल्लो पात भनेर मान्छेको भविष्य आँक्नु सही होइन भने कानुन, अपराध र सजायको कुरामा निर्णयकर्ताको व्यक्तिगत धारणाले फरक पर्छ भने त्यो सही कानुन होइन।
यस्ता लफडामा के पर्नु भन्ने लाग्छ भने, सरकारमा जो आउँछ, उसको जयजयकार गरेर बस्नुहोस् । अहिलेलाई एमाले र काँग्रेसको जयजयकार गरे जोगिनु हुन्छ । सत्ता अस्थायी छ । भोलि अर्को आउँछ, आजको पोस्टले भोलि तपाईँको नियतमा शङ्का गरेर कारबाही योग्य हुन सक्छ ।
यदि तपाईँ अदालत धाउन वा जयजयकार गरेर बाँच्न चाहनु हुन्न भने यो विधेयक गलत छ भनेर लेख्नुहोस्, बोल्नुहोस् । ध्यान दिएर पढ्नु भयो भने विधेयकमा खराबी असाध्यै धेरै छन् । यो विधेयकलाई बेवास्ता नगर्नुहोस् ।
(राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य समेत रहेका कार्कीको फेसबुक पोस्टबाट)