close

सामाजिक सञ्जाल विधेयकले शिक्षा, स्वास्थ्य र कला क्षेत्रमा डिपफेकको सकारात्मक प्रयोग पनि निषेध

टेकपाना टेकपाना

माघ १८, २०८१ १३:४९

सामाजिक सञ्जाल विधेयकले शिक्षा, स्वास्थ्य र कला क्षेत्रमा डिपफेकको सकारात्मक प्रयोग पनि निषेध

काठमाडौं । सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकले शिक्षा, स्वस्थ र कला क्षेत्रमा समेत प्रयोग गर्न नपाउने गरी डिपफेकमाथि प्रति लगाउने देखिएको छ । विधेयकको दफा २६ मा डिपफेक भिडिओमाथि सोलोडोलो रूपमा रोक लगाउने जोखिम देखिएको हो । 

उक्त दफामा डिपफेक भिडिओ अपलोड वा प्रसार गर्न नहुने भनिएको छ । “कसैले सामाजिक सञ्जालको प्रयोग गरी डिपफेक भिडिओ अपलोड वा प्रसार गर्नु हुँदैन,” सो दफाको उपदफा (१) मा भनिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी कुनै व्यक्तिको अनुहार, आवाज वा हाउभाउलाई नक्कल वा प्रतिस्थापन गरी गलत सूचना प्रवाह गर्ने, अश्लीलता फैलाउने वा चरित्रहत्या गर्ने कार्यलाई डिपफेक भिडिओको रूपमा व्याख्या गरिएको छ । 

यस विपरीत डिपफेक भिडिओ बनाई सामाजिक सञ्जालमा अपलोड गर्ने वा शेयर गर्नेमाथि दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको  छ । डिपफेक भिडिओलाई समग्रतामा व्याख्या गरेको विधेयकले त्यसको सकारात्मक प्रयोगको परिकल्पना समेत गरेको छैन । 

सकारात्मक र सिर्जनशिल प्रयोगलाई खुला राखेर आम नागरिकलाई भ्रमित पार्न नदिन एआई प्रयोग गरी बनाइएका कृत्रिम फोटो तथा भिडिओलाई स्पष्ट रूपमा लेबल लगाउने गरी नियमन गर्न पनि सकिन्छ । तर सरकारले ल्याएको विधेयकले भने गलत कार्यहरूलाई रोक्ने मात्र नभई प्रविधि उद्योगको विकासमा समेत बाधा सिर्जना गर्ने देखिन्छ । 

डिपफेकको कसरी हुनसक्छ सकारात्मक प्रयोग ?

डिपफेकको गलत प्रयोगले ठुलो नोक्सान पनि पुर्‍याउन सक्छ । गलत सूचना फैलाउने, ब्ल्याकमेल गर्ने, पहिचान चोरी जस्ता अपराधहरूमा यसको दुरुपयोग हुनसक्छ । त्यसैले, यो प्रविधिको नियमन र सचेतना जरुरी छ । 

डिपफेक प्रविधि प्रायः नकारात्मक प्रभावसँग जोडिए पनि यसका केही सकारात्मक उपयोगिता पनि छन् । विभिन्न अनुसन्धानले डिपफेक प्रविधिको उपयोगी पक्षलाई समेत उजागर गरेका छन् ।

मनोरञ्जन र स्मृति:
डिपफेक प्रविधि मनोरञ्जनको क्षेत्रमा उपयोग हुन सक्छ । जस्तै ऐतिहासिक व्यक्तित्व वा प्रियजनहरूको एनिमेटेड चित्र तयार गर्न । ‘डिप नोस्टाल्जिया" एप्लिकेसनले पुराना फोटोहरूमा जीवन्तता थपेर तिनलाई चलायमान बनाउने सुविधा दिन्छ । जसले विगतसँगको आत्मीयता अनुभव गर्न सहयोग पुर्‍याउँछ । सामाजिक सञ्जालमा दिवङ्गत भइसकेका पुराना कलाकार, ऐतिहासिक व्यक्तित्व र आफ्ना प्रियजन तथा आफन्तका यस्ता भिडिओ सायद तपाईँले पनि देख्नु भएको हुन सक्छ ।

त्यस्तै यो प्रविधिको सहयोगमा निधन भइसकेका कलाकर्मीहरूलाई अभिनयमा फर्काउन पनि सकिन्छ र चलचित्रहरूमा विशेष खाले प्रयोग गर्न सकिने सम्भावना रहन्छ । डिपफेक प्रविधि प्रख्यात कलाकृतिहरूको नक्कली संस्करण बनाउन र फिल्मका दृश्यहरू सम्पादनका क्रममा पनि प्रयोग गर्न सकिन्छ । यसले फिल्म निर्माण कम्पनीहरूको समय र लागत बचत गर्न मद्‌दत गर्न सक्छ ।

एआई मोडेललाई प्रशिक्षण दिन:
डिपफेक प्रविधि प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू प्रशिक्षण गर्न सकिन्छ । नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) मा प्रविधि प्रयोग गरेर विश्वसनीय पाठहरू उत्पादन गर्न सकिन्छ भने, डिप लर्निङ र जेनेरेटिभ एड्भर्सरियल नेटवर्क (जीएएन) प्रयोग गरी यथार्थपरक नक्कली तस्विरहरू निर्माण गर्न सकिन्छ, जसले एआई मोडेलहरूलाई प्रभावकारी रूपमा प्रशिक्षित गर्न सघाउ पुर्‍याउन सक्छ ।

शैक्षिक प्रयोजनः
लिखित सामग्रीमा आधारित भएर बनाइने यथार्थपरक जस्तै लाग्ने भिडिओले ऐतिहासिक पात्रमार्फत नै उनीहरूका कथा भन्न लगाउने सुविधा दिन सक्छन् । यसबाट अन्तरक्रियात्मक सिकाई अनुभव समेत प्राप्त गर्न सकिन्छ ।

त्यस्तै उच्चतम रूपमा यथार्थ लाग्ने दृश्यहरू तयार पार्ने कुराले पेसाकर्मीहरूलाई जटिल परिस्थितिमा सहभागी भएर निर्णय लिने अभ्यास गर्न सघाउँछन् । यस्तो प्रयोग स्वास्थ्योपचार, उड्डयन, सैन्य लगायतका क्षेत्रको तालिमका क्रममा हुन सक्छ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०८१ १३:५६