close

नेपालमै बनेको साउन्डिङ रकेट प्रक्षेपण हुँदै, पृथ्वीको कक्षमा स्याटलाइट छोड्ने योजना

टेकपाना टेकपाना

माघ १८, २०८१ २२:१५

नेपालमै बनेको साउन्डिङ रकेट प्रक्षेपण हुँदै, पृथ्वीको कक्षमा स्याटलाइट छोड्ने योजना

काठमाडौं । नेपालको रकेट कम्पनी म्याक २४ अर्बिटल्सले यसै वर्ष (२०२५)को अन्त्यमा सबअर्बिटल साउन्डिङ रकेट प्रक्षेपण गर्ने भएको छ । हाइब्रिड इन्जिन प्रयोग गरिने यस प्रकारको रकेट नेपालमा पहिलो पटक प्रक्षेपण गर्न लागिएको हो ।

माघ १६ र १७ मा भएको नेपाल स्टार्टअप एन्ड एसएमई समिटमा यस रकेट देखाइएको थियो, जसलाई नेपालका विभिन्न राजनीतिक दलका नेता, नेपालका लागि विभिन्न देशका राजदूत तथा विभिन्न क्षेत्र सम्बद्ध व्यक्तिले अवलोकन गरेका थिए ।

गत वर्षदेखि सञ्चालनमा आएको स्टार्टअप कम्पनीले नेपालमै रकेट निर्माण गर्दै आएको म्याक २४ अर्बिटल्सका संस्थापक तथा सीईओ मोहन तामाङले बताए । उनले भने, “यसअघि चिनी घोलेर बनाएको इन्जिन प्रयोग गरिएको थियो । हाल भने मैनबत्तीमा प्रयोग हुने प्याराफिन वैक्स, पोलियुरेथेन लगायतको इन्धन प्रयोग गरेर निर्माण गरिँदैछ ।”

यस रकेट २०२५ को अन्त्यतिर प्रक्षेपण गर्ने योजना रहेको उनले सुनाए । यसका लागि आवश्यक परीक्षणका काम हाल भइरहेका छन् । उक्त रकेटले कम्तीमा १०० किलोमिटर लामो अन्तरिक्ष यात्रा गर्ने योजनाका साथ तयारी भइरहेको उनले बताए ।

साथै, पृथ्वीको कक्षमा ५०० किलोग्रामको स्याटलाइट छाड्ने र सो रकेटलाई आगामी पाँच वर्षमा कम्तीमा ५०० किलोमिटर यात्रा गराउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

हाल म्याक २४ अर्बिटल्समा १५ जनाको टोलीले लक्ष्य पूरा गर्नका लागि काम गरिरहेको छ । कम्पनीको क्षमता विकास लगायतका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सहयोग पुर्‍याएको उनले बताए ।

तामाङले भने, “हामी निजी कम्पनी भएकाले आर्थिक व्यवस्थापन आफैंले गर्नुपर्छ । तर, रकेट निर्माणका लागि ठूलो लगानी आवश्यक पर्छ । त्यसका लागि फन्डिङ पनि खोजिरहेका छौँ ।” सन् २०१९ मा नास्टले एक केजीको स्याटलाइट प्रक्षेपण गरेको तर महँगो भएकाले यसलाई निरन्तरता दिन नसकेको उनले सम्झिए ।

तामाङसहितको टोलीले सन् २०२१ मा नेपालमा पहिलो पटक ‘गरुड’ नामक रकेट प्रक्षेपण गरेका थियाे । त्यसयता उक्त टोलीले १० किलोमिटरभन्दा लामो दूरीमा रकेट प्रक्षेपण गरिसकेको छ । यसका लागि १५ भन्दा बढी साउन्डिङ रकेट प्रक्षेपण गरिसकेको उनले बताए ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८१ ११:१२