close

डिपसिकलाई मुद्दा हाल्ने निर्णयबाट पछि हट्यो ओपनएआई

टेकपाना टेकपाना

माघ २२, २०८१ १४:५

डिपसिकलाई मुद्दा हाल्ने निर्णयबाट पछि हट्यो ओपनएआई

काठमाडौं । अमेरिकी प्रविधि बजारमा चिनियाँ स्टार्टअप डिपसिकको उदयले खैलाबैला मच्चाइरहेको बेला ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले डिपसिकलाई मुद्दा हाल्ने कुनै योजना नरहेको बताएका छन् । आफ्नो एआई मोडेललाई तालिम दिन अनधिकृत रूपमा डिपसिकले डेटा प्रयोग गरेको भन्दै ओपनएआईले मुद्दा हाल्ने तयारी समाचार बाहिर आएको थियो । यसैलाई सम्बोधन गर्दै सीईओ अल्टम्यानलले अहिले मुद्दा हाल्ने नभई प्रतिस्पर्धामा अगाडि बढ्ने योजना भएको बताएका हुन् ।

शक्तिशाली र किफायती च्याटबट विकास गरेर डिपसिकले सिलिकन भ्यालीलाई नै चकित पारेको छ । गत साता ओपनएआईले चिनियाँ कम्पनीहरूले एआईको अत्याधुनिक मोडेल कपी गर्ने प्रयास गरिरहेको चेतावनी दिएको थियो । तर, टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै अल्टम्यानले भने, “अहिले डिपसिकलाई मुद्दा हाल्ने हाम्रो कुनै योजना छैन । हामी उत्कृष्ट उत्पादनहरू निर्माण गर्न र मोडेल क्षमताका साथ विश्वको नेतृत्व गर्न जारी राख्नेछौं । र, मलाई लाग्छ यो राम्रो हुनेछ ।”

अल्टम्यानले डिपसिकलाई ‘प्रभावशाली मोडेल’को रूपमा वर्णन गरे । उनले अगाडि थपे, “हामी निरन्तर रूपमा अगाडि बढ्नेछौं र उत्कृष्ट उत्पादनहरू दिनेछौं । त्यसैले हामी अर्को प्रतिस्पर्धी पाउँदा खुसी छौं ।” ओपनएआईका सीईओले यसअघि पनि धेरै प्रतिस्पर्धीहरू रहेको बताए ।

डिपसिकको क्षमताले अमेरिकी प्रविधि जस्तै च्याटजीपीटीको क्षमतालाई उल्टाएको आरोप लागेको थियो । ओपनएआईले आफ्ना प्रतिस्पर्धीहरूले ‘डिस्टिलेसन’ प्रक्रिया प्रयोग गरिरहेको बताएको थियो । डिस्टिलेसन प्रक्रियामा डेभलपरले ठूला मोडेलबाट साना मोडेललाई तामिम दिएर तयार पार्ने गर्छन् ।

अर्कोतिर, अल्टम्यानको कम्पनीले पनि प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप खेपिरहेको छ । विशेषगरी यसले जेनरेटिभ एआई मोडेलहरूलाई प्रशिक्षण दिन प्रतिलिपि अधिकार भएका सामग्रीहरू प्रयोग गरेको आरोप छ ।

यसअघि पनि अल्टम्यानले ओपनएआईले अझ राम्रो मोडेलहरू दिने बताएका थिए । उनले बजारको मागअनुसार योजना परिवर्तन गर्ने सङ्केत गरे । ओपनएआईले नयाँ च्याटजीपीटी उपकरण ‘डिप रिसर्च’ सार्वजनिक गरेको छ । यसले केही मिनेटमा विस्तृत रिपोर्ट बनाउन सयौं अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने क्षमता राख्ने दाबी गरिएको छ । यो फिचरले मानिसलाई लाग्ने धेरै घण्टाको काम केही मिनेटमै गर्न सक्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८१ १४:५