close

सामाजिक सञ्जाल विधेयकको विरोध स्वरूप सुरु भयो ह्यासट्याग अभियान ‘बोल्न दे सरकार’

टेकपाना टेकपाना

माघ २५, २०८१ १७:२०

सामाजिक सञ्जाल विधेयकको विरोध स्वरूप सुरु भयो ह्यासट्याग अभियान ‘बोल्न दे सरकार’

काठमाडौं । सामाजिक सञ्जाल नियमनका लागि बनेको विधेयकको विरोध स्वरूप ह्यासट्याग अभियान सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #bolnadesarkar (बोल्न दे सरकार), #LetUsSpeak (हामीलाई बोल्न देउ), #ReviseSocialMediaBill (सामाजिक सञ्जाल विधेयक परिवर्तन गर) लगायतका ह्यासट्याग राखेर सामूहिक रूपमा विधेयकको विरोधमा उत्रिन थालेका हुन् । 

फेसबुक, इन्स्ट्राग्राम, टिकटक, एक्स, युट्युब लगायतमा सामाजिक सञ्जाल प्लेटफर्ममा सुरु भएको यो अभियानमा जोडिने प्रयोगकर्ताहरूको सङ्ख्या पनि बढ्दै गएको छ । सरकारले सङ्घीय संसद्‌मा दर्ता गराएको यो विधेयकले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको हक हनन गर्ने भन्दै चिन्ता र चासो व्यक्त गर्न थालिएको हो । 

मङ्गलबार द नेपाली कमेन्ट, इन-डेफ्थ स्टोरी, प्रोजेक्ट कुरा, र्‍यान्डम नेपाली, ह्वाई सो अफेन्डेड, मिसगाइडेड नेपाल लगायतका कन्टेन्ट क्रियटरहरूले एकसाथ भिडिओ सार्वजनिक गर्दै विधेयकको चर्को आलोचना गरेका थिए । सोसँगै उनीहरूले ह्यासट्याग पनि राखेका छन् । 

यस्तै बुधवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूले गाएको बलिदान गीत सार्वजनिक गर्दै विधेयकको साङ्केतिक विरोध जनाएका थिए । उनले सार्वजनिक गरेको गीतमा ‘मलाई बोल्न दे सरकार’, ‘कानुन पो लाग्छ कि आवाज उठाउँदैमा’ लगायतका वाक्य प्रयोग गरिएका छन् । 

बुधवार सार्वजनिक गरिएको उक्त भिडियोमा बालेनले त्यस्तो कुनै ह्यासट्याग त राखेका छैनन् । तर उक्त भिडिओको कमेन्ट तथा शेयर गर्दा अन्य प्रयोगकर्ताले भने विभिन्न ह्यासट्याग प्रयोग गरिरहेका छन् । उनको उक्त भिडियो ‌#bolnadesarkar ह्यासट्याग सहित शेयर भइरहेको छ । हालसम्म उनको भिडियो करिब २२ हजार पटक शेयर भइसकेको छ ।  

उक्त पोस्टको कमेन्टमा पनि प्रयोगकर्ताले ‌#bolnadesarkar लेख्दै विधेयकको विरोध जनाइरहेका छन् । पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले 'सुमना श्रेष्ठ सचिवालय' नामको फेसबुक पेजमा ‌#bolnadesarkar लेख्दै बिहिवारको संसद बैठकमा राखेका भनाई शेयर गरिन् । 

जसमा उनले सामाजिक सञ्जाल विधेयकका कतिपय प्रावधानलाई कन्टेन्ट क्रियटरहरूले अधिनायकवाद र वाक स्वतन्त्रता हनन गर्ने कदमको रूपमा लिएको बताएकी छिन् । 

“विधेयकहरू बनाउँदै गर्दा जसको लागि विधेयक ल्याइएको हो, उहाँहरूसँग छलफल गरिन्छ,” उनले भनेकी छिन्, “युवालाई बोलाउनुस्, युवासँग संवाद गर्नुस्, जनताको आवाज सुन्नुस् ।”

सांसद श्रेष्ठले युवाहरूलाई बोलाएर छलफल गर्न, कन्टेन्ट क्रियसन र सामाजिक सञ्जालमा पहिचान कसरी बनाइन्छ भन्ने बुझ्न सरकारलाई आग्रह गरेकी छिन् ।

टिकटकमा पनि ‌#bolnadesarkar लेख्दै बालेनको भिडियो तथा अन्य सामग्रीहरू शेयर भइरहेका छन् । इन्स्टाग्राम र युट्युबमा पनि कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताले ‌#bolnadesarkar राख्दै सामग्रीहरू शेयर गरिरहेका छन् । 

त्यस्तै, सरकारी कदमप्रति विरोध जनाउन स्पिकअप नेपाल (speakupnepal.org) वेबसाइटमा पनि विभिन्न पोस्टहरू राखिएका छन् । अभियानमा समर्थन जनाउँदै यो समाचार तयार पार्दासम्म २१ सय जना भन्दा बढी प्रयोगकर्ताले सो वेबसाइटमा हस्ताक्षर गरिसकेका छन् । 

सामाजिक सञ्जाल विधेयकमा सामाजिक सञ्जाल प्रयोग गर्दा गर्न नहुने कार्य उल्लेख गर्दै दण्ड र जरिबानाको व्यवस्था समेत गरिएको छ । विधेयकले सामाजिक सञ्जाललाई नियम गर्नुको साटो संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै विरोध भइरहेका हो । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले समेत विधेयकको विरोध प्रति समर्थन जनाए । सामाजिक सञ्जाल विधेयक ल्याएर सरकारले नागरिकका पाइला पिच्छे जेल र जरिबानाको तरबार झुन्ड्याइ दिएको उनको टिप्पणी थियो ।

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ १७:२०