काठमाडौं । सामसङले सन् २०२० मा पहिलो श्वेतपत्र सार्वजनिक गर्दै छैटौं पुस्ताको मोबाइल नेटवर्क अर्थात् सिक्सजी विकासको दिशा निर्धारण गरेको थियो । हालै, कम्पनीले यस विषयमा थप जानकारी दिँदै आफ्नो दृष्टिकोण प्रस्तुत गरेको छ ।
‘एआई-नेटिभ एन्ड सस्टेनेबल कम्युनिकेसन’ शीर्षकको नयाँ सिक्सजी श्वेतपत्रमा सामसङले दूरसञ्चार प्रणालीमा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि एकीकृत गर्ने र भविष्यको प्रयोगकर्ता अनुभवलाई सुधार्न नेटवर्कको गुणस्तरमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।
“हामी एआई-इनेबल कम्युनिकेसन टेक्नोलोजी र दिगो नेटवर्कहरूमा ध्यान केन्द्रित गर्दै हाम्रो सिक्सजी अनुसन्धान प्रयासलाई तीव्र बनाइरहेका छौं,” सामसङ रिसर्चको एडभान्स्ड कम्युनिकेसन रिसर्च सेन्टर (एसीआरसी)का वरिष्ठ उपाध्यक्ष चार्ली झाङले भने, “दूरसञ्चार उद्योगले हाल सिक्सजी मानकीकरणलाई गति दिइरहेको हुनाले सामसङले बजारको मागसँग मिल्ने प्रविधिहरू विकास गर्नेछ ।”
श्वेतपत्रमा सिक्सजीको क्षमता र यसले कनेक्टिभिटीलाई कसरी बढावा दिनेबारे विस्तृत चर्चा गरिएको छ । सिक्सजीको माध्यमबाट पाँच प्रमुख सेवामा लाभ पुर्याउने अपेक्षा गरिएको छ, जसमा इमर्सिभ एक्सआर (मनोरञ्जन, स्वास्थ्य सेवा र विज्ञानको लागि), डिजिटल ट्विन (भौतिक वस्तुहरूको भर्चुअल प्रतिलिपि सुरक्षाका लागि), म्यासिभ कम्युनिकेसन (धेरै सेन्सर र मेसिनहरूबीच निरन्तर कनेक्टिभिटी), युबिक्विटस कनेक्टिभिटी (सेवा क्षेत्रको विस्तार र अन्तरसञ्चालन क्षमता) र फिक्स्ड वायरलेस एक्सेस (वायरलेस कनेक्टिभिटी) समावेश छन् ।
यी सबै सेवा एआई प्रविधिको सहयोगले अझ प्रभावकारी बन्ने बताउँदै कम्पनीले दूरसञ्चार लागत घटाउने, ऊर्जा दक्षता बढाउने र सेवा पहुँच विस्तार गरी भविष्यका प्रयोगकर्ताको अनुभवलाई सुधार्ने विश्वास लिएको छ ।
एआई प्रविधिहरूको विस्तार र स्ट्रिमिङ सेवाहरूको उदयले अहिले मोबाइल डेटा ट्राफिक बढेको छ । बढ्दो डेटा ट्राफिक व्यवस्थापन गर्न तथा नयाँ पुस्ताको मोबाइल सञ्चारमा प्रयोगकर्ताको अनुभव बढाउन प्राविधिक विकासको आवश्यकता देखिएको कम्पनीको भनाइ छ ।
सामसङले सिक्सजी प्रविधिको पूर्ण विकास २०३० मा सम्पन्न हुने अपेक्षा राखेको छ ।