close

अनलाइन स्क्यामबाट जोगाउन भोलि विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदै, के छ नेपालको तयारी ?

टेकपाना टेकपाना

माघ २८, २०८१ १४:४

अनलाइन स्क्यामबाट जोगाउन भोलि विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदै, के छ नेपालको तयारी ?

काठमाडौं । भोलि मङ्गलबारका दिन विश्वका १७० भन्दा बढी मुलुकमा यस वर्षको सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ । नेपालमा भने बालबालिका र युवाहरूका लागि सुरक्षित, सकारात्मक र जिम्मेवार इन्टरनेट प्रवर्धन गर्न चाइल्डसेफनेटले संयोजन गर्दैछ ।

हरेक वर्ष सुरक्षित इन्टरनेट दिवसले अनलाइनसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई उठान गर्छ, जसले डिजिटल दुनियाँमा युवाहरूले भोग्ने अनुभवलाई प्रतिविम्बित गर्छ । युवाहरूको परामर्शमा तयार पारिएको यस वर्षको अभियान अनलाइन ठगी (scams) मा केन्द्रित छ, जसले युवाहरूलाई आफू र अरूलाई कसरी जोगाउने भन्ने ज्ञान प्रदान गर्न, साथै यस सम्बन्धमा उपलब्ध सहयोगी स्रोतहरूबारे सचेत गराउने उद्देश्य राखेको छ ।

यस वर्ष सुरक्षित इन्टरनेट दिवसका अवसरमा अनलाइन ठगीको वास्तविक प्रभाव अध्ययन गरिने र युवाहरूले आफ्नो अनुभव तथा समाधानका उपायहरू शेयर गर्ने प्लेटफर्म प्रदान गरिनेछ । यस अभियानले अनलाइन वित्तीय सेक्सटोर्सन (online financial sextortion) जस्ता जोखिमहरूको बारेमा जनचेतना अभिवृद्धि गर्दै भविष्यमा ठगीका स्वरूपहरू कस्ता हुन सक्छन् भन्ने प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछ ।

जेनेरेटिभ एआई जस्ता नयाँ प्रविधिले ठगहरूको तरिकामा कस्तो प्रभाव पार्न सक्छ ? अनलाइन सुरक्षाका लागि सरकार र इन्टरनेट उद्योगले के भूमिका खेल्न सक्छन् ? युवाहरूले आफ्नो अनलाइन सुरक्षाका लागि कस्ता परिवर्तन चाहन्छन् ? भन्ने प्रश्नहरू यसमा समावेश छन् ।

यस अभियानले सरकार, नीति निर्माताहरू, कानुनी निकाय, दूरसञ्चार नियामक, प्रविधि कम्पनी, इन्टरनेट सेवा प्रदायक, सञ्चार माध्यम र अन्य जिम्मेवार पक्षहरूलाई बालबालिका तथा युवाहरूका लागि सुरक्षित इन्टरनेट सुनिश्चित गर्न आह्वान गरेको छ । साथै, युवा, अभिभावक, शिक्षक, सामाजिक अभियन्ता, निजी क्षेत्र, विद्यालय तथा समुदायलाई सुरक्षित डिजिटल वातावरण निर्माण गर्न योगदान पुर्‍याउन पनि यसले प्रेरित गर्ने गरेको छ । 

चाइल्डसेफनेटका संस्थापक  अध्यक्ष अनिल रघुवंशीले बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा तथा डिपफेक यौन दुरुपयोग जस्ता नयाँ खतराहरूको चपेटामा परिरहेको बताए  । त्यसैले डिजिटल युगमा बालबालिकाको सुरक्षाका लागि सरकार, विद्यालय, अभिभावक तथा प्रविधि कम्पनीहरूले लगानी वृद्धि गर्न जरुरी रहेको उनको भनाई छ ।

 चाइल्डसेफनेट तथा सेक्सुअल भायोलेन्स रिसर्च इनिसियटिभ्स (SVRI) ले नेपालका १० जिल्लाका युवाहरूमा गरेको एक अध्ययनले चारमध्ये एक जना युवाले अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा (online IPV) को सामना गर्ने गरेको देखाएको छ । अनलाइन सुरक्षाको लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, चाइल्डसेफनेटको एक अध्ययन अनुसार, ८५% अभिभावकले आफ्ना बालबालिकासँग अनलाइन सुरक्षाबारे छलफल नै गर्दैनन् । अनलाइन यौन दुर्व्यवहार तथा शोषणबाट कसरी जोगिने भन्ने विषयमा त धेरै कम अभिभावकले मात्र बालबालिकासँग कुरा गर्ने गरेको पाइएको छ ।

जेनेरेटिभ एआई प्रविधिको तीव्र विकासले नयाँ चुनौतीहरू जन्माएको छ । अपराधीहरूले बाल यौन दुरुपयोगसम्बन्धी सामग्री उत्पादन गर्न यो प्रविधि दुरुपयोग गरिरहेका छन् । साथै, जेनेरेटिभ एआईको दुरुपयोगबाट गलत सूचना, भ्रामक सूचना र घृणा फैलाउने सामग्री ठुलो मात्रामा र अत्यन्तै छिटो फैलिन सक्छन् ।

बालबालिका तथा युवाहरूको डिजिटल सुरक्षा सुनिश्चित गर्न, चाइल्डसेफनेटले नेपालका ४० भन्दा बढी जिल्लामा अनलाइन सुरक्षा तालिमहरू सञ्चालन गरिरहेको छ । यस वर्ष संयुक्त राष्ट्र सङ्घका निकायहरू, अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्था, समुदाय-आधारित सङ्गठनहरू, निजी क्षेत्र र सञ्चारमाध्यमहरू लगायत ५० भन्दा बढी सङ्घ संस्थाले नेपालमा सुरक्षित इन्टरनेट दिवस प्रवर्धन गर्न चाइल्डसेफनेटसँग ऐक्यबद्धता जनाएका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ २८, २०८१ १४:३६