close

मोबाइलबाट अलिकति टाढा हुँदा पनि इयरबड्सको ब्याट्री छिट्टै सकिन्छ ?

टेकपाना टेकपाना

फागुन १, २०८१ ११:१२

मोबाइलबाट अलिकति टाढा हुँदा पनि इयरबड्सको ब्याट्री छिट्टै सकिन्छ ?

पछिल्ला वर्षहरूमा तार भएका इयरफोनलाई छाडेर ब्लुटुथ इयरबड्सको प्रयोग गर्ने क्रम बढिरहेको छ । स्मार्टफोन कम्पनीहरूले हेडफोन ज्याक हटाउन थालेपछि वायरलेस अडिओ नै प्रयोगकर्ताका लागि प्रमुख विकल्प बनेको छ । 

अहिले ब्लुटुथ इयरबड्स धेरै अवस्थामा अत्यन्त सहयोगी साबित भएका छन् । जसले गीत सुन्न, कल गर्न, भिडिओ हेर्नलाई तारले पुर्‍याउने झन्झटबाट मुक्त गरेको छ । 

तर वायरलेस डिभाइसमा छिटै ब्याट्री सकिने किसिमका समस्या धेरै प्रयोगकर्ताले भोगिरहेका हुन्छन् । इयरबड्स र कनेक्टेड डिभाइसबीच (मोबाइल)को दुरीका कारण पनि यो समस्या आउने गर्छ । मोबाइल र इयरबड्स एक-आपसबाट टाढा राख्दा यसले वायरलेस इयरबड्सको ब्याट्री लाइफमा कसरी प्रभाव पार्छ र यसको व्यवस्थापन कसरी गर्ने भनेर यहाँ चर्चा गरिएको छ:

ब्लुटुथ कनेक्सनले कसरी काम गर्छ ?

ब्लुटुथले डिभाइसहरूबीच डेटा पठाउन छोटो दुरीको रेडियो तरंग प्रयोग गर्छ । इयरबड्सले स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटरसँग जोडिएर अडिओ स्ट्रिम गर्छ । ब्लुटुथले सामान्यतया १० मिटर (३३ फिट) वरिपरिको दुरीसम्म डिभाइससँग कनेक्ट रहेर प्रभावकारी रूपमा कार्य गर्न सक्छ । 

तर, कनेक्सनको गुणस्तर विभिन्न कुरामा निर्भर हुन्छन् ।  जसमा अन्य डिभाइसबाट हुने अवरोध, भौतिक बाधा वा पर्खालहरू, तपाईँको डिभाइसमा भएको ब्लुटुथ भर्सन आदि पर्छन् । 

दुरीले किन प्रभाव पार्छ ?

जब तपाईँको डिभाइस र इयरबड्बीचको दुरी बढ्न थाल्छ त्यसबेला सिग्नलको क्षमता कमजोर हुन थाल्छ । कनेक्सन कमजोर हुँदा इयरबड्सले डिभाइसमा कनेक्ट भइरहनका लागि बढी मेहनत गर्नुपर्छ । जसका लागि थप पावर चाहिन्छ । 

ब्लुटुथले एडप्टिप ट्रान्समिसन पावरमार्फत काम गर्छ । अर्थात्, डिभाइस नजिक भएमा न्यूनतम ऊर्जामा पनि राम्रो कनेक्सन दिन सक्छ । तर, जब दुरी बढ्छ, इयरबड्सले सिग्नल बलियो बनाउन थप शक्ति प्रयोग गर्छ । यसबाट ब्याट्री छिटो सकिन्छ । 

दैनिक जीवनका केही उदाहरणहरू:

यदि तपाईँ घरमा सरसफाइ गर्दा इयरबड्समा गीत सुन्दै हुनुहुन्छ भने मोबाइलभन्दा टाढा पुग्दा वा कहिले नजिकै आउँदा कनेक्सन कमजोर वा बलियो भइरहन्छ । यस्तो अवस्थामा इयरबड्सले बढी पावर खपत गर्छ । 

यस्तै, अफिसमा अन्य ब्लुटुथ डिभाइस र भौतिक अवरोधहरू हुन सक्छन् । इयरबड्स कनेक्ट भइरहँदा डेस्कमा मोबाइल छाडेर अन्तै जानुभयो भने ब्याट्री झनै चाँडो सकिन्छ ।

दौडिने वा हिँड्ने बेलामा फोन कहाँ राख्नुभएको छ भन्ने कुराले पनि सिग्नल गुणस्तरमा असर पार्छ । बारम्बार कनेक्सन कमजोर हुने वा टुट्ने भएमा मोबाइलमा इयरबड्सले पुन: कनेक्ट गर्न थप पावर प्रयोग गर्छ ।

ब्याट्री लाइफमा असर 

इयरबड्सको मोडल र ब्लुटुथ प्रविधि अनुसार दुरीले ब्याट्री लाइफमा पर्ने प्रभाव फरक पर्छ । ब्लुटुथ ५.० र पछिल्ला भर्सनहरूमा पुराना भर्सनभन्दा बढी ऊर्जा समर्थन क्षमता र लामो दुरीसम्म काम गर्ने क्षमता छ । 

तर, ब्लुटुथ प्रविधिमा भएको प्रगतिले पनि लामो दुरीमा कनेक्सन भइरहन इयरबड्ले थप ऊर्जा खर्च गर्नुपर्ने  समस्यालाई पूर्ण रूपमा हटाउन सकेको छैन । जसले ब्याट्री छिटो सकिन सक्छ।

इयरबड्सको ब्याट्री सकिने अन्य कारण 

उच्च-गुणस्तरको अडिओ स्ट्रिम गर्न बढी डेटा आवश्यक पर्छ । यसले ब्लुटुथ सिग्नललाई कनेक्ट भइरहन थप शक्ति चाहिन्छ । वाई-फाई नेटवर्क, माइक्रोवेभ ओभन र अन्य वायरलेस डिभाइसहरूले ब्लुटुथ सिग्नलमा हस्तक्षेप गर्न सक्छन् । पर्खाल, फर्निचर वा शरीर आफैंले पनि ब्लुटुथ सिग्नललाई रोक्न वा कमजोर बनाउन सक्छ, जसले ब्याट्रीको खपत बढाउँछ ।

ब्याट्री लाइफ सुधार गर्ने उपायहरू

इयरबड्स र कनेक्टेड डिभाइसबीचको दुरी सधैं नियन्त्रण गर्न सकिँदैन । तर, ब्याट्री खपत कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । 

यसका लागि सकेसम्म फोन वा अन्य जडान गरिएको डिभाइसलाई इयरबड्स नजिकै राख्नुहोस् । यस्तो गर्दा सिग्नल मजबुत बनाउन धेरै शक्ति आवश्यक पर्दैन । इयरबड्सका निर्माता कम्पनीहरूले प्रायः नयाँ फर्मवेयर अपडेट गरिहन्छन् । आफ्नो इयरबड्सलाई अपडेट गरेर ब्याट्री प्रदर्शन र कनेक्सनमा सुधार गर्न सक्छ ।

अडिओको गुणस्तर कम गर्दा प्रसारण हुने डेटा कम हुन्छ ।  जसले लामो दुरीमा ब्याट्री बचाउन सक्छ । यसका लागि अडिओ सेटिङ्समा परिवर्तन ल्याउन सक्नुहुन्छ । ब्लुटुथ कनेक्सन स्थिर राख्न अन्य वायरलेस डिभाइसबाट टाढा बस्नु उपयुक्त हुन्छ । 

ब्लुटुथ भर्सनको भूमिका 

नयाँ ब्लुटुथ संस्करणमा यस्ता समस्या समाधान गर्ने प्रयास भएको पाइन्छ । ब्लुटुथ ५.० र त्यसभन्दा पछाडिका संस्करणमा छिटो डेटा ट्रान्सफर, ब्याट्री क्षमता र लामो दुरीसम्म काम गर्न सक्ने क्षमताहरू बढाइएको छ । तर यसका लागि इयरबड्स र जोडिएको डिभाइस दुवैले एउटै संस्करणको ब्लुटुथ सपोर्ट गरेको हुनुपर्छ ।

-गिज्मोचाइनाको सहयोगमा

पछिल्लो अध्यावधिक: फागुन १, २०८१ ११:४७