close

युट्युब गाउँ: जहाँ हजारौंले युट्युबबाटै जीवन चलाउँछन् !

टेकपाना टेकपाना

फागुन ९, २०८१ १५:२६

आफ्ना दैनिक क्रियाकलापबाट विश्राम लिई भिडिओ शुटिङमा संलग्न हुँदै गाउँले (फोटो क्रेडिट: सुहैल भट) आफ्ना दैनिक क्रियाकलापबाट विश्राम लिई भिडिओ शुटिङमा संलग्न हुँदै गाउँले (फोटो क्रेडिट: सुहैल भट)

काठमाडौं । भारतको छत्तीसगढ राज्यको एउटा गाउँ छ, तुलसी । यो गाउँ अरू सामान्य गाउँ जस्तै थियो । तर अहिले यो गाउँको पहिचान भनेको ‘युट्युब गाउँ’ हो । यहाँका अधिकांश मानिस युट्युबमा भिडिओ बनाएर आफ्नो जीवनयापन गरिरहेका छन् । 

कुनै समय सामान्य जीवन बिताइरहेका गाउँलेहरू अहिले युट्युबको कारण चर्चामा छन् । उनीहरूले युट्युबबाटै आफ्नो पहिचान बनाएका छन् । करिब चार हजार मानिस बस्ने यो गाउँमा अहिले एक हजारभन्दा बढी मानिसहरू युट्युबमा सक्रिय छन् ।

गाउँमा प्रविधि र इन्टरनेटबारे छलफल पनि हुने गरेका छन् । गाउँका महिलालाई आफ्नै युट्युब च्यानलबाट पैसा कमाउने अवसर मिलेको छ । गाउँका मानिसहरूका लागि आर्थिक उत्पादनको अवसरसमेत मिलेको छ । 

स्थानीय बासिन्दाका अनुसार युट्युबले ल्याएको पैसाले स्थानीय अर्थतन्त्रलाई परिवर्तन गरेको छ। आर्थिक लाभका अलावा यो सामाजिक सञ्जाल प्लेटफर्म समानता र सामाजिक परिवर्तनको साधन बनेको छ। सफल युट्युब च्यानल खोलेका र आम्दानीका नयाँ स्रोतहरू फेला पारेका बासिन्दाहरूमध्ये धेरै महिला छन्, जोसँग यो ग्रामीण परिवेशमा अघि बढ्ने थोरै अवसर थिए । 

तुलसी गाउँमा युट्युबको क्रेज त्यस समयमा सुरु भयो, जब सन् सन् २०१८ मा जय वर्मा र ज्ञानेन्द्र शुक्लाले ‘बीइङ छत्तीसगढिया’ नामको युट्युब च्यानल सुरु गरे । उनीहरूले युट्युबमा राखेको पहिलो र दोस्रो भिडिओले त खासै भ्युज पाएन । तर, तेस्रो भिडिओ भाइरल भइदियो । उनीहरूले युट्युब च्यानल खोलेको केही महिनामा नै एक लाख २५ हजारभन्दा सब्सक्राइबर बटुलिसकेका थिए । २६ करोडभन्दा बढी भ्युज युट्युबमा आइसकेको थियो । 

जय र ज्ञानेन्द्रको यो सफलता देखेर गाउँका अन्य मानिसहरू पनि युट्युबमा सक्रिय हुन थाले । कोरोना महामारीको समयमा गाउँका मानिसहरू युट्युब र टिकटक जस्ता प्लेटफर्महरूमा कन्टेन्ट बनाइरहेका थिए । तर, भारतमा टिकटक प्रतिबन्धित भएपछि उनीहरूले युट्युबलाई नै आफ्ना कन्टेन्ट राख्न मुख्य प्लेटफर्म बनाएका छन् ।

महिलाहरूको सम्मान र समानताका महत्त्वलाई आफ्नो युट्युब उपस्थितिहरूमार्फत प्रवर्द्धन गर्ने कोसिस गर्दै तुलसी गाउँकी पूर्व सरपंच द्रौपदी वैश्णु (फोटो क्रेडिट) 

सन् २०२३ सम्म आइपुग्दा त तुलसी गाउँमा युट्युबरहरूको सङ्ख्या निकै बढिसकेको थियो । त्यसपछि राज्य सरकारको तर्फबाट नै गाउँमा रहेका युट्युबरहरूका लागि अत्याधुनिक स्टुडियो स्थापना भयो । यो स्टुडियो निर्माण भएपछि अन्य स्थानीयलाई पनि युट्युबमा सक्रिय हुन प्रेरित गर्‍यो । छत्तीसगढका पूर्व कलेक्टर सर्वेश्वर भूरेका अनुसार यो स्टुडियोले गाउँ र सहरबीचको डिजिटल ग्यापलाई कम गर्न मद्दत गर्‍यो ।

तुलसी गाउँका धेरै युवाले युट्युबबाट आफ्नो करिअर बनाएका छन् ।

२७ वर्षीय पिंकी साहूले युट्युबबाट अभिनय यात्रा सुरु गरेर हालसम्म सात चलचित्रमा अभिनय गरिसकेकी छिन् । कृषिमा आधारित दुर्गम गाउँमा हुर्किएकी साहूको अभिनेत्री र नर्तकी बन्ने आकांक्षा टाढाको सपना जस्तो लाग्थ्यो । उनले इन्स्टाग्राम रिल्स र युट्युब सर्ट्समा नृत्य भिडिओ पोस्ट गर्न थालिन् । नभन्दै उनको कामले छत्तीसगढको क्षेत्रीय सिनेमा व्यवसायमा स्थानीय फिल्म निर्माताहरूको ध्यान आकर्षित गर्न सफल भयो ।

युट्युब भिडिओ छायांकन गर्ने तयारीमा युवाहरू (फोटो क्रेडिट: सुहैल भट)

यस्तै, आदित्य भगेलले युट्युब भिडिओमा लेखन र निर्देशन गर्दै फिल्मी उद्योगमा प्रवेश गरेका छन् । उनले पनि अहिले यही प्लेटफर्मबाट आफूलाई पुग्ने पैसा कमाइरहेका छन् ।

युट्युबको कारण यहाँका महिला आत्मनिर्भर बनेका छन् । उनीहरूले आफ्नो च्यानल खोलेर पैसा कमाउन थालेका छन् । साथै, आफूहरूमाथि हुने विभेदको बारेमा पनि युट्युबमार्फत आवाज उठाउन थालेका छन् । वास्तवमा युट्युबले गाउँले जीवनशैली नै परिवर्तन गरिदिएको छ ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: फागुन ९, २०८१ १६:९