काठमाडौं । टेस्लाले अमेरिकामा बिक्री भइसकेका आफ्ना तीन लाख ७६ हजार विद्युतीय गाडी फिर्ता बोलाएको छ । पावर स्टेरिङ असिस्ट फिचरमा समस्या देखिएपछि कम्पनीले शुक्रबार गाडी फिर्ता बोलाएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त फिचरमा समस्या आउँदा गाडी चलाउन गाह्रो हुने र दुर्घटनाको जोखिम बढ्ने थियो । विशेषगरी कम गतिमा चलाउँदा यो समस्या देखिन सक्ने बताइएको थियो ।
कम्पनीले गाडी फिर्ता बोलाएको समाचार समाचार सार्वजनिक भएपछि टेस्लाको शेयर मूल्यमा तीन प्रतिशतले गिरावट आएको छ । नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले टेस्लाका गाडीमा स्टेरिङ फेल भएको भन्ने गुनासो आएपछि एक वर्षभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । कतिपय चालकले स्टेरिङ घुमाउन नसकेको र कतिपयले धेरै बल प्रयोग गर्नुपरेको बताएका थिए । एड्मिनिस्ट्रेसनका अनुसार यो समस्याका कारण५० भन्दा बढी गाडी तानेर लैजानुपरेको थियो ।
सन् २०२३ को अन्त्यतिर रोयटर्सले टेस्लाका कागजात र ग्राहक तथा पूर्व कर्मचारीहरूसँगको अन्तर्वार्तालाई उद्धृत गर्दै सन् २०१६ देखि हजारौं सवारीधनीले सस्पेन्सन वा स्टेरिङको भागमा समस्या आएको बताएको थियो ।
एड्मिनिस्ट्रेसनलाई टेस्लाले सन् २०२३ को मोडल थ्री सेडान र मोडल वाई क्रसओभरमा पुरानो सफ्टवेयरका कारण ओभरभोल्टेजको समस्या आउन सक्ने र त्यसले सर्किट बोर्डमा मोटर ड्राइभ कम्पोनेन्टमा असर गर्न सक्ने बताएको छ ।
टेस्लाका अनुसार गाडी चलिरहेको बेला यो समस्या आएमा स्टेरिङमा असर पर्दैन र एउटा भिजुअल अलर्ट आउँछ । तर, गाडी रोकिनासाथ स्टेरिङ असिस्टले काम गर्न छोड्छ र फेरि चलाउँदा पनि यो निष्क्रिय रहन सक्छ ।
१० जनवरीसम्म टेस्लाले यो समस्यासँग सम्बन्धित तीन हजार बढी वारेन्टी दाबी र ५७० फिल्ड रिपोर्ट पहिचान गरेको छ । तर यस समस्याका कारण कुनै दुर्घटना भएको खबर भने आएको छैन ।
टेस्लाले गाडी फिर्ता गर्ने निर्णय कुनै सरकारी अनुसन्धानको दबाबमा आएर नगरिएको स्पष्ट पारेको छ । एडमिनिस्ट्रेसनले केही टेस्लाका गाडीमा स्टेरिङ ठीकसँग नचल्ने समस्या भएको आरोपमा अनुसन्धान गरिरहेको छ । र, यो अनुसन्धान अझै जारी छ ।
यो समस्या समाधान गर्न टेस्लाले गत अक्टोबरमा आफ्ना गाडीमा सफ्टवेयर अपडेट पठाएको थियो । तर, कम्पनीले यो साता मात्र आधिकारिक रूपमा फिर्ता बोलाएको रिपोर्ट दर्ता गरेको छ । कम्पनीका अनुसार २३ जनवरीसम्म अमेरिका भित्रका प्रभावित गाडीमध्ये ९९ प्रतिशतमा यो सफ्टवेयर अपडेट गरिसकिएको छ ।
टेस्लाले यो वर्ष गाडी फिर्ता मगाएको यो दोस्रो ठूलो घटना हो । यसअघि जनवरीमा टेस्लाले रियर-भ्यू क्यामेरामा समस्या देखिएपछि दुई लाख ३९ हजार गाडी फिर्ता मगाएको थियो । सन् २०२४ मा राम्रो प्रदर्शन गरे पनि टेस्लाको शेयर मूल्य यस वर्ष १० प्रतिशतले घटेको छ ।