काठमाडौं । चलचित्र ‘लाज शरणम्’ पूर्व निर्धारित मितिमै प्रदर्शनमा आउने भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र प्रदर्शनको अनुमति दिएसँगै यस चलचित्र फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।
पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले आफ्नो अनुहारसँग मिल्ने चरित्र बिना अनुमति प्रयोग गरिएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि चलचित्रको प्रचारप्रसार रोकिएको थियो । अदालतले प्रारम्भिक सुनुवाइपछि चलचित्रको टिजर, ट्रेलर तथा अन्य प्रचार सामग्री सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचारप्रसार नगर्न रोक लगाएको थियो । त्यसपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा हेर्न नमिल्ने बनाइएको थियो । साथै चलचित्रको अफिसियल ट्रेलर समेत रोकिएको थियो । अदालतको आदेशले प्रचारप्रसार नै रोकिएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
यसअघि चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेनको स्वरमा ‘नेपाल हाँसेको’ गीत सार्वजनिक भएको थियो । उक्त गीत अपलोड भएको १९ घण्टा नपुग्दै युट्यबको ट्रेन्डिङ नम्बर १ मा परेको थियो ।
सेन्सर बोर्डले चलचित्रलाई प्रदर्शनको अनुमति दिएसँगै प्रचारप्रसार कार्य समेत सुचारु भएको छ ।
कुमार कट्टेलको निर्देशनमा बनाइएको चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ ।
चलचित्रका कार्यकारी निर्माता अर्जुन घिमिरे (पाँडे) रहेका फिल्मका निर्मातामा नवीन श्रेष्ठ रहेका छन् । फिल्मको राम नरेश शाह र सृजना खड्का सहनिर्माता हुन् ।