काठमाडौं । बजेट कम छ, तर फिचरहरू राम्रै चाहिएको छ । चार्ज पनि टिक्ने, ठुलो डिस्प्ले भएको अनि बोक्दा हलुका लाग्ने फोन भेटे नछोड्ने पक्षमा हुनुहुन्छ भने तपाईँका लागि बेन्को भी ९० आई एसई उपयुक्त विकल्प हुनसक्छ ।
नेपाली बजारमा १० हजार ५०० रुपैयाँ मूल्य पर्ने यो फोनमा के के विशेषता छन्, कसका लागि उपयुक्त हुन्छ अनि यसका राम्रा नराम्रा पक्ष केके छन्, यहाँ चर्चा गर्दैछौँ ।
लुक्स हेरेर मात्र यो फोनको मूल्य १० हजार मात्रै पर्छ होला भन्ने अड्कल काट्न गाह्रै हुन्छ । झट्ट हातमा लिँदा यो फोन स्तरीय फोन चलाइरहेको अनुभव हुन्छ । सिल्भर टेक्स्चर अनि गोलो क्यामेरा मोडेलले फोनलाई स्तरीय देखाउन मद्दत गरेको छ । त्यस्तै यसको स्मुथ फिनिसिङले फोनलाई थप आकर्षक बनाएको छ । यो मूल्यमा यत्तिको डिजाइनको फोन पाउनु राम्रै कुरा हो । फोनसँगै पारदर्शी कभरले भित्रको आकर्षक डिजाइन देखाइ राख्न सहयोग पुर्याउँछ । तर, यो कभर लामो समयसम्म भने टिक्ने किसिमको हुँदैन । विस्तारै गाढा पहेँलो हुँदै जाने भएकाले छिट्टै फेर्नुपर्ने अवस्था आउन सक्छ ।
अब यसको डिस्प्लेको कुरा गरौँ । यसमा वाटर ड्रप नच डिस्प्ले पाउन सकिन्छ । अर्थात् सेल्फी क्यामेरा माथिको स्पिकरसँगै जोडिएर आएको हुन्छ । यसको एचडी प्लस डिस्प्लेको आकार ६.९ इन्च रहेको छ । यो भनेको ठुलै डिस्प्ले हो । तर, यसको बेजल्स पनि अलि धेरै नै छ । सामान्यतः यो बजेटमा यत्तिको बेजल्स हुनुलाई नराम्रो भन्न मिल्दैन । कम्पनीले यसमा ९० प्रतिशत स्क्रिन टु बडी रेसियो भएको उल्लेख गरेको छ । सामान्य अर्थमा भन्दा ठुलो स्क्रिन भएकाले भिडिओ हेर्न कुनै समस्या हुँदैन ।
डिस्प्लेको अर्को राम्रो पक्ष भनेको यो १२० हर्ज रिफ्रेशरेटमा आउँछ । यो आईफोनको प्रो मोडेल, सामसङका प्रिमियम फोनहरूमा आउने रिफ्रेश रेट हो । यति सस्तो मूल्यमा कम्पनीले १२० हर्ज रिफ्रेश रेट उपलब्ध गराउनु निकै सकारात्मक पाटो हो । रिफ्रेश रेट धेरै भएकाले फोन ढिलो चलेको अनुभव त्यति हुँदैन । यसको अर्को राम्रो पक्ष भनेको कम्पनीले डिस्प्लेमा ९० दिनको फ्रि स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि दिएको छ ।
बेन्को भी ९० आई एन्ड्रोइड १४ मा आधारित छ । यसमा युनिसक टी सिक्स जिरो सिक्स अक्टाकोर प्रोसेसर राखिएको छ । बजेट अनुसार यो प्रोसेसर ठपकै हो । प्रायः बजेट फोनमा यो प्रोसेसर प्रयोग गरिएको हुन्छ ।
स्तरीय गेम खेल्न वा मल्टी टास्किङ (एकै पटक धेरै एप प्रयोग गर्ने, धेरै काम गर्ने) का लागि भने यो त्यति उपयुक्त छैन । तर, सामान्य कामका लागि भने यसमा कुनै समस्या आउँदैन । क्याण्डी क्रस, सब-वे सर्फर जस्ता सामान्य गेम खेल्दा राम्रै अनुभव हुन्छ । हाम्रो सुझाव चाहिँ पब्जी, फ्रिफायर जस्ता गेम यसमा नखेल्दा नै राम्रो हुन्छ ।
क्यामेराः
अब कुरा गरौँ क्यामेराको । यो फोनमा ८ मेगापिक्सेलको डुअल एआई मेन क्यामेरा पाउनुहुन्छ भने सेल्फीका लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिइएको छ । यसको मूल्यलाई हेर्ने हो भने यसले खिच्ने फोटोलाई त्यति नराम्रो भन्न पनि नमिल्ला । राम्रो प्रकाश हुने ठाउँमा यसले तपाईँका लागि चित्त बुझ्दो फोटो खिच्न सक्छ । सेल्फी फोटो र भिडिओ कलमा पनि यसले निरुत्साहित पार्दैन, अनुहार स्पष्ट देखिने किसिमकै हुन्छ ।
यसबाट खिचेका फोटो सामाजिक सञ्जालमा राख्दा खासै फरक पर्दैन । मूल्य नै हेर्ने हो भने पनि यसले खिच्ने पोट्रेट फोटो पनि राम्रै छ । फोटो जुम गर्दा भने पक्कै पनि पिक्सेल फाटिएको देखिन्छ । तपाईँले यसमा विभिन्न फिल्टर प्रयोग गरेर आकर्षक फोटो खिच्न सक्नुहुन्छ । भिडिओको कुरा गर्दा फोनको अगाडिको क्यामेराबाट ३० एफपीएसमा ७२० पिक्सेल र पछाडिको क्यामेराबाट ३० एफपीएस १०८० पिक्सेलको भिडिओ खिच्न सकिन्छ । क्यामेरामा प्रो, टाइम ल्याप्स, पोट्रेट लगायतका फिचर प्रयोग गरेर अझ स्तरीय फोटो खिच्न सक्नुहुन्छ । समग्रमा क्यामेराको कुरा गर्दा राम्रै छ । त्यसो त तपाईँले पनि सायद यसमा उच्चस्तरीय फोनको जस्तो फोटोको अपेक्षा पनि त गर्नु हुन्न होला ।
ब्याट्रीको कुरा गर्नु पर्दा यो फोन धेरै अघि छ । यसमा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । मूल्यलाई हेर्ने हो भने यो क्षमताको ब्याट्री धेरै राम्रो पक्ष हो । ब्याट्री सामान्य प्रयोगमा डेढ दिन टिक्छ । यदि तपाईँले फोन एकदमै साधारण कामको लागि मात्रै चलाउनु भयो भने त झन् दुई दिनसम्म पनि ब्याट्री टिक्छ । तर फोन फुल चार्ज हुन दुई घण्टाभन्दा बढी समय लाग्छ । किनभने फोनको बक्समा १० वाटको मात्र चार्जर उपलब्ध छ । यदि तपाईँलाई राम्रो छिटो चार्ज गर्ने चार्जर चाहिएको छ भने बढी वाटको चार्जर पनि लिन सक्नुहुन्छ ।
बेन्को भी ९० आईमा इन वन यूआई पाउन सक्नुहुन्छ । यूआई सजिलै चलाउन मिल्ने र युजर फ्रेन्ड्ली (User Friendly) नै छ । फोन केही दिन प्रयोग गर्दा अभ्यस्त भइन्छ । खासगरी सामान्य लेखपढ गर्न सक्ने व्यक्तिका लागि उपयुक्त नै हुन्छ । आवश्यकता अनुसार यसको कलर कस्टमाइज (Customize) गर्न पनि सकिन्छ ।
डिस्प्ले वालपेपरमा कस्टमाइजेसनका केही सीमित विकल्पहरू पनि छन् । साथै डाइनामिक आइल्याण्डको झल्को दिने फिचर तपाईँले यो फोनमा पनि अनुभव गर्न पाउनुहुन्छ । स्टोरेजको कुरा गर्दा फोनमा ३ जीबी र्याम पाउनुहुन्छ भने इन्टर्नल स्टोरेज ६४ जीबी दिइएको छ । तपाईँलाई यति र्याम पर्याप्त लागेन भने आवश्यकता अनुसार थप ५ जीबीसम्मको विस्तार गर्न मिल्छ । त्यसैले यसमा ८ जीबीसम्मको र्याम पाउन सकिन्छ भन्दा फरक नपर्ला । इन्टर्नल स्टोरेज पनि तपाईँले एसडी कार्ड प्रयोग गरेर बढाउन सक्नुहुन्छ । यस बाहेक कनेक्टिभिटीको लागि फोनमा डुअल ब्यान्ड वाईफाई, ड्युअल सिम, फोरजी लगायतका फिचर पाउनु हुनेछ । र सुरक्षाको लागि छेउमा फिङ्गरप्रिन्ट सेन्सर पनि दिइएको छ । त्यस्तै यसमा पिन, फेस अनलक लगायत फिचर पनि छन् ।
यदि तपाईँ १० हजारसम्मको स्मार्टफोन खोज्दै हुनुहुन्छ भने यो एउटा उपयुक्त विकल्प हुन सक्छ । हेर्दा चिटिक्क, ब्याट्री ब्याकअप राम्रो भएको, क्यामेरा र पर्फर्मेन्स पनि ठिकठाक भएको फोन खोज्नु भएको छ भने बेन्को भी ९० आईलाई आफ्नो रोजाइमा राख्न सक्नुहुन्छ । अझ भनौँ, बटनवाला फोन चलाइरहेका व्यक्तिलाई स्मार्टफोन प्रयोग गर्न दिने योजनामा हुनुहुन्छ भने त्यसका लागि त यसलाई उपयुक्त विकल्प माने पनि हुन्छ । खासगरी हजुरबा - हजुरआमा पुस्ताका प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुन्छ ।