close

डिजिटल साक्षरताको अभावले समुदायमा भित्रभित्रै जेलिँदै अनलाइन ठगीको जालो

अच्यूत सुवेदी अच्यूत सुवेदी

फागुन २६, २०८१ १२:४९

डिजिटल साक्षरताको अभावले समुदायमा भित्रभित्रै जेलिँदै अनलाइन ठगीको जालो

घटना नं १ः 

बर्दियाको बारबर्दिया नगरपालिकाको वडा ३ को एउटा समुदायमा त्यहाँका केही मानिसहरूलाई ह्वाट्सएपमा मेसेज आउँछ । जसमा लक्की ड्र परेको र ३० लाख जितेको भन्ने सन्देश हुन्छ । 

सँगै फोन पनि आउँछ र त्यसमा कोही व्यक्तिले मानिसहरूको नाम नै लिएर “लक्की ड्रबाट ३० लाख जितेको र उक्त रकम पठाउन लागिएको हुँदा उक्त पैसा ट्रान्सफर गर्नका लागि कर तिर्नु पर्ने भएर १ लाख रुपैयाँ विजेताले दिनु पर्छ” भनेर  भनिएको हुन्छ । 

यसै सिलसिलामा उक्त समुदाय की एक जना महिला रमिला वैद्यले (नाम परिवर्तन) उक्त फोनबाट भनिए अनुसार मेसेजमा आएको खाता नम्बरमा गाउँकै बचत समूहबाट १ लाख रुपैयाँ ऋण लिएर पैसा पठाउँछिन् ।  

तर जितेको भनिएको पैसा आउँदैन । रमिलाले जस्तै त्यहाँका अन्य ३ जनाले ३० हजार पठाइ सकेका थिए । रमिलाले जितेको भनिएको पैसा नपाएपछि भने बल्ल 'यो त ठगी रहेछ'भनेर अरू ३ जनाले थप पैसा पठाउँदैनन् ।  

घटना नं २ः 

कैलालीको एक गाउँपालिकाका कर्मचारीलाई पनि यसै गरी लक्की ड्रमार्फत पैसा जितेको मेसेज आउँछ । घटना केही समय अघिकै हो । ती कर्मचारीले साथीहरूलाई देखाउँछन् । 

"यस्तो मेसेज आएको छ, कतै मैले ५० लाख पाउने त हैन," भन्ने उनलाई लाग्छ । साथीहरूले पनि केके जानकारी माग्छ देउ बरु केही सहयोग चाहिए हामी पनि गरौँला अनि पैसा बाँडौँला भनि दिन्छन् । त्यसो त खातामा पैसा कत्ति पनि थिएन । 

ती कर्मचारीको तलब पनि निकासा भएको थिएन । यस्तो अवस्थामा त्यति धेरै पैसा पाउने भएपछि ह्वाट्सएपको व्यक्तिलाई तलब निकासा हुने बैँक खाताको विवरण उपलब्ध गराउँछन् । फेरि ह्वाट्सएपको व्यक्तिले “हामीले एउटा कोड पठाएका छौँ, त्यो नम्बर पठाउनुस् अनि 

हजुर भेरिफाइड भए पश्चात् पैसा आउँछ” भनेर ती कर्मचारीसँग ओटीपी कोड माग्छन् । उनले पनि भने अनुसार नै गर्छन् । हप्तौँ बित्छ, तर पैसा आउँदैन । कोभिडको बेला भएकाले उनी क्वारेन्टिनबाट पनि निस्कन्छन् । यता पालीकाले तलब निकासा गरि दिन्छ । तलब निकासा गरेको दिन उनी पैसा निकाल्न बैँक पुग्छन् । त उनको खाता रित्तिसकेको हुन्छ । खातामा कत्ति पनि पैसा हुँदैन । 

लेखा शाखालाई भन्छन् “मेरो तलब किन नहाली दिएको ?” तर तलब निकासा भैसकेको जानकारी पाएपछि उनलाई 

लोभमा परेर आफूले सबै विवरण उपलब्ध गराएको कुरा झल्यास्स याद आउँछ ।प्रहरीमा पनि पुग्छन तर केही उपाय लाग्दैन ।  

घटना नंबर ३ः 

कञ्चनपुरको लालझाडी गाउँपालिकाको एक गाउँमा मोहन रानालाइ (नाम परिवर्तन) फेसबुक बाट कसैले मेसेज गर्छ । जसमा आईफोन प्याक गरेको भिडिओ सहित भनिएको हुन्छ, “यो तपाईँले जित्नु भएको छ, हामीले नेपाल पठाउँन लागेका छौँ । कृपया यो ह्वाट्सएप नम्बरमा मेसेज गर्नु होला ।” 

उनले पूरा भिडिओ हेर्छन् ।  अनि उक्त मानिसले आफ्नो सबै विवरण सहित बोलेको देखेपछि उनी पनि लालायित हुन्छन् । अनि ह्वाट्सएपमा कुराकानी सुरु गर्छन् । 

कुरा गर्दै जाँदा आईफोन सहित केही रकम पनि उनलाई पठाइएको हुँदा उक्त रकम एयरपोर्टबाट बाहिर ल्याउन ट्याक्स तिर्नु पर्ने हुँदा ३० हजार पठाउन लगाइन्छ । यत्रो लाख लाखको फोन अनि अझ पैसा पनि भनेपछि उनले एक जना साथीसँग सापटी गरेर पैसा पठाइ दिन्छन् । 

फेरि अर्को दिन पनि उसैगरी भिडीओ आउँछ र त्यहाँ भनिएको हुन्छ, “हामीले यसरी ल्याउन लागेको प्रहरीले मानिरहेको छैन ट्याक्स रकम पुगेन भन्दैछन्, त्यसैले अरू ५० हजार जति पठाउनु पर्‍यो ।” 

अब भने उनलाई आपत पर्छ । सापटी गरेर ३० हजार पठाइसकेका हुन्छन् । अर्को ५० हजार कहाँबाट जुटाउने ? फेरि उनले उनै साथीलाई भन्छन् “मलाइ त अरू ५० हजार चाहिन्छ भन्छ, छिट्टै नपठाए उपहार फिर्ता जन्छ रे ! के गरौँ ?” 

अब यो सब ठगी हो भन्ने कुरा उनका साथीले पहिल्याउँछन् र एयरपोर्टमा आफ्नो मान्छे भएको र त्यहाँ उनै मान्छे सँग भेटेर उपहार दिन ह्वाट्सएपको व्यक्तिलाई भन्छन् । तर उता बाट जवाफ आउँछ “यो अनलाइन बाट मात्रै हुन्छ, हामी तपाईँ भएकै ठाउँमा सामान पठाइ दिन्छौँ ।” यति भनेपछि रानाले थप  पैसा पठाउँदैनन् । र उक्त नम्बर ब्लक गरी दिन्छन् । 

यी माथिका केही प्रतिनिधिमूलक घटना हुन्, जुन अनलाइन ठगीको एउटा हाँगा मात्र हो । र यी गाउँघरमा मानिसहरू ठगिएका सत्य घटना हुन् । विभिन्न प्रलोभनमा परेर मानिसहरू ठगिई रहेका छन् । यसरी लाखौँ पाउने भएपछि सर्वसाधारण मानिसहरूले आफ्नो बैँक विवरण उपलब्ध गराउँदा वित्तीय जोखिममा पर्ने गरेका छन् ।   

रुमसनले स्थानीय पालिका र रेडक्रससँगको समन्वयमा बर्दिया, कैलाली र कञ्चनपुरका विभिन्न ३० ओटा समुदायमा डिजिटल फाइनान्स लिट्रेसी सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा डिजिटल सेवाबाट हामीले गर्ने  कारोबारको महत्त्व र सम्भावीत चुनौतीहरूका विषयमा मुख्य गरि सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो ।   

प्रविधिको विकाससँगै जति सहजता दैनिक जीवनमा मिलेको छ, त्यति नै जोखिम पनि बढ्दो छ । गाउँ घरमा मानिसहरू यही  प्रविधिको सिकार भएका घटना धेरै नै छन् । अनलाइन फ्रड तथा ठगीमा परेर मानिसहरूले लाखौँ लाख गुमाएका घटना यस कार्यक्रम दौरान सहभागीहरूले बताएका थिए । 

हामीले प्रविधिकाे सवल पक्षलाई जति मुख्यताका साथ राख्छौँ त्यति नै यसबाट हुने जोखिमलाई ध्यानमा राखेर समुदायमा अभिमुखीकरणको आवश्यकता देखिएको छ । आफूमाथि भएका घटनाहरू अरूसँग न बाँड्ने र कतै मजाकको पात्र बन्छु कि भनेर यस्ता ठगीका विषय समुदायमा नबोलिने हुँदा पनि अझ समस्या विकराल अवस्थामा रहेको छ ।   

रुमसनले आयोजना गरेको यो कार्यक्रम ३० वटै समुदायका लागी पहिलो थियो । सहभागीहरू बीच के कसरी ठगीका घटनाहरू बढिरहेका छन् भन्ने विषयमा छलफल चलाउँदै जाँदा, उनीहरू स्वयँले आफूलाई र आफ्ना नजिककालाई भएका धेरै घटनाहरू सुनाएका थिए । 

जस मध्ये प्रलोभनमा परी ठगिएको विषय, फेसबुक अकाउन्ट ह्याक गरेर पैसा ठगिएका विषय, आफ्ना व्यक्तिगत विवरण सुरक्षीत नगर्दा ऋणमा परेका विषय, उपहारका नाममा पैसा ठगिएका विषय लगायत गाउँघरमा विभिन्न संस्थाको छद्‍म भेषमा आई ठगी गर्ने कार्य भएकाे समेत सहभागीहरूले बताएका थिए । 

कार्यक्रममा ठगी गर्नेहरूले ठग्न सक्ने विभिन्न तरिकाका विषयमा छलफल चलाउँदै गर्दा सहभागीहरू बडो चासो दिएर सुन्ने गर्दथे । सहभागीको चासो र जिज्ञासालाई हेर्दा समुदायमा मानिसहरूलाई यस विषयमा सचेत पार्नु ममत्वपूर्ण रहेछ भन्ने प्रस्ट हुन्छ । 

अझ कार्यक्रम पश्चात् नयाँ कुरा थाहा पाएकोमा हँसिला मुहार गर्दै सहभागीले दिएको प्रतिक्रियाले यस्ता विषयमा स्थानीय सरकार र अन्य सरोकारवाला निकायले थप कार्य गर्नु पर्ने देखिन्छ ।  

गाउँघरमा एउटा चलन नै रहेछ कि कार्यक्रममा सहभागी भएका अधिकांश सबै समुदायका मानिसहरूले आफ्नो फोन बिग्रिएपछि कवाडी अर्थात् पुराना सामान साट्ने व्यक्तीहरूलाई ५०/ ६० रुपैयाँ पर्ने कचौरा तथा गिलाससँग साट्ने रहेछन् । 

अझ मोबाइल फोन एन्ड्रोइड नै हुनु पर्ने रे । यसरी मानिसहरूले चल्दा चल्दैको मोबाइल बिग्रेपछि बनाउँदा पनि नबने पछि अरू सरसामानसँग साट्ने रहेछन् । फोन व्यक्तिगत हुन्छ । 

त्यहाँ आफ्ना व्यक्तिगत विवरण जस्तो फोटो तथा गोप्य तस्विर र भिडिओ, अन्य महत्त्वपुरण जानकारी तथा कागजपत्रहरू हुन्छन् । तर मानिसहरूमा यत्तिकै सामानसँग फोन साट्दा मोबाइलमा भएका डेटाहरू लिक भइ भोलि समस्या झेल्नु पर्ने विषयमा सामान्य जानकारी समेत नरहेकाे पाइयो । 

यस विषयको उठान गर्दा बल्ल मानिसहरू “अहो /हत्तेरीका” भनेर पछुताउन थाल्छन् र अबदेखि यस्तो कार्य नगर्ने कुरामा सचेत हुन्छन् । भनिन्छ नि “सानो कुरा नै पछि गएर विशाल बन्छ”। पक्कै पनि समुदायमा मानिसहरू ससाना विषयमा ख्याल नपुर्‍याउँदा ठुलो जोखिममा पर्ने गरेका छन् । 

हामीले यस्ता ससाना विषयलाई उठान गरी कार्यक्रममा सहभागीहरूलाई ठगी बाट बच्ने उपायका बारेमा जानकारी गराएका थियौँ ।   

जानकी गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैशी भन्छन्,"रुमसनसँगको सहकार्यमा जानकी गाउँपालिका अन्तर्गत विभिन्न समुदायमा हामीले डिजिटल ठगीका विषयमा कार्यक्रम सञ्चालन गर्दै गर्दा मानिसहरूलाई यस विषयमा सचेत पार्न सफल भएका छौँ ।

यसखाले कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले पालिकाले पनि आगामी दिनमा रुमसनसँग सहकार्य गरी अनलाइन फ्रडको विषमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना गरेको छ ।” 

यस्तै कार्यक्रम सञ्चालन भएको टीकापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति निर्मला चौधरीले भनिन्, “हामीले अहिलेसम्म थाहा नपाएको विषय उठान भएको छ । रुमसनसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट समुदायमा मानिसहरू कुन हद सम्म ठगीको सिकार भैरहेका छन् भन्ने कुरा पालिकालाई पनि जानकारी भएको छ । यो कार्यक्रम अत्यन्त महत्वका साथ लिएका छौँ  ।"  

यसरी स्थानीय सरकारले पनि यस विषयलाई अझ महत्वका साथ राखि नियमीत समुदाय केन्द्रीत कार्यक्रममा जोड्दै लानु पर्ने देखिन्छ ।  

 (सुवेदी रुमसन एसोसीएट्सका कम्युनिटी म्यानेजर हुन् ।) 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८१ १२:५०