काठमाडौं । शुक्रबारदेखि सामाजिक सञ्जाल टिकटकमा नेपाली सेना प्रमुखले स्पष्टीकरण दिएको भन्दै एउटा भिडिओ भाइरल भएको छ । भिडिओको माथि लेखिएको छ, “गृहमन्त्रीले सेनाको सहयोग माग्दाः- सेना प्रमुखको स्पष्टीकरणः- हामी देशको सेना हौँ, कुनै सरकारको सेना होइनौँ, जनताले जे फैसला गर्छ त्यो सेनाले मान्छौँ ।” तर, टेकपाना फ्याक्टचेकले यो भनाइ भ्रामक रहेको देखाएको छ ।
दाबी
डीप इमोसन नामक टिकटक अकाउन्टबाट १२ मार्च २०२५ मा ‘हाम्रो सेना तयारी छन् राजालाई सहयोग गर्न’ भन्दै एक भिडिओ अपलोड भएको थियो । सो भिडिओमा प्रधान सेनापति अशोकराज सिग्देलको फोटो राखिएको छ ।
त्यसभन्दा माथि क्याप्सनमा लेखिएको छ, “गृहमन्त्रीले सेनाको सहयोग माग्दाः- सेना प्रमुखको स्पोष्टीकरणः- हामी देशको सेना हौं, कुनै सरकारको सेना होइनौं, जनताले जे फैसला गर्छ त्यो सेनाले मान्छ ।” त्यसको तलपट्टि ‘बधाई छ हाम्रो सेनालाई, सलाम छ सेनालाई, Big request for Nepal Army ।” लेखिएको छ ।
उक्त भिडिओमा १८ लाख बढी भ्युज एक लाख ९४ हजार बढी लाइक र पाँच हजार बढी कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
त्यस्तै ११ मार्चमा न्यु जेनेरेसन जर्नलिजम नामको टिकटक आईडीले पनि यही आशयको पोस्ट राखेको छ । उक्त पोस्टमा भनिएको छ, “
जनकातको पक्षमा नेपाली सेना ।” अगाडि लेखिएको छ, “आन्दोलन नियन्त्रणका लागि गृह मन्त्रालयले नेपाली सेनालाई पत्र लेखि परिचानको अनुरोध गरेको थियो । जवाफमा नेपाली सेनाले स्पष्ट गर्दै भनेको छ, “हामी राष्ट्रको सेना हौं । सरकारको होइनौं । भोलि जनताले गर्ने निर्णय हामी स्वीकार्न तयार छौं ।”
उक्त भिडिओमा हालसम्म ३१ हजार बढी लाइक, साढे दुई सय बढी कमेन्ट र एक हजार बढी शेयर आएका छन् । हेर्नुहोस् ओर्जिनल भिडिओ र आर्काइभ भिडिओ ।”
शुक्रबारदेखि एकाएक नेपाली सेना राजाको पक्षमा भएको आशय सहितका सयौं भिडिओ टिकटकमा भाइरल भइरहेका छन् ।
तथ्यजाँच
हामीले माथि उल्लेख गरेका दुबै भिडिओको मिति नियाल्यौं । ती भिडिओ ११ र १२ मार्चमा अपलोड भएका छन् । यसअघि २५ फागुन अर्थात् ७ मार्चमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादीले शाहलाई भव्य स्वागत गरेका थिए । त्यसबेला पनि थुप्रै फेसबुक पेज, एक्स ह्यान्डल र टिकटक अकाउन्टले नेपाली सेनाका प्रमुखले राजालाई समर्थन गरेको भन्दै पोस्ट गरेका थिए । त्यही लहरमै डीप इमोसन र न्यु जेनेरेसन जर्नलिजम नामका टिकटक आईडीले सेनापतिको फोटो र भनाइ राखेको देखिन्छ ।
डीप इमोसन नामक टिकटक आईडी हेर्ने हो भने त्यहाँ प्रायः सबै राजाले समर्थन गरिएका पोस्ट छन् । त्यसमा पनि अधिकांश पोस्टमा सेनापतिलाई जोडेर भ्रम फैलाइएको छ । सेनापतिको भनाइ भन्दै भ्रम फैलाएपछि नेपाली सेनाले १९ मार्च २०२५ मा विज्ञप्ति जारी गरेको थियो ।
उक्त विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ । विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “तसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।”
शुक्रबार (२८ मार्च २०२५) राजावादी आन्दोलन पुनः चर्किएपछि त्यही पुराना भिडिओ भाइरल भइरहेका छन् । हामीले यस विषयमा नेपाली सेनालाई सम्पर्क गर्यौं । तर, नेपाली सेनाले आफूहरूको निर्णय सबै औपचारिक रूपमा विज्ञप्तिमार्फत आउने भन्दै सामाजिक सञ्जालमा देखिएको भ्रामक भिडिओमा विश्वास नगर्न अनुरोध गर्यो ।
सो विज्ञप्तिपछि नेपाली सेनाले आन्दोलनका विषयमा वेबसाइटमा कुनै पनि सूचना राखेको छैन ।
शुक्रबार राजावादी आन्दोलन चर्किएपछि टिकटक एल्गोरिदमका कारण यी पुराना भिडिओ पुराना प्रयोगकर्ताको फिडमा देखिरहेको पत्ता लागेको छ ।
दाबी
नेपाली सेनाका प्रधान सेनापति गृह मन्त्रालयको अनुरोध अस्वीकार गर्दै राजावादीलाई समर्थन गर्ने निर्णय गर्यो ।
नेपाली सेनाले अहिलेसम्म कुनै पनि पक्षको समर्थन वा विरोध गरेको छैन । सेना परिचालन गर्ने गृह मन्त्रालयको अनुरोध नेपाली सेनाले अस्वीकार गरेको भन्ने जानकारी भ्रामक हो । यसअघि नै भ्रामक पुष्टि भएको भिडिओ अहिले भाइरल भइरहेको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।