close

शिक्षक, विद्यार्थी, लेखक र अनुसन्धानकर्ताका लागि उपयोगी गुगलको एआई टुल नोटबुक एलएमका ५ टिप्स

टेकपाना टेकपाना

चैत १९, २०८१ १७:३५

शिक्षक, विद्यार्थी, लेखक र अनुसन्धानकर्ताका लागि उपयोगी गुगलको एआई टुल नोटबुक एलएमका ५ टिप्स

काठमाडौं । नोटबुक एलएम एआईमा आधारित एक शक्तिशाली टुल हो । यो टुल विशेषगरी धेरै प्रोजेक्ट, कागजात, फाइल र सूचनामा काम गर्ने व्यक्तिहरूका लागि उपयोगी छ । यसले ज्ञान व्यवस्थापन, सूचना प्रशोधन तथा कामहरू छिटो सम्पन्न गर्ने प्रक्रियामा आमूल परिवर्तन ल्याएको छ । आज हामी तपाईँलाई यही टुलको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा बताउँदै छौँ:

नोटबुक एलएम के हो ?

सुरुमा नोटबुक एलएम के हो भन्ने बारेमा थोरै चर्चा गरौँ। अहिलेको समयमा इन्टरनेटमा एआई टुलहरूको अभाव छैन । यद्यपि यस्ता धेरै जसो एआई टुलहरू केही प्रोम्ट लिएर त्यस आधारमा जवाफ दिने तथा सारांश उपलब्ध गराउने कुरामा केन्द्रित छन् ।

तर नोटबुक एलएम भने केही भिन्न अवधारणासहित आएको छ । यसले एआई कोल्याबरेटर अर्थात् सहकर्मीको रूपमा अनुसन्धान, लेखन र सूचना तथा जानकारी संश्लेषण जस्ता कामहरूमा सघाउँछ ।

ठुला र जटिल किसिमका डकुमेन्टहरूबाट महत्त्वपूर्ण विवरण निकाल्ने प्रक्रियालाई सहज बनाउनु नै यसको मुख्य उपयोगिता हो । तपाईँले सहजै नयाँ नोटबुक बनाएर सम्बन्धित डकुमेन्ट तथा कागजात, अडिओ तथा भिडिओ, वेब यूआरएल तथा लिखित टेक्स्ट (पाठ) अपलोड गरेर जेमिनाईको शक्तिमा आधारित एआईको सहयोगमा सारांश, त्यसको आउटलाइन तथा अन्य सामग्री निकाल्न सक्नु हुन्छ ।

अर्थात् तपाईँ यसको सहयोगमा थप सहजताका साथ सूचनाको व्यवस्थापन र विश्लेषण गर्न सक्नुहुन्छ । अनुसन्धानकर्ता, लेखक, विद्यार्थी र पेसाकर्मीहरूले ठुलो मात्रामा रहेका लिखित सामग्रीलाई प्रशोधन गर्न र क्षणभरमै आफ्नो कामको गति बढाउन यसको सहायता लिन सक्छन् ।

यस्ता छन् ५ टिप्सः

१. विभिन्न स्रोतहरूबाट सूचना तथा जानकारी लिएर सारांश तयार पार्ने

नोटबुक एलएमको यो सबैभन्दा महत्त्वपूर्ण यूएसपी अर्थात् यसको मौलिक आकर्षणको पक्ष हो । मानौँ तपाईँ कुनै विषयमा सिक्न चाहनु हुन्छ भने सुरुमा नोटबुक एलएममा गएर नयाँ नोटबुक क्रियट गर्नु पर्ने हुन्छ ।

अब त्यसमा सम्बन्धित वेबसाइटका लेख तथा सामग्री, ब्लग, युजर म्यानुअल, युट्युब ट्युटोरियल, पीडीएफ फाइल, स्प्रेडशिट, प्रोजेक्ट प्लान, गुगल डक्स लगायतका स्रोतहरू राख्न सक्नु हुन्छ । यति गरिसकेपछि नोटबुक एलएमको एआईले प्रत्येक स्रोतमा रहेका सामग्री विश्लेषण गर्छ र छुट्‍टाछुट्‍टै रूपमा रहेका सूचनाहरूबिचको सम्बन्ध बुझ्न र केलाउन सक्छ ।

प्रत्येक स्रोतमा रहेका सूचना तथा जानकारीको सारांश तयार पार्नेभन्दा पनि तपाईँले उपलब्ध गराएका सम्पूर्ण स्रोतहरूमा रहेको जानकारीलाई यसले संश्लेषण गर्न सक्छ । उपलब्ध गराइएका स्रोतहरूबाट जवाफ प्राप्त गर्न तपाईँले आफूलाई चाहिए अनुसारका प्रश्नहरू पनि सोध्न सक्नु हुन्छ ।

त्यसका लागि नोटबुक एलएमले तपाईँले उपलब्ध गराएका सम्पूर्ण स्रोतहरूमा गएर खोजेर सान्दर्भिक तथा उपयुक्त उत्तर खोजेर दिन्छ । सजिलोगरी भन्नु पर्दा नोटबुक एलएममा तपाईँले लोकल सर्च इन्जिन तयार पार्न सक्नु हुन्छ र आफ्ना प्रश्नको जवाफ भेट्न सक्नु हुन्छ ।

मानौँ तपाईँ एक्सेलमा पाइथन इन्टिग्रेसन गर्ने तरिका सिक्न खोजिरहनु भएको छ । त्यसका लागि सम्बन्धित आर्टिकल, युट्युब भिडिओ र अनलाइन स्रोतहरू जम्मा पार्नुहोस् र नोटबुक एलएममा एउटा नोटबुक बनाएर क्रमशः सबैलाई अपलोड गर्नुहोस् । यति गरिसकेपछि उपयुक्त प्रश्न राखेर आफ्नो सिकाई सुरु गर्न सक्नु हुन्छ ।

२. सम्बन्धित नोटहरू राख्न

जब तपाईँ एआईले तयार पारेका सारांश/समरी प्रयोग गर्नु हुन्छ, त्यतिखेर महत्त्वपूर्ण सूचनाहरूको सन्दर्भलाई सुरक्षित राख्नपर्ने हुन सक्छ । जसलाई तपाईँ त्यहाँ तल रहेको 'Save to note' छानेर नोट तयार पार्न सक्नु हुन्छ । नोटबुक एलएममा नोट तयार पार्न विभिन्न विकल्पहरू उपलब्ध छन् । उदाहरणका लागि तपाईँ अध्ययनका लागि गाइड तयार पार्न र सोही अनुसार सान्दर्भिक नोट बनाउन सक्नु हुन्छ । त्यसैगरी ब्रिफिङ डक्स, टाइमलाइन वा एफएक्यूमा क्लिक गर्न र नोट सेभ गर्न सक्नु हुन्छ ।

३. माइन्ड म्याप तयार पार्न

यदि तपाईँ जटिल सम्बन्धहरू बुझ्न र मुख्य अवधारणाहरू प्राप्त गर्न चाहनु हुन्छ भने सारांश अर्थात् समरीको आधारमा माइन्ड म्याप तयार पार्न सक्नु हुन्छ । नोटबुक एलएमले तपाईँका स्रोत सामग्रीहरूलाई विश्लेषण गरेर माइन्डम्याप तयार पारिदिन्छ, जसले मुख्य शीर्षक र तिनीहरूबिचको सम्बन्धलाई दृश्यात्मक ढङ्गले सारांशको रूपमा उपलब्ध गराउँछ । यस किसिमको डायग्रामले तपाईँलाई कसरी विभिन्न आइडियाहरू एक अर्कासँग सम्बन्धित छन् भन्ने कुरा देखाउनेछ । तपाईँले यसरी तयार भएको माइन्डम्यापलाई तस्विरको रूपमा सेभ गर्न र अरूसँग शेयर गर्न पनि सक्नु हुन्छ ।

४. अडिओ ओभरभ्यु तयार पार्न

नोटबुक एलएमको अडिओ बनाउने क्षमताले सम्बन्धित विषयका जानकारीमा कसरी काम गर्ने र बुझ्ने भन्ने तरिकामा एउटा राम्रो विकल्प दिन्छ । तपाईँले अपलोड गरेका कागजातहरू वा बनाएका नोटहरूको प्राकृतिक जस्तै लाग्ने आवाजमा अन्तरक्रियात्मक अडिओ तथा पडकास्ट बनाउन सक्नुहुन्छ । यसले तपाईँलाई सूचना तथा जानकारीहरू सुन्न मिल्ने स्वरूपमा उपलब्ध गराउँछ । यो फिचर खासगरी मल्टिटास्किङ अथवा पढ्न असुविधा भएको अवस्थामा बढी उपयोगी हुन्छ ।

५. टिमका सदस्यहरूसँग सहकार्य गर्न

नोटबुक तयार भएपछि तपाईँले त्यसमा आफ्नो टिमका सदस्यहरूलाई आमन्त्रित गर्न सक्नु हुन्छ । यसमा तपाईँले पुरै नोटबुक शेयर गर्ने वा च्याट गर्ने अनुमति मात्रै दिने भन्ने कुरा रोज्न पाउनु हुन्छ । यसका लागि नोटबुक एलएमको माथि दायाँतर्फ रहेको शेयर बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ १८:६