काठमाडौँ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ । सामाजिक सञ्जाल प्लेटफर्महरूमा एआई प्रविधिको प्रयोग गरी अश्लील, आपत्तिजनक तथा भ्रामक सामग्री उत्पादन र प्रचारप्रसार गर्ने क्रम बढेको छ ।
विशेषगरी राजनीतिक दलहरू र तिनका समर्थकहरूले एक-अर्कालाई बदनाम गर्न एआई प्रविधिको सहारा लिन थालेका छन् । यसले समाजमा विभाजन ल्याउने र द्वन्द्व बढाउने खतरा रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
हाल सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा दुःख पाएको भनी बनाइएको भ्रामक भिडिओ भाइरल भएको छ । यस्तै, राजावादी नेता दुर्गा प्रसाईंमाथि एआई प्रविधिबाट निर्मित भिडिओहरू पनि छ्याप्छ्याप्ती सार्वजनिक भइरहेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डबाट फर्किंदा ‘सुँगुर चढेको’ भन्दै बनाइएको चिपफेक भिडिओसमेत भाइरल भएको थियो । प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।
एआई प्रविधिकै कारण गायिका समीक्षा अधिकारीदेखि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोलसम्म पीडित भइसकेका छन् ।
एआई प्रयोग गरेर कुनै व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो तथा भिडिओमा मिसाएर नक्कली सामग्री बनाउन सकिन्छ । यो प्रविधिको दुरुपयोग गरी कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सकिन्छ ।
यस्तै, देवीदेवताहरू दौडिरहेको, गीत गाउँदै नृत्य गरिरहेको र मोटरसाइकल चढेको देखाइएका भिडिओहरू समेत एआई प्रविधिबाटै बनाइएका हुन् । यस्ता सामग्री टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा अपलोड हुने क्रम जारी छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता सामग्रीहरू जानी–नजानी शेयर गर्ने, प्रतिक्रिया दिने र मनलाग्दी टिप्पणी गर्ने प्रवृत्ति बढ्दो छ । एआई प्रविधिबाट तयार पारिएका कतिपय सामग्री सजिलै पहिचान गर्न कठिन भएकाले प्रयोगकर्ताहरू छिट्टै भ्रममा पर्न सक्ने र गलत जानकारी फैलाउने जोखिम बढेको छ ।
यसैबिच, नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्नेगरी यस्ता क्रियाकलाप भए प्रचलित साइबर कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रविधिको प्रयोग गर्दा सोचविचार गरी अरूको सम्मानमा आँच नपुग्ने गरी सकारात्मक रूपमा प्रयोग गर्न अनुरोध गरे ।
अर्कोतर्फ, यस्ता समस्याको नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण र जनचेतना अभिवृद्धि गर्नुपर्ने मागसमेत उठ्न थालेको छ ।