close

यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?

टेकपाना टेकपाना

बैशाख १३, २०८२ २०:१८

यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?

काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको छ । तर, सबै देशमा यसलाई सजिलै चलाउन पाइँदैन । केही देशले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् ।

हाल सात देशमा फेसबुकले पूर्ण प्रतिबन्धको सामना गरेको छ । सेन्सरशिपदेखि राष्ट्रिय सुरक्षासम्मका विभिन्न कारण देखाएर त्यहाँका सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् । 

केही देशले भने प्रतिबन्ध लगाए पनि फुकुवा गरेका छन् । आज हामी ती देशहरूको चर्चा गर्छौं, जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ:

 

चीन (सन् २००९ देखि)

सन् २००९ मा सिन्जियाङ प्रान्तमा भएको जातीय दङ्गापछि चीनमा फेसबुकमाथि रोक लगाइएको थियो । त्यतिबेला मानिसहरूले फेसबुकमार्फत कुराकानी गरेर दङ्गा गर्ने योजना बनाएको चीन सरकारको आरोप छ । पछि चीनले फेसबुकसँग उनीहरूको विवरण माग्यो । तर, फेसबुकले दिन नमानेपछि त्यसलाई प्रतिबन्ध लगाएको बताइएको छ । 

यो प्रतिबन्ध चीनको ‘ग्रेट फायरवाल’ भनिने कडा इन्टरनेट सेन्सरशिप नीतिको हिस्सा हो । यसले विदेशी प्लेटफर्म रोकेर सूचना नियन्त्रण गर्छ र सरकार विरोधी विचार दबाउन सघाउँछ । चीनले अन्य धेरै विदेशी इन्टरनेट कम्पनीलाई पनि रोक लगाएको छ, जसले गर्दा त्यहाँका सामाजिक र राजनीतिक रूपमा संवेदनशील विषय फैलिन नपाओस् । साथै चीनले वीच्याट जस्तो आफ्नै देशका एपलाई बढावा दिन पनि यस्तो गरेको हो । 

इरान (सन् २००९ देखि)

इरानमा सन् २००९ को राष्ट्रपति चुनावपछिको विवाद र विरोध प्रदर्शनका बेला पहिलो पटक फेसबुकमाथि रोक लगाइएको थियो । विपक्षी आन्दोलनले विरोध प्रदर्शन आयोजना गर्न र आफ्ना गतिविधि समन्वय गर्न प्लेटफर्म प्रयोग गरिरहेकाले डराएर सरकारले प्रतिबन्ध लगाएको थियो । कहिलेकाहीँ फुकुवा भएको रिपोर्ट आए पनि इरानमा फेसबुक र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच अत्यधिक प्रतिबन्धित छ ।

इरानी सरकारले राजनीतिक असन्तुष्टि रोक्ने र देशभित्र पश्चिमी संस्कृति तथा मिडियाको प्रभाव सीमित गर्नेबारे लगातार चिन्ता व्यक्त गर्दै आएको छ । यी प्रतिबन्धका बाबजुद इरानका नागरिक प्रतिबन्धलाई छल्न र अवरुद्ध प्लेटफर्ममा प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्दै आएका छन् । तर भीपीएनको प्रयोगले सुरक्षा जोखिम र सम्भावित कानुनी परिणाम निम्त्याउने गरेको छ । डिजिटल क्षेत्रलाई थप नियन्त्रण गर्न इरानले चीनसँग राष्ट्रिय इरानी इन्टरनेट स्थापना गर्न सहकार्य गर्ने घोषणा गरेको थियो । यसले चीनको ‘ग्रेट फायरवाल’ जस्तै सेन्सरसिप उपाय लागू हुन सक्ने बताइएको छ । 

उत्तर कोरिया (सन् २०१६ देखि)

उत्तर कोरियाले अप्रिल २०१६ देखि फेसबुक लगायत विदेशी सामाजिक सञ्जाल चलाउनुलाई अपराध मानेको छ ।  यो देशले बाहिरी संसारबाट आफूलाई अलग राख्ने नीति लिएको छ भने विदेशी मिडियामाथि कडा नियन्त्रण गर्दै आएको छ । अधिकांश नागरिकसँग इन्टरनेटको पहुँच नै नभएकाले यो प्रतिबन्ध सरकारको आफ्ना जनतालाई बाहिरी सूचनाबाट टाढा राख्ने रणनीतिको एक भाग हो ।

म्यानमार (सन् २०२१ देखि)

फेब्रुअरी २०२१ मा सेनाले ‘कू’ गरेपछि म्यानमारको सैनिक सरकारले फेसबुकमाथि प्रतिबन्ध लगायो । ‘कू’ विरुद्धको विरोध प्रदर्शनलाई संगठित गर्न र सूचना आदानप्रदान गर्न सामाजिक सञ्जालको धेरै प्रयोग भएपछि सरकारले सूचना प्रवाह रोक्न तथा विरोध दबाउन यो कदम चालेको थियो । फेसबुक र यसका अन्य सेवाहरू (मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप) पनि त्यहीबेला बन्द भएका थिए ।

रुस (सन् २०२२ देखि)

रुसले फेसबुकलाई सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि प्रतिबन्ध लगाएको हो । फेसबुकले युक्रेन युद्धको बारेमा रुसी सरकारको आधिकारिक भनाइभन्दा फरक जानकारी फैलाएकाले प्रतिबन्ध लगाएको रुसको सरकारी नियामक निकाय (रोसकोमनादजोर) को दाबी छ । सरकार आफ्नो देशका नागरिकसम्म पुग्ने युद्धसम्बन्धी जानकारीलाई नियन्त्रण गर्न चाहन्थ्यो र आफ्नो आधिकारिक कथा विपरीतका सूचनाहरूलाई रोक्न चाहन्थ्यो । त्यसैले फेसबुकमाथि प्रतिबन्ध लगाइएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

तुर्कमेनिस्तान (सन् २०१८ देखि)

तुर्कमेनिस्तान संसारकै सबैभन्दा धेरै सेन्सरशिप भएका देशमध्ये पर्छ । त्यहाँ सन् २०१८ देखि फेसबुक लगायत लगभग सबै प्रमुख विदेशी सामाजिक सञ्जालमाथि प्रतिबन्ध छ । यो देशको व्यापक इन्टरनेट सेन्सरशिप नीतिको अंग हो । यसअन्तर्गत हजारौं वेबसाइट बन्द गरिएका छन् । सरकार सूचनामाथि कडा नियन्त्रण राख्नुका साथै र नागरिकलाई बाहिरी दुनियाँसँग सम्पर्क गर्नबाट रोक्ने गर्छ । 

युगान्डा (सन् २०२१ देखि)

युगान्डा सरकारले सन् २०२१ को राष्ट्रपतीय चुनावको ठिक दुई दिनअघि फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सरकार समर्थक अकाउन्ट बन्द गरेको आरोप त्यहाँको सरकारले लगाएको थियो । तर, आलोचकले यसलाई चुनावको समयमा सूचना प्रवाह रोक्न र विपक्षीहरूको गतिविधि खासगरी युवा मतदातालाई संगठित हुनबाट रोक्ने प्रयासको रूपमा हेरेका थिए । चुनावपछि पनि यो प्रतिबन्ध जारी रह्यो । र, त्यहाँ अहिलेसम्म फेसबुकमाथि प्रतिबन्ध लागेको छ । पछिल्लो समय यस देशमा फेसबुकमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे सरकार र मेटाबिच छलफल भइरहेको छ ।

नेपालमा के होला ?

नेपालमा पछिल्लो समय फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने चर्चा तीव्र भएको छ । शुक्रबारमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्धको चेतावनी दिएका छन् । यसअघि पनि सरकारले पटक पटक सामाजिक सञ्जाल सञ्चालक कम्पनीलाई सूचीकरणमा आउन ताकेता गरेको थियो ।

नेपाल सरकारले २०८० सालमा ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउनुपर्छ । साथै, नेपालमा सम्पर्क व्यक्ति राख्न, गुनासो सुन्ने अधिकारी तोक्न र स्वनियमन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, पटक-पटक ताकेता गर्दा पनि फेसबुक (मेटा) लगायतका केही प्रमुख सामाजिक सञ्जालहरूले दर्ता प्रक्रिया पूरा नगरेको भन्दै सरकारले अन्तिम मौका स्वरूप एक साताको समय दिएको छ । हालसम्म टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र नेपालमा सूचीकरण भएका छन् ।

मन्त्री गुरुङले मेटाले नेपालको कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन् । यस्तो अवस्थामा एक सातामा सूचीकरण नभए मेटामाथि प्रतिबन्ध लगाउने सरकारी तयारी देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ २०:१८