close

सामाजिक सञ्जालमा लोकप्रिय ‘लाइक’ बटन आखिर कसले सुरु गर्‍यो होला ?

टेकपाना टेकपाना

जेठ ३, २०८२ ८:५

सामाजिक सञ्जालमा लोकप्रिय ‘लाइक’ बटन आखिर कसले सुरु गर्‍यो होला ?

काठमाडौँ । सामाजिक सञ्जालमा तपाईँ लाइक बटन कतिको प्रयोग गर्नुहुन्छ ? हुन त आजभोलि स्याड, लभ, केयर लगायत अन्य रियाक्सनहरू पनि आइसकेका छन् । तर पहिले पहिले आफ्नो प्रतिक्रिया दिने माध्यम नै लाइक बटन हुने गर्थ्‍यो । आज पनि इन्टरनेटमा सबैभन्दा धेरै प्रयोग हुने आइकन सम्भवतः लाइक नै होला ।

यदि लाइक बटन नहुँदो हो त इन्टरनेट अहिलेको जस्तो हुने थिएन । फेसबुक र अन्य अनलाइन सेवाहरूले प्रयोगमा ल्याएको यो 'थम्ब्स-अप' आइकन डिजिटल संसारका लागि अनिवार्य नै बन्यो । हालै मार्टिन रिभस र रोबर्ट गुडसन नामका दुई लेखकले ‘Like: The Button That Changed the World’ शीर्षकमा एउटा पुस्तक सार्वजनिक गरेका छन् । उक्त पुस्तकमा यो लाइक बटनले इन्टरनेटमा मानिसहरूले कुनै पनि कुराको प्रतिक्रिया दिने प्रचलनलाई कसरी बदल्यो भनेर उल्लेख गरेको छ ।

केही प्रयोगकर्ता भने यो बटन खास त्यति रुचाउँदैनन् । तर मनपरे पनि नपरे पनि यो बटनले इन्टरनेटमा आफ्नो प्रभुत्व जमाएको छ । यो चिन्ह यति प्रभावशाली बन्यो कि, फेसबुकले यसलाई आफ्नो सिलिकन भ्यालीको मुख्यालय बाहिर ठुलो साइनबोर्डमा राखेको थियो, जुन सन् २०२१ मा कम्पनीको नाम ‘मेटा प्लेटफर्म्स’ मा रूपान्तरण हुँदा हटाइयो।

यो कथा सुरु हुन्छ प्राचीन रोमन साम्राज्यको ग्लाडियेटर युद्धबाट, जहाँ थम्ब्स-अप र थम्ब्स-डाउनले जीवन र मृत्युको संकेत गर्थ्यो । यसपछि सिधै २१औँ शताब्दीको सुरुआततिर, जब येल्प, ट्विटर, पेपाल, युट्युब, र जिमेलका संस्थापकहरू प्रयोगकर्तालाई निःशुल्क सामग्री उत्पादन गर्न उत्प्रेरित गर्न नयाँ तरिका सोच्दै थिए ।

सन् २००५ मे १८ मा, येल्पका कर्मचारी बब गुडसनले एक जना समीक्षकका पोस्टमा प्रतिक्रिया दिन सकिने थम्ब्स-अप र थम्ब्स-डाउन आइकनको स्केच बनाए । येल्पले त्यो कुरा अस्वीकार गर्‍यो र बदलामा ‘यूजफुल’,‘फनी’,” र ‘कूल’ भन्ने अप्सनहरू ल्यायो । तर पछि त्यही स्केचले गुडसन र मार्टिन रिभ्सलाई यो पुस्तक लेख्न प्रेरित गर्‍यो ।

मार्टिन रिभ्स भन्छन्, “लाइक बटन सानो, तर अर्थपूर्ण छ । यसले भन्छ- ‘म तिमीलाई मन पराउँछु, तिम्रो सामग्री मन पर्छ, किनकि म तिमी जस्तै छु ।’ तर पहिलो पटक कसले यो बटनको आविष्कार गर्‍यो भन्ने प्रश्नको उत्तर दिन धेरै गाह्रो छ ।”

बब गुडसनले मे १८, २००५ मा ‘लाइक’ बटन बन्ने साधारण अवधारणा समावेश गरेको स्केच

फेसबुकले फैलायो

फेसबुकले यो बटन बनाएको होइन । तर उसैले यसलाई इन्टरनेटको मूलधारमा ल्यायो । सन् २००७ देखि नै फेसबुकमा इन्जिनियरहरूले लाइक बटन बनाउने प्रयास गरिरहेका थिए, तर मार्क जुकरबर्गले ‘सस्तो देखिन्छ’ भनेर यसको विरोध गरिरहेका थिए । उनीसँग डर थियो कि यसले फेसबुकको छविमा असर गर्छ भनेर ।

त्यहीबेला, फ्रेन्डफिड नामक अर्को सानो सामाजिक सञ्जालले सन् २००७ अक्टोबरमा आफ्नो लाइक बटन सार्वजनिक गर्‍यो । पछि गएर फेसबुकले उक्त कम्पनी खरिद गर्‍यो । तर यतिबेला यो प्रयास सफल भएन, प्रयोगकर्ताले यसलाई त्यति रुचाएनन् । फेसबुकले अन्ततः सन् २००९ फेब्रुअरी ९ मा लाइक बटन ल्यायो । यसपछि लाइक बटनले इन्टरनेटको दुनियाँलाई नै परिवर्तन गरिदियो ।

सुरुमा यसलाई ‘असम बटन’ (Awesome button) नाम दिने निधो भयो । तर पछि त्यसले काम दिएन । यसपछि यसको नाम लाइक बटन नै राखियो । लाइक बटन सार्वजनिक भएपछिको सफलता यति ठुलो भयो कि यसले प्रयोगकर्तालाई कुनै पनि अनलाइन सामग्रीमा संलग्न गराउने, तिनीहरूको रुचि बुझ्ने र लक्षित विज्ञापन बेच्ने प्रक्रियालाई सहज बनाइदियो ।

आज फेसबुक (अहिलेको मेटा) को आम्दानीको ठुलो हिस्सा यही डेटा र प्रतिक्रिया प्रणालीको भरमा आधारित छ ।

लाइक बटनको सांस्कृतिक प्रभाव

लाइक बटनको अवधारणा कुनै एक व्यक्तिको विचार होइन । यो सामूहिक प्रयोग, चर्चा र सांस्कृतिक प्रभावहरूको नतिजा हो । ग्लाडियेटर चलचित्रमा जोआक्विन फिनिक्सद्वारा अभिनीत सम्राट कमोडसले थम्ब्स-अप/डाउन प्रयोग गरेर यो लाइकको संकेतलाई थप लोकप्रिय बनाइदिएका थिए ।

त्यसअघि पनि सन् १९७० को दशकको लोकप्रिय टिभी शो ‘ह्याप्पी डेज’ मा फनजी नामक पात्रले थम्ब्स-अप दिएर खुसी व्यक्त गर्थे । अनि २००० को दशकको सुरुतिर, TiVO नामक डिजिटल भिडिओ रेकर्डरले पनि यस्तै संकेतलाई रिमोट बटनमा प्रयोग गर्न थाल्यो । Hot or Not, Digg, Xanga, YouTube, Vimeo जस्ता प्लेटफर्महरूले पनि लाइक जस्तो प्रतिक्रिया प्रणालीको प्रयोगमा योगदान गरेका छन् ।

आधुनिक सामाजिक असर

आजको दिनमा लाइक बटनलाई लिएर सकारात्मक मात्र होइन, नकारात्मक असरहरू पनि देखा परेका छन् । धेरै किशोरहरू आफूले पोस्ट गरेको सामग्रीमा प्रतिक्रिया नआएपछि मानसिक दबाबमा पर्छन् । अर्कोतर्फ, लगातार लाइक खोज्ने प्रवृत्तिले मानिसहरूमा अति आत्मकेन्द्रित (narcissist) प्रवृत्तिको विकास गरेको छ ।

रिभ्स भन्छन्, “लाइक भन्ने कुरा हामी मानिसहरूको हजारौँ वर्षको सामाजिक विकासको नतिजा हो । यसमा हामी थाक्दैनौँ । हामीलाई मन पराउनु, प्रशंसा गर्नु र सम्बन्ध बनाउनु स्वाभाविक चाहना हो ।”

लाइक बटन अहिलेको डिजिटल संसारको सबैभन्दा प्रभावशाली साधन बनेको छ । सानो बटनले इन्टरनेटको स्वरूप मात्र होइन, हाम्रो व्यवहार र सोच्ने तरिका पनि परिवर्तन गरिदिएको छ । सायद हामी अझै पनि त्यसको सम्पूर्ण प्रभाव बुझ्न सक्ने चरणमा पुगेका छैनौँ ।

एपीबाट साभार

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ ८:३२