close

गुगललाई टक्कर दिँदै परप्लेक्सिटी: एक भारतीय युवाको सफलताको कथा

टेकपाना टेकपाना

जेठ ६, २०८२ १९:२९

गुगललाई टक्कर दिँदै परप्लेक्सिटी: एक भारतीय युवाको सफलताको कथा

काठमाडौं । पछिल्लो दुई दशकमा याहु, बिङ, डकडकगो जस्ता अनेकौं सर्च इन्जिन आए । तर, गुगल सर्चको प्रभुत्वलाई कसैले हल्लाउन सकेको थिएन । गुगलले सर्च इन्जिन बजारको ९० प्रतिशत हिस्सा ओगटेको छ । माइक्रोसफ्ट जस्तो विशाल कम्पनीले पनि बिङमार्फत गुगललाई टक्कर दिने प्रयास गर्‍यो । तर सफल हुन सकेन ।

सन् २०२२ मा एक मध्यमवर्गीय भारतीय युवा अरविन्द श्रीनिवासनले ‘परप्लेक्सिटी एआई’ नामक स्टार्टअप सुरु गरे । यही स्टार्टअप सिधै गुगल सर्चको लागि ठुलो चुनौती बनेको छ । परप्लेक्सिटीले चाँडै नै सात करोड ४० लाख डलरको फन्डिङ प्राप्त गर्‍यो । त्यसमा जेफ बेजोस एनभिडिया जस्ता ठुला नाम पनि सहभागी थिए ।

डिसेम्बर २०२२ मा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि गुगलको निन्द्रै हरायो । च्याटजीपीटीले धेरै हदसम्म सर्च इन्जिनको काम गर्न सक्थ्यो, जसले गर्दा प्रयोगकर्तालाई सिधै प्रश्न सोध्ने र तुरुन्तै जवाफ पाउने सुविधा दिन्थ्यो । यता गुगल सर्चको प्रक्रिया केही ढिलो हुन्छ । त्यसको तुलनामा च्याटजीपीटी धेरै फरक थियो ।

गुगलमा कुनै जानकारी खोज्दा विभिन्न वेबपेज देखिन्छन् । त्यहींबाट प्रयोगकर्ताले आफूलाई उपयुक्त हुने वेबपेज भिजिट गर्नुपर्ने हुन्छ । तर, च्याटजीपीटीमा भने कुनै विशेष वेबसाइटमा पुग्नपर्ने हुँदैनथ्यो । किनभने यसले प्रयोगकर्ताले जे प्रश्न सोधेका छन् त्यसको सटीकभन्दा सटीक जवाफ दिने प्रयोस गर्थ्यो ।

गुगललाई ओपनएआईबाट त्यति धेरै चिन्ता थिएन किनभने ओपनएआई एउटा सानो कम्पनी थियो । तर जहिले माइक्रोसफ्टले ओपनएआईको ५० प्रतिशत इक्विटी किन्यो त्यसपछि खेल बदलियो । कूल आम्दानीको ८० प्रतिशत आम्दानी आम्दानी आउने सर्च व्यवसाय नै सङ्कटमा पर्ने खतरा गुगललाई महसुस भयो ।

गुगलका सीईओ सुन्दर पिचाईले तुरुन्तै ‘रेड कोड’ घोषणा गरे र गुगलले आफ्ना सबै अनावश्यक परियोजना रोकेर सम्पूर्ण ध्यान यही परिस्थितिलाई सम्हाल्नमा केन्द्रित गर्‍यो । यसपछि गुगलले च्याटजीपीटीको जवाफमा बार्ड नामक एआई टुल ल्यायो । त्यसलाई अहिले ‘जेमिनाई’ नामले चिनिन्छ । उता माइक्रोसफ्टले च्याटजीपीटीलाई आफ्ना सबै उत्पादनमा एकीकृत गर्दै को-पाइलट एआई ल्यायो । यसरी एआई ‘युद्ध’को सुरुवात भयो ।

यस्तो प्रतिस्पर्धात्मक बजार जहाँ माइक्रोसफ्ट र गुगल जस्ता विशाल कम्पनीहरू थिए, त्यहीं अरविन्द श्रीनिवासनले परप्लेक्सिटी एआई नामक एआई टुल सार्वजनिक गरे । अरविन्दले ओपनएआईबाटै इन्टर्नका रूपमा काम थालेका थिए । उनले मे महिनादेखि अगस्ट २०१८ सम्म पोलिसी ग्रेडियन्ट एल्गोरिदमा अनुसन्धानको काम गरेका थिए ।

सन् २०१७ मा मद्रासको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक र एमटेक गरेका उनी २०२१ मा युनिभर्सिटी अफ क्यालिफोर्नियामा फिलोशोफी अध्ययन गर्न पुगेका थिए ।

मेदेखि सेप्टेम्बर २०१९ मा उनले डिपमाइन्डमा रिसर्च इन्टर्नका रूपमा काम गरे । त्यसपछि मे २०२० देखि अप्रिल २०२१ मा गुगलमा रिसर्ट इन्टर्नकै रूपमा काम गरे । त्यसपछि रिसर्च साइन्टिस्टका रूपमा उनी सेप्टेम्बर २०२१ मा ओपनएआईमा जोडिएका थिए । त्यहाँ अगस्ट २०२२ सम्म काम गरेका उनले त्यही महिना आफ्नै एआई स्टार्टअप परप्लेक्सिटी स्थापना गरे ।  

त्यतिबेला उनीसँग आफ्नै एआई मोडल तालिम गर्ने पैसा पनि थिएन । तर, उनले केही यस्तो गरे जसले परप्लेक्सिटीलाई दुई वर्षमै एआई च्याटबट बजारको छ प्रतिशत हिस्सा ओगट्न र आईओएस एप स्टोरको शीर्ष चार्टमा छैटौं स्थानमा पुग्न सफल बनायो ।

चाँडै नै परप्लेक्सिटीको मूल्याङ्कन ९ अर्ब डलर पुग्यो र यो सबैभन्दा छिटो बढ्ने एआई स्टार्टअप बन्यो । मे २०२५ मा परप्लेक्सिटीले १४ अर्ब मुल्याङ्कनमा एसेलबाट थप ५० करोड डलर भित्र्याउने तयारी गरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

अरविन्दले च्याटजीपीटीमा दुई ओटा मुख्य कमजोरीहरू देखे । त्यसमध्ये एउटा हो ‘रियल टाइम’ (तत्कालका घटना)को जानकारीको अभाव । च्याटजीपीटीले नयाँ समाचार वा त्यतिबेला भइरहेका घटनाको जानकारी दिन सक्दैनथ्यो । किनभने यो एक निश्चित मितिसम्म मात्र तालिम गरिएको थियो । नयाँ घटनाक्रमबारे सोध्दा आफूसँग ‘रियल टाइम इन्फरमेसन’को अभाव हुने जानकारी दिन्थ्यो । 

दोस्रो, स्रोतको अभाव । च्याटजीपीटीले दिएको जवाफको स्रोत उल्लेख गर्दैनथ्यो । यसले गर्दा प्रयोगकर्ताले जानकारीको सत्यतथ्य प्रमाणित गर्न सक्दैनथे । यी दुई समस्याहरू समाधान गर्न अरविन्दले परप्लेक्सिटी एआई ल्याए । परप्लेक्सिटी एउटा एआईद्वारा सञ्चालित कन्भरसेन्सल आन्सर इन्जिन हो, सर्च इन्जिन होइन । अर्थात् यो कुराकानीको शैलीमा वास्तविक समयका जानकारीको आधारमा उत्तर दिने प्लेटफर्म हो ।  

यसले प्रयोगकर्ताले सोधेको प्रश्नको सिधा जवाफ दिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा जवाफको स्रोत पनि उल्लेख गर्छ । परप्लेक्सिटीले आफ्नै एआई मोडल बनाउनुको सट्टा अन्य कम्पनीहरू (जस्तै ओपनएआई, गुगल) का एआई मोडलहरू प्रयोग गर्‍यो र तिनीहरूलाई सर्च इन्जिनसँग इन्टिग्रेट गर्‍यो ।

यसको फाइदा के भयो भने जब प्रयोगकर्ताले परप्लेक्सिटीमा कुनै प्रश्न सोध्छन् त्यो प्रश्न सिधै एआई मोडलमा जाँदैन । पहिले सर्च इन्जिनले विभिन्न वेबसाइटबाट जानकारी सङ्कलन गर्छ र त्यसपछि त्यो जानकारी एआई मोडललाई दिन्छ । यसले गर्दा एआई मोडलले नयाँ जानकारीको आधारमा जवाफ दिन सक्छ र स्रोत पनि उल्लेख गर्न सक्छ ।

परप्लेक्सिटीको यो रणनीतिका तीन मुख्य फाइदाहरू थिए । पहिलो अन्य एआई कम्पनी आफ्नै मोडल बनाउन र सुधार गर्नमा व्यस्त थिए । तर परप्लेक्सिटीले अरूका मोडल प्रयोग गरेर आफ्नो ध्यान एआई सर्चलाई अझ राम्रो बनाउनमा केन्द्रित गर्‍यो । यसले उसलाई प्रतिस्पर्धाबाट मुक्ति दियो ।

दोस्रो- प्रत्येक एआई मोडलको आ-आफ्नै विशेषता हुन्छ । परप्लेक्सिटीले प्रयोगकर्तालाई आफ्नो आवश्यकताअनुसार मोडल छनौट गर्ने विकल्प दियो । यसले गर्दा उसले उत्कृष्ट नतिजा दिन सक्ने भयो । तेस्रो- परप्लेक्सिटीको आफ्नै एआई मोडल नभएकोले यो विभिन्न कानूनी समस्याबाट बच्यो । यदि कुनै मोडलमा समस्या आयो भने, परप्लेक्सिटीले त्यसलाई हटाएर अर्को मोडल प्रयोग गर्न सक्थ्यो ।

यी कारणले गर्दा परप्लेक्सिटी एआई छिटोभन्दा छिटो सफल भयो र एआई उद्योगमा एक प्रमुख खेलाडी बन्यो । जनवरी २०२४ मा एनभिडिया र जेफ बेजोसको लगानीसँगै यसको मूल्याङ्कन ५२ करोड डलर पुगेको थियो । अप्रिल २०२४ मा परप्लेक्सिटीले इन्टरप्राइज प्रो नामक प्रिमियम फिचर सार्वजनिक गर्‍यो । त्यसपछि यसको मूल्याङ्कन एक अर्ब डलर नाघ्यो र यो एक युनिकर्न बन्यो । 

जुन २०२४ मा सफ्टबैंकले परप्लेक्सिटीमा लगानी गर्‍यो । त्यसपछि यसको मूल्याङ्कन दुई महिनामै तीन गुणा बढेर तीन अर्ब डलर पुग्यो । डिसेम्बर २०२४ सम्ममा यसको मूल्याङ्कन ९ अर्ब डलर पुग्यो । अर्थात् एक वर्षमै यसको मूल्याङ्कन १७ गुणा वृद्धि भएको थियो ।

गुगल सर्चको एकाधिकार तोड्न त्यति सजिलो थिएन, छैन । त्यसको मूल कारण हो गुगलको इकोसिस्टम । गुगलसँग आफ्नै ब्राउजर अर्थात क्रोम ब्राउजर छ । उक्त ब्राउरले ब्राउजर क्षेत्रमा ६८ प्रतिशत हिस्सा ओगटेको छ । सफारी ब्राउजरको १७ प्रतिशत हिस्सा छ र यी दुवै ब्राउजरमा गुगल डिफल्ट सर्च इन्जिन छ ।

गुगलले एप्पललाई आफ्नो सर्च इन्जिन डिफल्ट बनाउन वार्षिक २२ अर्ब डलर तिर्ने गरेको रिपोर्ट बाहिर आइरहेका छन् । गुगलले एकाधिकार कायम गर्न आफ्नै प्रतिद्वन्द्वी कम्पनीलाई वर्षौनी अर्बौं डलर तिर्ने गर्छ भन्ने आरोप पनि लागिरहेको हुन्छ ।

त्यसैले गुगल सर्चलाई तबसम्म हराउन सकिँदैन जबसम्म प्रयोगकर्ता क्रोम र सफारी छोडेर अन्य ब्राउजरमा सर्दैनन् । यही कारणले गर्दा ओपनएआईले पनि आफ्नै ब्राउजरमा काम गरिरहेको खबर आएको छ । पछिल्लो समय गुगलको एकाधिकार तोड्न अमेरिकी अदालतले क्रोम बेच्न गुगललाई बाध्य पारिरहेको छ । त्यही क्रोम किन्न ओपनएआई सबैभन्दा अगाडि सरेको छ ।


परप्लेक्सिटी एआईको सफलताबाट दुई ओटा महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ । पहिलो जब अरूहरू समस्याहरू औंल्याइरहेका हुन्छन्, त्यसमा अवसर खोज्नुपर्छ । अरविन्दले च्याटजीपीटीका कमजोरीमा अवसर देखे र समाधानसहित परप्लेक्सिटी सार्वजनिक गरे । दोस्रो आफूभन्दा धेरै ठुला कम्पनीहरूसँग पनि प्रतिस्पर्धा गर्न सकिन्छ । तर, त्यसका लागि उनीहरूका कमजोरीहरू बुझेर फरक रणनीति अपनाउनुपर्ने हुन्छ । परप्लेक्सिटीले आफ्नै मोडल बनाउनुको सट्टा अरूका मोडल प्रयोग गरेर यो प्रमाणित गर्‍यो ।

परप्लेक्सिटी एआईको सफलताले के देखाउँछ भने सही रणनीति र नवीन सोचले ठुलाभन्दा ठुला प्रतिस्पर्धीलाई पनि चुनौती दिन सकिन्छ । भविष्यमा एआई सर्चको क्षेत्रमा कस्तो परिवर्तन आउँछ, त्यो हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १९:४३