close

गुगल पिक्सेल १० मा स्याटलाइटमार्फत ह्वाट्सएप भ्वाइस र भिडिओ कलको सुविधा

टेकपाना टेकपाना

भदौ ७, २०८२ २३:२०

गुगल पिक्सेल १० मा स्याटलाइटमार्फत ह्वाट्सएप भ्वाइस र भिडिओ कलको सुविधा

काठमाडौँ । गुगलले हालै सार्वजनिक गरेको पिक्सेल १० सिरिजका स्मार्टफोनहरूमा स्याटलाइट कनेक्टिभिटीमार्फत ह्वाट्सएप भ्वाइस र भिडिओ कलको सुविधा उपलब्ध गराउने भएको छ । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो ।

कम्पनीका अनुसार यो सुविधा आगामी २८ अगस्ट देखि सक्रिय हुनेछ । मोबाइल नेटवर्क वा वाई-फाईको पहुँच नभएका दुर्गम क्षेत्रहरूमा पनि प्रयोगकर्तालाई ह्वाट्सएपमार्फत सम्पर्कमा रहन सहयोग गर्ने गरी यो फिचर ल्याइएको कम्पनीले जनाएको छ ।

यो सुविधा प्रयोग गर्नका लागि केही सर्त भने तोकिएको छ । पहिलो कुरा, तपाईंले प्रयोग गर्ने मोबाइल सेवा प्रदायक (सिम कम्पनी) ले यो स्याटलाइट कलको सुविधा उपलब्ध गराउनुपर्छ । यसलाई गुगलले सहभागी क्यारियर (participating carrier) भनेको छ । नेपालमा पनि यदि यो सुविधा आउने हो भने एनसेल वा नेपाल टेलिकम जस्ता कम्पनीहरूले यसलाई सपोर्ट गर्नुपर्ने हुन्छ । 

दोस्रो कुरा, यो सेवा प्रयोग गरेबापत तपाईंको मोबाइल सेवा प्रदायकले थप शुल्क लिन सक्नेछ । तेस्रो, स्याटलाइटबाट चल्ने भएकाले यो सुविधा प्रायजसो खुला ठाउँहरूमा जहाँ आकाश देख्न सकिन्छ, त्यहाँ मात्र काम गर्छ । 

गुगलको यस घोषणाले स्मार्टफोन कनेक्टिभिटीको क्षेत्रमा अर्को फड्को मारेको विश्लेषण गरिएको छ । स्याटलाइट कनेक्टिभिटीको प्रयोगलाई आपत्कालीन सेवाभन्दा बाहिर दैनिक सञ्चारमा विस्तार गर्न गुगल कत्तिको सफल होला, त्यो त भविष्यले बताउला । २८ अगस्टमा पिक्सेल १० सिरिजको बिक्री सुरु हुँदा यस सुविधासम्बन्धी थप विस्तृत जानकारी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ७, २०८२ २३:२५