close

भाषण तोडमोड गरेको आरोपमा बीबीसीमाथि मुद्दा हाल्दै ट्रम्प, ५ अर्ब डलरसम्म ‍क्षतिपूर्ति माग

टेकपाना टेकपाना

कात्तिक २९, २०८२ १४:४७

भाषण तोडमोड गरेको आरोपमा बीबीसीमाथि मुद्दा हाल्दै ट्रम्प, ५ अर्ब डलरसम्म ‍क्षतिपूर्ति माग

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमाथि मुद्दा हाल्ने घोषणा गरेका छन् । आफ्नो भाषणलाई काटछाँट गरी भ्रामक वृत्तचित्र बनाएको आरोप लगाउँदै उनले एकदेखि पाँच अर्ब डलरसम्मको क्षतिपूर्ति माग गर्ने बताएका हुन् ।

शनिबार राति ‘एयर फोर्स वान’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आगामी साताभित्रै बीबीसीविरुद्ध कानुनी कारबाही अघि बढाउने पुष्टि गरे । “हामी उनीहरूमाथि मुद्दा हाल्नेछौँ । उनीहरूसँग एक अर्बदेखि पाँच अर्ब डलरसम्मको क्षतिपूर्ति माग गर्नेछौँ,” उनले भने, “उनीहरूले जालसाजी गरेको स्वीकारसमेत गरेका छन् । उनीहरूले मेरो मुखबाट निस्केका शब्दहरू नै परिवर्तन गरिदिए ।”

अमेरिकामा ४७ औँ राष्ट्रपतिका लागि निर्वाचन हुनुअघि बीबीसीले ‘ट्रम्प: अ सेकेन्ड चान्स ?’ नामक पानोरोमा वृत्तचित्र सार्वजनिक गरेको थियो । उक्त वृत्तचित्रमा ट्रम्पले ६ जनवरी २०२१ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) मा दंगा हुनुअघि दिएको भाषणको अंश प्रयोग गरिएको थियो ।

बीबीसीले भाषणका विभिन्न टुक्राहरूलाई जोडेर उनले आफ्ना समर्थकलाई क्यापिटल हिलसम्म सँगै गएर ‘लड्न’ उक्साएको जस्तो देखाइएको ट्रम्पको आरोप छ । आन्तरिक छानबिनमा समेत भाषणको सम्पादनमाथि प्रश्न उठेको समाचार ‘द डेली टेलिग्राफ’ले प्रकाशित गरेको थियो ।

विवाद बढेपछि बीबीसीले आधिकारिक रूपमा ट्रम्पसँग माफी मागेको छ । बीबीसीका प्रवक्ताले भिडिओ क्लिप सम्पादन गर्ने तरिकामा ‘निर्णयगत त्रुटि’ भएको स्वीकार गर्दै उक्त कार्यक्रमलाई सोही रूपमा पुनः प्रसारण नगर्ने प्रतिबद्धता जनाएका छन् । यद्यपि बीबीसीले ट्रम्पको मानहानिको दाबीमा भने कुनै आधार नरहेको जिकिर गरेको छ ।

यो घटनापछि उत्पन्न दबाबका कारण बीबीसीका महानिर्देशक टिम डेभी र बीबीसी न्युजकी प्रमुख कार्यकारी डेबोरा टर्नेसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कानुनी विज्ञका अनुसार ट्रम्पले यो मुद्दालाई अमेरिका वा बेलायतको अदालतमा लैजान विभिन्न चुनौतीको सामना गर्नुपर्नेछ । बेलायतको कानुनअनुसार मानहानिको मुद्दा एक वर्षभित्र दायर गरिसक्नुपर्छ । तर उक्त वृत्तचित्र प्रसारण भएको एक वर्षभन्दा बढी भइसकेको छ ।

त्यसैगरी यो वृत्तचित्र अमेरिकामा प्रसारण नभएकाले अमेरिकी दर्शकले हेर्नै नपाएको कार्यक्रमका कारण आफ्नो प्रतिष्ठामा चोट पुगेको प्रमाणित गर्न ट्रम्पलाई कठिन हुने विज्ञहरूको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ १४:४७