close

अनौठो आईफोन लभर चोर, एन्ड्रोइडसँग यतिसम्म वितृष्णा कि हात परे फिर्ता

टेकपाना टेकपाना

मंसिर १०, २०८२ १४:४९

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामान्यतः स्मार्टफोन चोरी हुँदा चोरले जुनसुकै ब्रान्डको भए पनि लैजान्छन् भन्ने आम बुझाइ छ । तर, लण्डनमा एउटा अनौठो प्रवृत्ति देखिएको छ । 

त्यहाँका चोरले एन्ड्रोइड फोन चोर्न इन्कार गर्न थालेका छन् । स्थानीय सञ्चारमाध्यम ‘लण्डन सेन्ट्रिक’ले प्रकाशित गरेको एक रिपोर्ट अनुसार लण्डनमा सक्रिय चोरले लुटपाटपछि एन्ड्रोइड डिभाइस (विशेषगरी सामसङ) प्रयोगकर्तालाई नै फिर्ता दिने वा सडकमा फ्याँक्ने गरेका छन् । चोरको मुख्य निसानामा एप्पलको आईफोन मात्र पर्ने गरेको उक्त सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

रिपोर्टमा लण्डनका विभिन्न एन्ड्रोइड प्रयोगकर्ताको अनुभव समेटिएको छ । ‘स्याम’ नाम गरेका एक व्यक्तिलाई गत जनवरीमा आठ जनाको समूहले घेरेर लुटपाट गरेका थिए । लुटेराले उनको फोन, क्यामेरा र टोपी खोसेर भाग्न लागेका थिए । तर, केही पर पुगेपछि एक लुटेरा फर्कियो र स्यामलाई उनको एन्ड्रोइड फोन फिर्ता दिँदै भन्यो, “सामसङ चाहिँदैन ।”

त्यसैगरी ‘मार्क’ नाम गरेका अर्का प्रयोगकर्ताको ग्यालेक्सी फोन ई-बाइकमा आएका चोरले खोसेका थिए । तर, फोन हातमा लिएर हेरेपछि चोरले त्यसलाई भुइँमा फ्याँकेर आफ्नो बाटो लागेको मार्कले बताए ।

अर्का व्यक्ति ‘साइमन’ले खल्तीबाट आफ्नो फोन निकालेपछि चोरले लुट्ने प्रयास नै त्यागेको अनौठो घटना पनि रिपोर्टमा उल्लेख छ । साइमनका अनुसार चोरले आफ्ना साथीलाई ‘यो फोन काम छैन’ अर्थात् यसको मूल्य छैन भन्ने आशय व्यक्त गर्दै लुटपाट रद्द गरेका थिए ।

प्रविधि विश्लेषक जोन ग्रुबरका अनुसार बेलायतमा आईफोन र एन्ड्रोइड प्रयोगकर्ताको संख्या लगभग बराबर (५०-५० प्रतिशत) छ । तर, चोरले एन्ड्रोइडलाई बेवास्ता गर्नु र आईफोनलाई मात्र निसाना बनाउनुको मुख्य कारण यसको उच्च ‘रिसेल भ्यालु’ (पुन: बिक्री मूल्य) र ‘डिमान्ड’ हो । एन्ड्रोइड फोनको तुलनामा चोरी भएका आईफोन कालोबजारीमा महँगो मूल्यमा बिक्री हुने भएकाले चोर यसतर्फ आकर्षित भएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १५:२७