close

एनपीएलमा हानिएका ‘चौका’ बापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्दै एनसेल

टेकपाना टेकपाना

मंसिर १९, २०८२ १५:५३

एनपीएलमा हानिएका ‘चौका’ बापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्दै एनसेल

काठमाडौँ । एनसेल फाउन्डेसनले जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा प्रहार भएका चौका (बाउन्ड्री) बापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । फाउन्डेसनले क्रिकेटको हरेक चौकालाई ४ ओटा शैक्षिक सामग्रीसँग जोड्दै सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने घोषणा गरेको हो ।

बिहीबारसम्म खेलिएका खेलहरूमा ९० जना खेलाडीले कुल ५१० चौका प्रहार गरेका छन् । ‘हरेक चौकामा ४ शैक्षिक सामग्री’ वितरण गर्ने फाउन्डेसनको प्रतिबद्धता अनुसार हालसम्म दुई हजार ४० थान शैक्षिक सामग्री वितरण सुनिश्चित भइसकेको छ ।

चौका प्रहार गर्दै शैक्षिक सामग्री जुटाउन सबैभन्दा बढी योगदान पोखरा एभेन्जर्सका एडम रोसिङटनले गरेका छन् । उनले २७ चौका प्रहार गर्दै १०८ थान शैक्षिक सामग्री सुनिश्चित गराएका छन् ।

लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा छन्, जसको योगदानबाट ७६ थान सामग्री प्राप्त हुनेछ । काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८–६८ थान शैक्षिक सामग्री योगदान गरेका छन् ।

फाउन्डेसनका अनुसार विद्यार्थीहरूलाई वितरण गरिने किटमा झोलासहित कपी, पेन्सिल, शार्पनर, इरेजर लगायतका पठनपाठनका लागि अत्यावश्यक सामग्रीहरू समावेश हुनेछन् । यो सहयोग नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा वितरण गरिने बताइएको छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले खेलको उत्साहलाई सामाजिक कार्यसँग जोड्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, “चौका प्रहार गर्दै योगदान पुर्‍याउने खेलाडीलाई हामी धन्यवाद दिन चाहन्छौं । बाँकी खेलहरूले शिक्षामा हुने योगदानलाई अझ विस्तार गर्नेमा हामी विश्वस्त छौं ।”

एनसेलले गत वर्ष पनि एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६५३ चौका बापत र थप गरी देशभर ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १५:५३