एससीटीको कर्पोरेट इन्टरनेट बैंकिङ सेवा सुरु, पहिलो साझेदार बन्यो ग्लोबल आइएमई बैंक
पुस ७, २०८२ १५:५९
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै नयाँ इन्टरनेट बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको छ । स्विफ्ट टेक्नोलोजिजसँगको प्राविधिक सहकार्यमा सुरु गरिएको यो सेवामार्फत ठुला कम्पनीदेखि साना तथा मझौला उद्यम (एसएमई) सम्मले परिष्कृत डिजिटल बैंकिङ सुविधा पाउने कम्पनीले जनाएको छ ।
नयाँ सेवा अन्तर्गत ग्राहकहरूले श्रेणीगत स्वीकृत प्रणाली (Hierarchical Approval Mechanism), मेकर-चेकर प्रक्रिया र बल्क अपलोडमार्फत एकै पटक धेरै कारोबार गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । यसका साथै प्रयोगकर्ताहरूले बिल भुक्तानी, तलब व्यवस्थापन र कोष स्थानान्तरण (फन्ड ट्रान्सफर) जस्ता वित्तीय कार्यहरू सहजै गर्न सक्ने एससीटीले जनाएको छ ।
यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालको पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ । बैंकले ‘बिजनेक्स’ (Biznex) नाममा आफ्ना कर्पोरेट ग्राहकहरूलाई यो सेवा उपलब्ध गराउन थालेको हो । बिजनेक्समार्फत बैंकका ग्राहकले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्नेछन्, जसले डिजिटल बैंकिङमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।
एससीटीले हाल २३ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत कार्ड सेवा उपलब्ध गराइरहेको छ । विगत तीन वर्षदेखि सञ्चालनमा रहेको एससीटीको स्मार्ट बैंकिङ सेवा संस्थाको रिटेल ओम्नी च्यानलका रूपमा स्थापित भइसकेको छ ।
कार्ड सेवाका अतिरिक्त एससीटीले स्मार्ट क्यूआर, स्मार्ट पे आईबीएफटी र मोबाइल बैंकिङ जस्ता बहुआयामिक डिजिटल भुक्तानी सेवाहरू समेत प्रदान गर्दै आएको छ । कर्पोरेट बैंकिङको विस्तारसँगै व्यावसायिक क्षेत्रको कार्यप्रवाह व्यवस्थापन थप मजबुत हुने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १५:५९
