ईभी बजारमा साओमीको आक्रामक लक्ष्य, २०२६ सम्म साढे ५ लाख गाडी बिक्री गर्ने योजना
पुस २२, २०८२ १४:३१
काठमाडौँ । चिनियाँ कम्पनी साओमी विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गर्ने घोषणा गरेको छ । साओमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले हालै एक लाइभ स्ट्रिममार्फत सन् २०२६ सम्ममा साढे पाँच लाख युनिट ईभी डेलिभरी गर्ने महत्त्वाकांक्षी लक्ष्य प्रस्तुत गरेका हुन् ।
यो लक्ष्य सन् २०२५ को तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो । सन् २०२५ का लागि कम्पनीले सुरुमा तीन लाख ५० हजार गाडी डेलिभरी गर्ने लक्ष्य राखे पनि डिसेम्बरको सुरुमै उक्त लक्ष्य पूरा भएको थियो । सन् २०२५ को अन्त्यसम्ममा साओमीले चार लाख १० हजारभन्दा बढी युनिट गाडीहरू ग्राहकलाई हस्तान्तरण गरिसकेको छ ।
मार्च ३०, २०२१ बाट औपचारिक रूपमा अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको साओमीले टेस्ला र अन्य स्थापित चिनियाँ ब्रान्डहरूको कडा प्रतिस्पर्धाका बाबजुद आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याउन खोजेको छ । धेरै विश्लेषकहरूले साओमीको अटो बजारमा प्रवेश ढिलो भएको टिप्पणी गरे पनि कम्पनीले तीव्र गतिमा प्रगति गरिरहेको छ ।
गत वर्षको तेस्रो त्रैमासिकमा एक लाख आठ हजार ७९६ गाडी डेलिभरी गर्दै साओमीको ईभी युनिटले पहिलो पटक नाफा आर्जन गरेको थियो । नयाँ अटो कम्पनीहरूका लागि यति छोटो समयमा नाफामा जानुलाई उद्योगमै विरलै घटनाका रूपमा लिइन्छ ।
सन् २०२६ को साढे पाँच लाखको लक्ष्य भेट्टाउन साओमीले चार नयाँ मोडेलहरू बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीको हालको सफलताको मुख्य आधार ‘एसयू सेभेन’ सेडान र ‘वाईयू सेभेन’ (YU7) एसयूभी रहेका छन् ।
२०२६ को पहिलो ६ महिनामा कम्पनीले ‘एसयू ७’ को परिमार्जित संस्करण र ठुलो क्षमताको ७-सिटे एसयूभी सार्वजनिक गर्ने बताइएको छ । त्यसपछि लक्जरी ‘एक्जुकेटिभ सेडान’ र ५-सिटे एसयूभी बजारमा आउनेछन् ।
साओमीले अब ‘एक्सटेन्डेड रेन्ज’ ईभीमा पनि ध्यान केन्द्रित गर्ने भएको छ । यी गाडीमा सानो पेट्रोल इन्जिन हुनेछ, जसले गुडिरहेको बेला ब्याट्री चार्ज गर्न मद्दत गर्छ । यस प्रविधिले गर्दा चालकहरूलाई चार्जिङ स्टेसनको चिन्ता नगरी लामो दूरीको यात्रा गर्न सहज हुने बताइएको छ ।
गएको डिसेम्बर महिनामा मात्रै साओमीले ५० हजारभन्दा बढी ईभी डेलिभरी गरेको थियो । चीन प्यासेन्जर कार एसोसिएसनको आधिकारिक रिपोर्ट सार्वजनिक हुन बाँकी रहे पनि प्रारम्भिक तथ्याङ्कले साओमी विश्वव्यापी ईभी बजारको प्रमुख खेलाडी बन्ने दिशामा अग्रसर देखिएको छ ।
पछिल्लो अध्यावधिक: पुस २२, २०८२ १४:४५

