close

कसैले नकिनेपछि मन्त्री पुनले सरकारलाई बुझाए आफ्ना सबै पदक, पोखराको २८ रोपनी जग्गा पनि बेच्ने

टेकपाना टेकपाना

माघ ६, २०८२ ९:०

कसैले नकिनेपछि मन्त्री पुनले सरकारलाई बुझाए आफ्ना सबै पदक, पोखराको २८ रोपनी जग्गा पनि बेच्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूले विभिन्न समयमा प्राप्त गरेका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरू नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै मन्त्री पुनले ती पदकहरू मन्त्रालयका सचिव चूडामणि पौडेलमार्फत सरकारलाई दान गरिएको जानकारी दिएका हुन् ।

विगत चार वर्षदेखि ती पदकहरू बिक्री गरेर राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्जस्थित कृषि औजार कारखानालाई आर्थिक सहयोग जुटाउने प्रयास गरे पनि कोही खरिदकर्ता नभेटिएपछि पदकहरू सरकारलाई सुम्पने निर्णय गरेको उनको भनाइ छ ।

“यी पदकहरू बेचेर राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्ज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबैलाई थाहा नै होला । तर चार वर्षसम्म प्रयास गर्दा पनि कसैले किनेनन्,” मन्त्री पुनले फेसबुकमा लेखेका छन्, “त्यसैले नेपाल सरकारको सम्पति भयो ।”

पदकका साथै पुनले पोखराको ठुलाकोटमा रहेको आफ्नो स्वामित्वको २८ रोपनी जग्गा समेत बिक्री गर्ने प्रयास गरिरहेको जानकारी दिएका छन् । उक्त जग्गा बिक्रीबाट प्राप्त हुने रकम समेत वीरगन्ज कृषि औजार कारखानाको सुधार र सञ्चालनका लागि दान गर्ने उनको योजना छ । यद्यपि, हालसम्म उक्त जग्गा पनि बिक्री हुन नसकेको उनले उल्लेख गरेका छन् ।

पुनले आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गरेर आएको आम्दानी पनि कृषि औजार कारखानामै खर्च गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ ६, २०८२ ९:०