close

आफ्नो क्षेत्रका उम्मेदवार को हुन् ? अनलाइनबाटै यसरी हेर्नुहोस् विस्तृत विवरण

टेकपाना टेकपाना

माघ १२, २०८२ १३:४७

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको नामावली र उनीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ । आयोगले प्रविधिमैत्री माध्यमबाट देशभरका १६५ ओटै निर्वाचन क्षेत्रका उम्मेदवारबारे जानकारी लिन सकिने व्यवस्था मिलाएको हो ।

सातै प्रदेशका ७७ ओटा जिल्लामा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारको पूर्ण विवरण अब सर्वसाधारणले घरमै बसेर हेर्न सक्नेछन् । आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध सूचीमा उम्मेदवारको नाम, सम्बन्धित निर्वाचन क्षेत्र, आबद्ध राजनीतिक दल वा स्वतन्त्र हैसियत र उम्मेदवारको चुनाव चिन्ह समावेश गरिएको छ ।

आयोगले उपलब्ध गराएको लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारको सूची देखिनेछ । 

उक्त सूचीमा रहेका कुनै पनि उम्मेदवारको नाममा ‘ट्याप’ गरेपछि उनीहरूको व्यक्तिगत र राजनीतिक पृष्ठभूमि खुल्नेछ ।

जसमा उम्मेदवारको जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना, परिवारका सदस्यको विवरण (बुबा, आमा, पति वा पत्नीको नाम) उल्लेख गरिएको छ । यसका साथै उम्मेदवारको शैक्षिक योग्यता, अनुभव र उम्मेदवारले उल्लेख गर्न चाहेका अन्य विवरण एकै ठाउँमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै निर्वाचन आयोगको वेबसाइटमा जिल्ला अनुसार मतदाताको अद्यावधिक सङ्ख्या हेर्न पनि सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यहाँ रहेको जिल्लाको अप्सन छान्नुहोस् । यति गरेपछि तपाईंले जिल्लाको प्रोफाइल देख्न सक्नुहुन्छ । 

त्यसमा कुन वडा कुन क्षेत्र नम्बरमा पर्छ भन्ने विवरण देखिन्छ । त्यसबाहेक लैङ्गिक रूपमा वर्गीकरण गरेको मतदाताको सङ्ख्या, जिल्ला निर्वाचन अधिकारी, नायब सुब्बा र कम्प्युटर अपरेटरको नाम, फोटो लगायतका विवरण देखिन्छन् ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १७:१