close

नबिल बैङ्कको डिजिटल लाउञ्ज, २४सै घण्टा आफैँ नगद झिक्न, जम्मा गर्न र चेक डिपोजिटको सेवा

टेकपाना टेकपाना

माघ २८, २०८२ १८:२४

नबिल बैङ्कको डिजिटल लाउञ्ज, २४सै घण्टा आफैँ नगद झिक्न, जम्मा गर्न र चेक डिपोजिटको सेवा

काठमाडौँ । नबिल बैङ्कले काठमाडौँको कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैङ्कले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि उक्त सेवा सुरु गरेको हो ।

बैङ्कका अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा डिजिटल लाउञ्ज उद्घाटन गरे । कार्यक्रममा बैङ्कका सञ्चालक प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भूपेन्द्र पाण्डे र आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी र ज्ञानेन्द्र प्रताप शाह लगायत बैङ्कका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

डिजिटल लाउञ्जको उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटल्ली २४सै घण्टा सहजै बैङ्किङ कारोबार गर्न सक्ने बताए । नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैङ्क सधैँ अब्बल रहेको उनको भनाइ थियो ।

डिजिटल लाउञ्जमा ग्राहकहरूले एटीएममार्फत नगद झिक्न, क्याश डिपोजिट मसिनबाट नगद जम्मा गर्न, कियोस्क मसिनमार्फत चेक डिजिटल्ली जम्मा गर्न सक्नेछन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

नबिल बैङ्कका यस्तै प्रकृतिका डिजिटल लाउञ्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन् । यस डिजिटल लाउञ्ज सेवा बिस्तारसँगै नबिल बैङ्कले परम्परागत काउन्टरमा आधारित सेवामा निर्भरता कम गर्दै डिजिटल बैङ्किङतर्फको यात्रालाई थप सशक्त बनाएको छ । 

ग्राहक सुविधा, सेवा पहुँच, विस्तार र प्रविधिको प्रभावकारी प्रयोगमार्फत नबिल बैङ्कले डिजिटल बैङ्किङ केन्द्रका रूपमा विकासको लक्ष्य लिएको छ । बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम मसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

२५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणा अनुरूप डिजिटल बैङ्किङका लागि एनबैङ्क समेत सञ्चालनमा ल्याएको छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १८:४१