close

भ्रामक र अतिरञ्जित सूचनाको पछि नलाग्नू: सेना

टेकपाना टेकपाना

फागुन २०, २०८२ १८:३६

भ्रामक र अतिरञ्जित सूचनाको पछि नलाग्नू: सेना

काठमाडौँ । नेपाली सेनाले भोलि हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आफ्नो संस्थालाई जोडेर फैलाइएका भ्रामक र अतिरञ्जित सूचनाको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेको छ । बुधबार फेसबुकमा एक पोस्ट राख्दै सेनाले निर्वाचन सुरक्षाका विषयमा फैलाइएका सुनियोजित र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

आफ्नो गैर-राजनीतिक चरित्र र संवैधानिक जिम्मेवारीप्रति सदैव सचेत रहेको स्पष्ट पार्दै सेनाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएको छ । एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य गर्दै सुरक्षा कार्यहरू भइरहेको सेनाको भनाइ छ ।

“नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ,” पोस्टमा भनिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा सेनाको सन्दर्भ जोडेर विभिन्न अपुष्ट र भ्रामक सूचनाहरू सार्वजनिक हुन थालेपछि सेनाले यस्तो प्रष्टीकरण दिएको हो ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १८:४४