close

चिनियाँ ईभीको भीडमा महिन्द्रा नै किन ? यस्तो छ गाडी धनीको रिभ्यु

टेकपाना टेकपाना

फागुन २५, २०८२ १३:४१

चिनियाँ ईभीको भीडमा महिन्द्रा नै किन ? यस्तो छ गाडी धनीको रिभ्यु

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा अहिले विद्युतीय सवारी साधन (ईभी) को लहर चलेको छ । विशेषगरी सडकमा चिनियाँ इभीहरूको बाहुल्यता बढिरहेका बेला भारतीय अटोमोबाइल जायन्ट महिन्द्राले आफ्नो महत्त्वाकाङ्क्षी 'प्योर ईभी' प्लेटफर्ममा आधारित महेन्द्रा बीई ६ ल्याएर सबैको ध्यान खिचेको छ ।

टेकपानाको विशेष प्रस्तुति अनर्स रिभ्युमा प्रस्तोता जय प्रधानले यो गाडीलाई देख्ने बित्तिकै भनेका छन्, "एउटा भारतीय निर्माताले यस्तो डिजाइनको गाडी निकाल्न सक्छ भन्ने मैले सोचेको पनि थिइनँ । यो केवल इन्टरनेसनल ब्रान्डहरूले मात्र गर्ने काम थियो, तर महेन्द्राले प्योर इन्डियन इन्जिनियरिङमार्फत यो सम्भव तुल्याएको छ ।"

यसै सन्दर्भमा विगतमा दुबईमा विलासी गाडीहरू चलाइसकेका र प्रविधिको क्षेत्रमा निकै रुचि राख्ने युवा व्यवसायी कुशल तिमल्सिनाले आफ्नो नयाँ महिन्द्रा बीई ६ सँगको करिब ३,२०० किलोमिटरको यात्रा अनुभव टेकपानासँग साटेका छन् ।

 

चिनियाँ ईभीको भीडमा महेन्द्रा नै किन ?

अहिले बजारमा धेरै चिनियाँ ईभीहरू उपलब्ध छन्, जसमा फिचर र प्रविधिको भरमार उपस्थिति छ । तर कुशलले महिन्द्रा रोज्नुको पछाडि निकै व्यावहारिक र दूरगामी कारणहरू छन् । टेकपानासँगको कुराकानीमा उनले भने, "चिनियाँ गाडीहरू अहिले निकै राम्रा देखिए पनि दीर्घकालीन रूपमा तिनको पार्टपुर्जा पाउन गाह्रो हुन सक्छ । यदि कुनै सामान बिग्रियो भने चीनबाट मगाउनु निकै खर्चिलो र झन्झटिलो हुन्छ । तर महिन्द्रा त हामीले सानैदेखि देखेको र विश्वास गरेको कम्पनी हो ।"

यदि नेपालमा सामान पाइएन भने पनि भारतको सीमासम्म पुगेर वा अमेजनबाट अर्डर गरेर सजिलै पार्ट्स ल्याउन सकिने उनको तर्क छ । साथै धेरै नयाँ चिनियाँ कम्पनीहरू भविष्यमा बजारमा टिक्छन् कि नाइँ भन्ने शङ्का रहँदा महिन्द्रा जस्तो स्थापित ब्रान्ड भाग्ने डर नभएको उनले बताए । उनले कतिपय चिनियाँ कम्पनीले पुराना प्रविधिलाई नयाँ जलप लगाएर डम्पिङ गरिरहेको हुन सक्ने आशङ्का पनि व्यक्त गरे ।

 

डिजाइन

महिन्द्रा बीई ६ को डिजाइनले पहिलो नजरमै जोसुकैलाई आकर्षित गर्छ । कुशलले आफ्नो गाडीको लागि 'डेजर्ट मिस्ट म्याट' रङ रोजेका छन् । नेपालको धुलाम्य भइरहने सडकमा म्याट रङ निकै व्यावहारिक हुने उनको अनुभव छ । "म्याट रङमा धुलो र फोहोर धेरै देखिँदैन, जसले गर्दा हरेक पटक गाडी सफा गरिरहनु पर्दैन," उनले टेकपानालाई बताए ।

गाडीको अगाडिको भागमा 'फ्रंक' स्पेस छ, जहाँ उनले चार्जर, गाडी पुछ्ने डस्टर र अन्य साना सामानहरू राख्ने गरेका छन् । यसले गर्दा पछाडिको मुख्य डिक्की स्पेस अन्य ठुला सामानका लागि जोगिएको छ । गाडीमा ५४० डिग्री क्यामेरा छ, जसले जमिनको सतह समेत देखाउँछ ।

क्यामेराको क्वालिटी उत्कृष्ट भए तापनि त्यसलाई हेर्ने मनिटर वा स्क्रिनको साइज भने अलि सानो भएको महसुस उनले गरेका छन् । रातको समयमा यसको डीआरएल र हेडलाइटको पावर निकै राम्रो रहेको र कुहिरो लागेको बेला पनि यसले बाटो स्पष्ट देखाउने कुशलको अनुभव छ ।

 

पर्फर्मेन्स र रेन्ज: पहाडदेखि तराईसम्म

कुशलले यो गाडीलाई काठमाडौँबाट हेटौँडा, चितवन, पोखरा, सराङकोट र वीरगञ्जसम्म पुर्‍याइसकेका छन् । यहाँसम्म कि उनले पनौतीको निकै खराब अफरोड बाटोमा पनि यसको परीक्षण गरेका छन् । "पनौतीको अफरोडमा जाँदा गाडी कतै ठोक्किन्छ कि भन्ने डर थियो, तर २०७ एमएमको ग्राउन्ड क्लियरेन्सले गर्दा गाडीले कतै पनि छोएन," उनले खुसी हुँदै भने ।

रेन्जको सन्दर्भमा भारतमा ४८० किलोमिटर दाबी गरिए तापनि नेपालको बाटोमा उनले सन्तोषजनक नतिजा पाएका छन् । काठमाडौँबाट हेटौँडा र चितवन हुँदै पोखरा पुग्दा उनको गाडीमा अझै १५ प्रतिशत ब्याट्री बाँकी थियो । रोचक कुरा त के छ भने उनले यो यात्रा 'रेन्ज मोड' मा र म्युजिक बजाएर तय गरेका थिए, यद्यपि उनले एसी भने चलाएका थिएनन् ।

गाडीको स्टेबिलिटीको बारेमा चर्चा गर्दै उनले भने, "यो गाडी हेर्दा एरोप्लेन जस्तो देखिए पनि सडकमा गुड्दा भुइँमा टाँसिएर हिँड्छ । हाइवेमा उच्च गतिमा चलाउँदा पनि गाडी अनस्टेबल फिल हुँदैन ।"

 

इन्टेरियर: एयरक्राफ्टको ककपिट र आधुनिक प्रविधि

गाडी भित्र छिर्दा कुनै अत्याधुनिक लडाकु विमानको 'ककपिट' मा बसेको जस्तो अनुभूति हुने कुशल बताउँछन् । स्टेयरिङ निकै रेस्पोन्सिभ छ र यसमा बुस्ट मोड, रिजेनेरेसन लेभल कन्ट्रोल, लेन असिस्ट र क्रुज कन्ट्रोल जस्ता बटनहरू निकै उपयोगी स्थानमा राखिएका छन् ।

गाडीमा दुईवटा स्क्रिन छन् । एउटाले गाडीको स्पिड र अन्य प्राविधिक विवरण देखाउँछ भने अर्कोले इन्फोटेनमेन्टको काम गर्छ । अगाडिको क्यामेराले सडकका साइनबोर्डहरू समेत पढ्ने (साइन-बोर्ड रिकग्निसन) प्रविधि यसमा रहेको जानकारी उनले दिए । वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेले गर्दा मोबाइल कनेक्ट गर्न तारको झन्झट नरहेको र यात्रा गर्दा बिजनेस मेसेजहरू रिड आउट हुने फिचरले कामलाई सहज बनाएको उनले बताए ।

गाडीका सिटहरू 'लेदरेट' र 'फ्याब्रिक' को सम्मिश्रणबाट बनेका छन्, जसले रेसिङ कारको जस्तो स्पोर्टी लुक्स दिन्छ । ढोका खोल्नका लागि प्रयोग गरिएको स्ट्र्याप निकै युनिक छ, जुन प्रायः पोर्से जस्ता विलासी रेसिङ कारहरूमा मात्र देखिन्छ ।

 

सर्भिसिङमा तीतो अनुभव

प्रविधि जतिसुकै राम्रो भए पनि नेपालमा सर्भिसिङको अवस्था अझै चुनौतीपूर्ण रहेको कुशलको अनुभवले देखाउँछ । गाडी किनेको केही समयमै टायर र सफ्टवेयर अपडेटका लागि उनले गाडी सर्भिस सेन्टरमा पठाएका थिए । तर, नयाँ मोडेल भएकोले वा अन्य प्राविधिक कारणले गर्दा उनले ५ दिनसम्म गाडी फिर्ता पाएनन् ।

"मेरो बिजिनेस छ, गाडी मात्र दौडाएर हिँड्न सम्भव छैन," उनले अलि नमिठो महसुस गर्दै भने । पाँचौँ दिनमा पनि बेलुका ७ बजेसम्म गाडी नआउँदा र आफ्ना आफन्तको जन्मदिनको पार्टीमा जान ढिलो हुँदा उनले निकै तनाव झेल्नु पर्‍यो । अन्ततः बेलुका ७:३६ मा मात्र गाडी घर आइपुगेको थियो ।

साथै एक पटक गाडी चलाइरहेकै बेला दुवै स्क्रिन अचानक 'ब्ल्याङ्क' (अफ) भएको समस्या पनि उनले सुनाए । त्यस बेला स्पिडोमिटर, म्युजिक र एसी सबै बन्द भएको थियो । पछि कम्पनीको प्राविधिक टोलीले सफ्टवेयर अपडेट गरेपछि यो समस्या समाधान भयो ।

 

केही कमीकमजोरी र सुधारका पक्ष

कुशलले बीई ६ मा केही सुधारका पक्षहरू पनि औँल्याएका छन् । पहिलो, गाडीको भित्री लेग स्पेस र उचाइ अलि कम भएको उनले महसुस गरेका छन् । ग्राउन्ड क्लियरेन्स राम्रो भए पनि भित्र बस्दा अलि खाँदिएको जस्तो महसुस हुने उनको अनुभव छ ।

दोस्रो, भारतमा उपलब्ध हुने टप-एन्ड भेरियन्टमा मुनरुफ र एम्बिएन्ट लाइट जस्ता फिचरहरू छन् । तर नेपालमा ल्याइएको टप-एन्ड मोडेलमा यी कुराहरू नहुनुले उनलाई अभाव खड्किएको छ । "यदि पछि यी फिचर भएका गाडी आए भने म यो गाडी साटेर अर्को लिन पनि तयार छु," उनी भन्छन् ।

 

रेटिङ

समग्रमा कुशल तिम्सिना महेन्द्रा बीई ६ सँग निकै खुसी छन् । उनले यो गाडीलाई १० मा ९ अङ्क दिएका छन् । १ अङ्क चाहिँ उनले अघि उल्लेख गरेका लेग स्पेसको समस्या र पेट्रोल इन्जिनको गाडी चलाउँदाको पुरानो यादका कारण काटेका हुन् ।

उनको सुझाव छ, "यदि तपाईंलाई रेसिङ कारको जस्तो फिल, बलियो ग्राउन्ड क्लियरेन्स र भरपर्दो ब्रान्ड चाहिएको छ भने महिन्द्रा बीई ६ एक उत्कृष्ट रोजाइ हुन सक्छ ।" टेकपानाको यो अनर्स रिभ्युले नयाँ गाडी किन्न चाहने धेरै नेपाली ग्राहकहरूलाई एक वास्तविक प्रयोगकर्ताको आँखाबाट गाडीको गुण र दोष दुवै बुझ्न मद्दत पुर्‍याउने अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ १३:४३