close

प्रधानमन्त्री कार्यालयका आधिकारिक सामाजिक सञ्जाल निष्क्रिय, व्यक्तिगत ह्यान्डलमै व्यस्त सुशीला कार्की

टेकपाना टेकपाना

फागुन २९, २०८२ १८:१७

प्रधानमन्त्री कार्यालयका आधिकारिक सामाजिक सञ्जाल निष्क्रिय, व्यक्तिगत ह्यान्डलमै व्यस्त सुशीला कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आधिकारिक सामाजिक सञ्जालका अकाउन्ट निष्क्रिय बन्न पुगेका छन् । २३ र २४ भदौको जेन-जी विद्रोहपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्की आफ्नो कार्यालयका आधिकारिक प्लेटफर्मलाई बेवास्ता गर्दै व्यक्तिगत ह्यान्डलमा मात्र सक्रिय रहेको पाइएको छ ।

जेन-जीको मागबमोजिम २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त हुँदा कार्कीको आधिकारिक सामाजिक सञ्जाल थिएन । प्रधानमन्त्रीको कार्यालयबाट आउने सूचनासमेत रोकिएपछि र प्रधानमन्त्रीको आधिकारिक अकाउन्ट नहुँदा अनेकौँ नक्कली अकाउन्ट बन्न थाले । नक्कली अकाउन्टको बिगबिगी यतिसम्म बढ्यो कि, अर्थमन्त्री रामेश्वर खनालले समेत प्रधानमन्त्रीको नामको नक्कली फेसबुक अकाउन्टलाई फलो गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि २० असोजमा मात्र कार्कीको नाममा व्यक्तिगत सामाजिक सञ्जालका अकाउन्टहरू खोलिए । तर, त्यसमा ‘भेरिफाइड चेकमार्क’ नहुँदा त्यही नामका थप नक्कली अकाउन्ट खुल्ने क्रम चलिरह्यो ।

पछि प्रधानमन्त्री कार्यालयले कार्कीको आधिकारिक अकाउन्ट खुलेको जानकारी दियो । कार्यालयको ‘एक्स’ ह्यान्डलबाट ५ अक्टोबर २०२५ मा उक्त पोस्ट ‘रिपोस्ट’ गरियो । त्यसयता कार्यालयको एक्स ह्यान्डलबाट प्रधानमन्त्री कार्कीको कुनै पनि नयाँ पोस्ट, सूचना वा जानकारी राखिएको छैन ।

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनका बेला पनि कार्यालयको एक्स ह्यान्डल विवादमा तानिएको थियो । २४ भदौमा तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिए पनि कार्यालयको एक्स ह्यान्डल र वेबसाइटमा प्रधानमन्त्रीका रूपमा ओलीलाई नै राखिएको थियो । अकाउन्ट ओलीकै नियन्त्रणमा रहेको भन्दै तीव्र आलोचना भएपछि सचिवालयले सामाजिक सञ्जालका अकाउन्ट प्रधानमन्त्री कार्यालयको सचिवालयसँगै हुने र आफूले नै अपडेट गर्ने जानकारी दियो ।

नियमको ठाडो उल्लङ्घन

प्रधानमन्त्री कार्यालय आफैँले बनाएको नियमविपरीत हाल आधिकारिक अकाउन्ट सञ्चालनविहीन छन् । ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ को परिच्छेद (१) दफा (५) को उपदफा (१) ले ट्वीटर अकाउन्ट दैनिक र नियमित सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, उपदफा (४) मा आवश्यकता र समयानुकूल कार्यालयका सूचना तथा जानकारी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । निर्देशिकाले कार्यालयको उद्देश्यलाई सघाउने विचारलाई लाइक, मेन्सन वा रिट्वीट गर्न सकिने व्यवस्था गरे पनि हाल यसको अभ्यास शून्य छ ।

अहिले कार्यालयको फेसबुक पेज, इन्स्टाग्राम र टिकटक अकाउन्ट पूर्ण रूपमा निष्क्रिय छन् । जबकि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो व्यक्तिगत फेसबुकमा २२३ र एक्समा ३२७ ओटा पोस्ट गरिसकेकी छन् । तर, कार्यालयको एक्स ह्यान्डलबाट एउटा पोस्ट रिपोस्ट गर्ने बाहेक अन्य काम भएको छैन भने फेसबुक पेज निष्क्रिय छ ।

विगतमा सक्रिय थियो अकाउन्ट

७ लाख १७ हजारभन्दा बढी फलोअर रहेको प्रधानमन्त्री कार्यालयको एक्स ह्यान्डल विगतमा भने निकै सक्रिय थियो । सन् २०१५ मा खोलिएको उक्त ह्यान्डलको युजरनेम (@PM_nepal_) हालसम्म तीन पटक परिवर्तन गरिएको छ । अन्तिम पटक युजरनेम जुलाई २०२१ मा अपडेट गरिएको थियो । निर्देशिका अनुसार ट्वीटर ह्यान्डलको नाम आम सर्वसाधारणले सहज रूपमा संस्थाको पहिचान गर्न सक्ने गरी छान्नुपर्ने हुन्छ । यसको अर्थ प्रधानमन्त्री कार्यालयको युजरनेम (@PMONepal) हुनुपर्ने हो । तर, यो ह्यान्डल २०१२ मै रिजर्भ भइसकेको थियो । 

शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री हुँदा सन् २०१७ मा @nepal_PMO युजरनेमको ह्यान्डल सञ्चालनमा आएको थियो । तर, सन् २०१८ मा प्रधानमन्त्रीबाट बाहिरिएपछि उक्त ह्यान्डल निस्क्रिय रह्यो । त्यसको नाम पनि परिवर्तन गरेर ‘शेरबहादुर देउवा सचिवालय’ राखियो ।

यता @PM_nepal_ ह्यान्डलबाट भने ३ अगस्ट २०१८ देखि सक्रिय भएको देखिन्छ । पहिलो पटक ‘Archive’ लेखेर पोस्ट गरिएको थियो । 

 २३ जुन २०२३ मा पहिलो पोस्ट राखिएको थियो । पहिलो पोस्टमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ बेलायती राजदूत निकोला पोलिटसँग भेटवार्ता गरेको पोस्ट राखिएको थियो । त्यसयता उक्त अकाउन्टबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा सरकारका कामकारबाही, कार्यक्रम र अन्तर्राष्ट्रिय भेटघाटका जानकारी दिन नियमित प्रयोग हुन्थ्यो । दाहालले व्यक्तिगत अकाउन्टमा राखेका पोस्ट कार्यालयबाट रिपोस्ट हुँदैन थिए ।

दाहालपछि ओली प्रधानमन्त्री हुँदा पनि अकाउन्ट उत्तिकै सक्रिय रह्यो । ओलीको पालामा भने उनका व्यक्तिगत अकाउन्टका केही पोस्टहरू कार्यालयको अकाउन्टबाट रिपोस्ट हुन्थे भने कार्यालयले प्रधानमन्त्रीका काम, छलफल र अन्य सूचना नियमित राख्ने गर्थ्यो । तर, नेतृत्व परिवर्तनसँगै यो अकाउन्ट सुस्ताएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास के छ ?

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने नेतृत्व परिवर्तन भए पनि संस्थागत अकाउन्ट निकै सक्रिय रूपमा सञ्चालन हुने गरेका छन् । छिमेकी राष्ट्र भारतमा प्रधानमन्त्री कार्यालयको एक्स ह्यान्डल (PMO India) बाट नियमित रूपमा कार्यालयका जानकारी, नयाँ सूचना अपडेट गर्ने र कोट रिपोस्ट गर्ने गरिन्छ । त्यहाँबाट नियमितजसो पोस्टहरू आइरहेका हुन्छन् ।

मित्र राष्ट्र बेलायतमा पनि प्रधानमन्त्री कार्यालयको छुट्टै एक्स ह्यान्डल (@10DowningStreet) हुने व्यवस्था छ । प्रधानमन्त्री फेरिंदा पनि कार्यालयले यही ह्यान्डललाई निरन्तरता दिने गरेको छ ।

त्यस्तै, अमेरिकामा कार्यकारी भूमिकामा रहेको राष्ट्रपति कार्यालयको एक्स अकाउन्ट ‘ह्वाइट हाउस’ (The White House) र राष्ट्रपतिको छुट्टै आधिकारिक ह्यान्डल (@POTUS) नियमित रूपमा सक्रिय रहन्छन् । अमेरिकामा राष्ट्रपति परिवर्तन एक्स ह्यान्डल (@POTUS) को युजरनेम परिवर्तन गरेर आर्काइभ गर्ने र नयाँ राष्ट्रपतिका लागि (@POTUS) उपलब्ध गराउने गराई नियमित जसो पोस्ट राख्ने गरेको अभ्यास छ ।

नेपालमा भने संस्थागत अकाउन्टलाई बेवास्ता गर्दै व्यक्तिगत अकाउन्टलाई मात्र प्राथमिकता दिने प्रवृत्ति देखिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १८:१९