close

१ करोड १६ लाख नगदसहित हुन्डी र क्रिप्टोको अवैध कारोबारमा संलग्न दुई जना पक्राउ

टेकपाना टेकपाना

चैत २, २०८२ १७:२१

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा काठमाडौँको नागार्जुन नगरपालिका-८, भीमढुङ्गाबाट २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोदप्रसाद धिताल पक्राउ परेका हुन् ।

आइतबार पक्राउ परेका उनीहरूबाट प्रहरीले एक करोड १६ लाख रुपैयाँ नगद बरामद गरेको प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार नगदका साथै विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन थान चेक, विभिन्न व्यक्तिको नाममा रहेको तीन थान चेकबुक र चार थान एटीएम कार्ड समेत बरामद भएका छन् ।

डिजिटल मुद्रा कारोबारतर्फ उनीहरूको बाइनान्स खातामा सात हजार १७५.३४ यूएसडीटी मौज्दात रहेको पाइएको प्रहरीले जनाएको छ ।

साथै, आरोपीहरूले प्रयोग गरेका दुई थान चारपाङ्ग्रे र एक थान दुईपाङ्ग्रे सवारीसाधन, अवैध कारोबार सञ्चालन गर्न प्रयोग गरिएका ६ थान मोबाइल फोन, ३१ थान एनसेल तथा एनटीसीका सिमकार्ड र १ थान कम्प्युटर सेट समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: चैत २, २०८२ १७:२१