close

मिरा ईआरपीमा थपियो कर्जा व्यवस्थापनसम्बन्धी नयाँ मोड्युल, ७०० बढी सहकारीलाई डिजिटलाइज गर्दै

टेकपाना टेकपाना

चैत १२, २०८२ १४:३८

मिरा ईआरपीमा थपियो कर्जा व्यवस्थापनसम्बन्धी नयाँ मोड्युल, ७०० बढी सहकारीलाई डिजिटलाइज गर्दै

 

काठमाडौँ । नेपालको सहकारी क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ तयार पारिएको सफ्टवेयर मिरा ईआरपीले आफ्नो प्लेटफर्ममा नयाँ फिचर थप गरेको छ । क्लाउडमा आधारित आफ्नो सफ्टवेयरमा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरिएको जानकारी डेभलपर कम्पनी नियोसिस टेक्नोलोजीले दिएको हो ।

यो प्रणालीले सहकारीहरूलाई आफ्ना सदस्यहरूबिच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउने दाबी कम्पनीको छ । साथै साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई समेत यसले थप सरल बनाउने छ ।

नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउनेछ । मिरा ईआरपीको सिङ्गल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने उनले बताए ।

जसले गर्दा सहकारीहरूमा विद्यमान सदस्य पहिचान (KYM) सम्बन्धी समस्या प्रभावकारी रूपमा समाधान हुनेछ । यो प्रणालीमा फाइभ सी एनालाइसिस, सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्याङ्कन र पुराना कारोबारको इतिहास आफैँ विश्लेषण गर्नेसम्मको क्षमता समावेश छ । यसबाट जोखिम न्यूनीकरण हुनुका साथै वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ ।

सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरणदेखि सम्पत्ति शुद्धीकरण सम्बन्धी टीटीआरसम्मका रिपोर्ट मिरा ईआरपीले एक्सेल वा एक्सएमएल फर्म्याटमा सजिलै उपलब्ध गराउँछ । यसका साथै स्थानीय निकाय, सहकारीका सङ्घ, महासङ्घ र सहकारी नियमन प्राधिकरणमा दर्ता तथा रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ ।

हाल बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ । मिरा सफ्टवेयरले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने गरी काम गरिरहेको कम्पनीले जनाएको छ ।

सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१:२०२२ प्रमाणित यो सफ्टवेयरले कर्जा र धितोका संवेदनशील विवरणहरूलाई 'डिजिटल डकुमेन्ट भल्ट' मार्फत सुरक्षित राख्दछ । कम्पनीका अनुसार हालसम्म मिरा ईआरपीमा ७०० भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेका छन् । जसमार्फत् बचत तथा ऋण व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैङ्किङ र एसएमएस अलर्ट जस्ता सुविधाहरू प्रदान गर्दै आइएको छ ।

उच्च स्केलेबल सास क्लाउड प्रविधिमा आधारित भएकाले यो सफ्टवेयर प्रयोग गर्न सहकारीलाई कुनै अतिरिक्त भौतिक पूर्वाधार, सर्भर वा फायरवालको आवश्यकता पर्दैन । यसले नेपालका सहकारीहरूलाई आधुनिक बैङ्किङ एवं डिजिटल वालेट सरहको सुविधा प्रदान गर्न सक्षम बनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १४:३८