close

बढेको गाडी भाडा विद्युतीय सवारीमा लागु नहुने

टेकपाना टेकपाना

चैत २५, २०८२ १८:१७

बढेको गाडी भाडा विद्युतीय सवारीमा लागु नहुने

काठमाडौँ । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाए पनि विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने पुरानै भाडादर कायम हुने भएको छ । बुधबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले इन्धनको मूल्यवृद्धिका आधारमा गरिएको भाडा समायोजन विद्युतीय सवारीको हकमा लागु नहुने स्पष्ट पारेको हो ।

बुधबारदेखि लागु हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक सवारीको भाडा २१.६८ प्रतिशतसम्म बढाइएको छ । तर, यो वृद्धि डिजेल र पेट्रोलबाट चल्ने सवारीका लागि मात्र भएको विभागको भनाइ छ ।

इन्धनको मूल्यमा भएको उतारचढावका आधारमा स्वचालित प्रणालीमार्फत भाडा तोकिने भएकाले इन्धन प्रयोग नगर्ने विद्युतीय सवारीको भाडा नबढाइएको विभागले जनाएको छ ।

विभागका अनुसार डिजेलको औसत बजार मूल्य प्रतिलिटर रु. १५०.८३ हुँदा २०८१ पुस २२ गते अन्तिम पटक भाडा समायोजन गरिएको थियो । त्यसयता इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढीले परिवर्तन आएकाले स्वचालित प्रणालीअनुसार भाडा बढाउनुपरेको विभागले उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १८:३३