close

सरकारले ल्यायो पर्यटकका सवारीसाधन दर्ता गर्ने पोर्टल, तर सिस्टम इररले गर्दा हुँदैन काम

टेकपाना टेकपाना

बैशाख २३, २०८३ १२:५३

सरकारले ल्यायो पर्यटकका सवारीसाधन दर्ता गर्ने पोर्टल, तर सिस्टम इररले गर्दा हुँदैन काम

काठमाडौँ । अर्थ मन्त्रालयले मङ्गलबारदेखि सुरु गरेको ‘टेम्पोररी इम्पोर्ट अफ भेहिकल (टीआईभी)’ प्रणालीमा दर्ता गर्नै समस्या हुने गरेको पाइएको छ । भारतीय पर्यटक तथा भारत हुँदै स्थलमार्गबाट आफ्नै सवारीसाधन लिएर नेपाल आउने पर्यटकको सहजीकरणका लागि मन्त्रालयले अनलाइनबाटै सवारीसाधनको विवरण भर्न र राजस्व तिर्न सकिने गरी यो प्रणाली विकास गरेको हो ।

तर टेकपानाले गरेको परीक्षणका क्रममा उक्त प्रणालीमा प्राविधिक समस्या रहेको पाइएको छ । परीक्षण गर्दा पोर्टलमा कागजात अपलोड नै नहुने र त्यसपछिको प्रक्रिया अगाडि नबढ्ने समस्या देखिएको हो ।

खासगरी टीआईभी पोर्टलमा सामान्य जानकारी (नाका, बस्ने दिन, ठाउँ आदि), चालकको विवरण र सवारीसाधनको जानकारी राख्ने ठाउँ खुल्छ । त्यसपछि कागजात अपलोड गर्ने सेक्सनमा पुगिन्छ । 

तर त्यहाँ कागजात राख्ने विकल्प नै नदेखिने समस्या छ । पोर्टलमा ‘Request Failed with status code 401’ लेखिएको एरर देखिन्छ । जसले गर्दा कागजात राख्न मिल्दैन र त्यसपछिको पेज पनि खुल्दैन ।

यसबारे टेकपानासँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले उक्त समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए । उनले भने, “हिजोदेखि औपचारिक रूपमा सुरु गरे पनि प्रणालीमा अझै केही समस्या आइरहेका छन् । अन्य सेवाग्राहीले पनि यस्तो समस्या आएको गुनासो गर्नुभएको छ । हाम्रो प्राविधिक टोलीले यसलाई समाधान गर्ने प्रयास गरिरहेको छ ।”

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १२:५७