close

१०० मेगापिक्सेलको ‘स्क्वायर’ सेल्फी क्यामेरा ल्याउँदै ओप्पो, आईफोन १७ लाई उछिन्ने दाबी

टेकपाना टेकपाना

बैशाख २९, २०८३ १५:१५

१०० मेगापिक्सेलको ‘स्क्वायर’ सेल्फी क्यामेरा ल्याउँदै ओप्पो, आईफोन १७ लाई उछिन्ने दाबी

काठमाडौँ । चिनियाँ कम्पनी ओप्पोले स्मार्टफोनको सेल्फी क्यामेरामा फड्को मार्ने तयारी गरेको छ । पछिल्लो समय लिक भएको एक विवरण अनुसार ओप्पोले आफ्नो आगामी स्मार्टफोनमा १०० मेगापिक्सेलको १:१ रेसियो भएको 'स्क्वायर' (वर्गाकार) सेन्सर परीक्षण गरिरहेको छ ।

टिपस्टर 'डिजिटल च्याट स्टेसन' ले सार्वजनिक गरेको जानकारी अनुसार, एक प्रमुख एन्ड्रोइड स्मार्टफोन निर्माता कम्पनीले अहिले फ्रन्ट-फेसिङ (अगाडिको) क्यामेराका लागि १:१ स्क्वायर सेन्सरको मूल्यांकन गरिरहेको छ । उक्त पोस्टमा प्रयोग गरिएको इमोजीका आधारमा यो स्मार्टफोन ओप्पो कम्पनीकै हुने सङ्केत मिलेको छ ।

एप्पलले आफ्नो आगामी आईफोन १७ सिरिजमा पहिलो पटक १:१ स्क्वायर सेन्सर प्रयोग गर्ने चर्चा फेब्रुअरीदेखि नै चल्दै आएको थियो । एप्पलले आईफोन १७ मा १८ मेगापिक्सेलको यस्तो सेन्सर राख्ने तयारी गरेको छ । तर, ओप्पोले एप्पलको भन्दा निकै शक्तिशाली अर्थात् १०० मेगापिक्सेलको अत्याधुनिक सेन्सर परीक्षण गरिरहेको बताइएको छ ।

यो नयाँ प्रविधिको मुख्य विशेषता भनेको प्रयोगकर्ताले फोनलाई नघुमाइकनै पोर्ट्रेट वा ल्यान्डस्केप दुवै ढाँचामा गुणस्तरीय सेल्फी वा भिडिओ खिच्न सक्नेछन् । सेन्सर आफैँमा वर्गाकार हुने भएकाले जुनसुकै पोजिसनमा फोन समात्दा पनि फ्रेममा कुनै सम्झौता गर्नुपर्ने छैन ।

यद्यपि ओप्पोले यस विषयमा आधिकारिक पुष्टि गरिसकेको छैन, तर प्रविधि विज्ञहरूका अनुसार यो अत्याधुनिक क्यामेरा अपग्रेड ओप्पोको आगामी फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्स १० सिरिजमा देख्न सकिनेछ ।

यो सिरिज आगामी अक्टोबर महिनामा विश्व बजारमा सार्वजनिक हुने चर्चा छ । यसअघि चिनियाँ कम्पनी ह्वावेले पनि आफ्ना फोनहरूमा यस्तै प्रविधि प्रयोग गर्न सक्ने हल्ला चलेको थियो ।

 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ १५:३८