close

तीन महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोडले नाघे

टेकपाना टेकपाना

भदौ १९, २०७८ १३:१०

तीन महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोडले नाघे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता नौ करोड नाघेका छन् ।

कम्पनीले सन् २०२१ को अन्त्यसम्म ३० करोड उपकरणमा हार्मोनी ओएसको पहुँच विस्तार गर्ने योजना लिएको छ । यसअनुरूप कम्पनीले इन्टरनेट अफ थिङ्स र स्मार्ट ग्याजेटमा तीव्र रूपमा ओएस विस्तार गरिरहेको छ ।

जीएसएम एरेनाकाे रिपाेर्ट अनुसार पछिल्लो एक हप्तामा मात्रै दुई करोड उपकरणमा हार्मोनी ओएस इन्स्टल भएको छ । कम्पनीले पुराना उपकरणहरुलाई हार्मोनीमा स्विच गरिरहेकाले पनि यो संख्या एकैपटक बढेको हो ।

ह्वावे कन्जुमर बिजनेश ग्रुपका सीईओ रिचार्ड यूका अनुसार हाल हरेक सेकेन्डमा ८ डिभाइस हार्मोनी ओएसमा स्विच भएका छन् ।

संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन ।

यस्तोमा कम्पनीले विकल्पको रुपमा आफ्नै ओएस सार्वजनिक गरेको हो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण कम्पनीले आफ्नो व्यवसाय पनि विस्तार गुमाउँदै गएको छ ।

व्यवसाय गुमाउँदै गएको अहिलेको अवस्थामा डिभाइस सेक्सनको व्यापारलाई विस्तार गर्नु कम्पनीका लागि चुनौती विषय बनिरहेको छ ।

त्यसैले पनि कम्पनीले आफूले सार्वजनिक गरेको ओएसलाई जतिसक्दो छिटो बजारमा फैलाउन काम गरिरहेको छ ।

हुन त अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालोसूचीमा राखेलगत्तै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो ।

तर, उक्त हार्मोनी ओएस पूर्णरुपमा गुगलको एन्ड्रोइडमै आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रोडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो । त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।

उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३