close

प्रविधिले यसरी सहज बनाउँदै छ श्रमिकको दैनिकी

टेकपाना टेकपाना

भदौ १९, २०७८ १४:१

प्रविधिले यसरी सहज बनाउँदै छ श्रमिकको दैनिकी

काठमाडौं । सेजर डेभिड गोन्जालवेज घरमा रङ्ग लगाउनेदेखि काठका विभिन्न सामाग्रीहरू बनाउने, मर्मत गर्नेसम्मका काम गर्छन् । उनी अमेरिकास्थित लस लस एन्जलसको सबैभन्दा धेरै गर्मी हुने ठाउँमध्ये एक स्यान फर्नान्डोमा बसोबास गर्छन् ।

५६ वर्षीय गोन्जालवेज ४० डिग्रीभन्दा माथि तापक्रममा हप्ताको सातै दिन काम गर्छन् । उनी लगायत उनको समूहमा काम गर्ने साथीहरू सूर्यको किरणको आधारमा कतातिर उभिएर काम गर्दा ठीक हुन्छ भनेर बुझ्न काममा जानुअघि सधैं मौसमको जानकारी लिन्छन् ।

अत्याधिक गर्मीलाई छल्न जुलाई र अगस्ट महिनामा उनीहरु अरु बेलाको भन्दा एक घण्टाअघि नै काम सुरु गरे । कहिले कहिँ त काममै गर्मीले बेहोस हुनसक्ने अवस्थासमेत उनीहरूले झेल्नुपरेको हुन्छ । यस्तो बेलामा उनीहरु गाडीको एयर कन्डिसनमा बस्छन्, भने कतिपय अवस्थामा त समयभन्दा चाँडै कामको साइट नै छोड्नुपर्ने अवस्थासमेत आउँछ ।

गोन्जालवेज र उनका सहकर्मीहरू त प्रतिनिधि पात्रमात्रै हुन् । यस्तो कठिनाइबाट गुज्रिरहेका अरू पनि धेरै कामदार छन् । मरुभूमिमा आइस बेच्ने मान्छे छहारी खोज्दै चारैतिर आफ्नो ठेला घुमाउँछ । घाम उदाउनुभन्दा पहिल्यै रिसाइकलर टर्च लिएर निस्किन्छ ।

विशेषगरी निर्माण कम्पनी र कृषिमा काम गर्ने श्रमिकहरू प्रत्यक्ष मारमा परेका छन् । उच्च तापक्रम भएका देशहरूले आफ्ना नागरिकहरूलाई तापक्रम उच्च हुने समयमा बाहिरको काममा आराम लिनसमेत सचेत गराउने गरेका छन् ।

यसका अलावा तापक्रमबाट जोखिममुक्त हुन कुलिङ टेक्नोलोजी एक उत्तम विकल्प हुनसक्छ । तर आउटडोर कामको प्रयोगमा उपयुक्त टेक्नोलोजीको प्रयास विकासकै क्रममा छन् ।

यस्तै एउटा डिभाइस रियोन पकेट २ ‘Reon Pocket 2’ सोनीले गएको अप्रिलमा सार्वजनिक गरेको थियो । उक्त विद्युतीय उपकरण कपडामा लगाउन मिल्ने किसिमको उपकरण हो, जसले बाहिरको तापक्रम अनुसार शितल अथवा न्यानो गराउने काम गर्दछ ।

हाललाई भने यो उपकरण जापानमा मात्र उपलब्ध छ । कम्पनीले नै चाँडै नै अन्य देशमा पनि यो उपकरण सार्वजनिक गर्ने जनाएको छ ।

रियोन पकेटको पहिलो मोडेल लन्च भएको दुई दिनमा १० हजार थान बिक्री भएको थियो । गल्फ खेल्ने खेलाडीको प्रयोजनलाई लक्षित गरी बनाइएको उक्त पहिलो मोडेलको प्रयोग अन्य केही कामदारले पनि गरेका छन् ।

जिम्मेवार रोजगारदाताहरूले बाहिर गएर काम गर्नुपर्ने कामदारहरुको हितका लागि यस्तो प्रकारको उपकरण व्यवस्था गर्नु जरुरी छ । स्वच्छ पिउने पानी र शितल बस्ने स्थानको व्यवस्था हुनसके कामदारहरू मर्कामा पर्दैनन् । हाल यो प्रयास भारतमा पनि भइरहेको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३