close

यस्तो खतरनाक मालवेयर, जसले तपाईंको स्मार्टफोनलाई नै पूर्ण नियन्त्रणमा लिन सक्छ

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ १९:६

यस्तो खतरनाक मालवेयर, जसले तपाईंको स्मार्टफोनलाई नै पूर्ण नियन्त्रणमा लिन सक्छ

काठमाडौं । एन्ड्रोइडका पुराना स्मार्टफोनमा नयाँ मालवेयरको खतरा देखिएको छ । ‘एब्स्ट्र्याक्ट एमु’ (AbstractEmu) नामक यस मालवेयर प्रयोग गरेर ह्याकरले प्रयोगकर्ताको एन्ड्रोइड स्मार्टफोन पूर्ण नियन्त्रणमा लिनसक्छन् ।

यो मालवेयरमार्फत् विश्वव्यापी रुपमा सकेसम्म धेरै स्मार्टफोन उपकरणमाथि नियन्त्रण गर्ने अभियान थालिएको एक अध्ययनले खुलासा गरेको छ ।

‘लुकआउट थ्रेट ल्याब’ का अनुसार यो साइबर जोखिमबाट कुल १९ एन्ड्रोइड एप्लिकेसन प्रभावित भएका छन् । यसन्तर्गत युटिलिटी एप र सिस्टम टुल जस्तै; पासवर्ड म्यानेजर, मनी म्यानेजर, एप लञ्चर र डेटा सेभिङ एपहरू रहेका छन् ।

कुल १७ मध्ये सात एपले रूटिङ फङ्सन गर्ने जनाइएको छ । यसअन्तर्गत लाइट लञ्चर (Lite Launcher) नामक एप गुगल प्ले स्टोरमा १० हजारभन्दा बढी डाउनलोड भएको पाइएकाे छ ।

साथै यस्ता एप अमेजन एपस्टोर, सामसङ ग्यालेक्सी स्टोर, एपटोइड, एपीकेप्योर जस्ता एप स्टोरमार्फत वितरण गरिएका छन् ।

अज्ञात र कम जानकारीमा आएका मालवेयरहरू धेरै जोखिमपूर्ण हुन्छन् । ह्याकरले एन्ड्रोइड सिस्टममा विशेष अधिकार प्राप्त गर्नका लागि रुट प्रणालीको प्रयोग गर्ने र स्मार्टफाेनमाथि पहुँच प्राप्त गर्दछन्, अथवा अतिरिक्त मालवेयर इन्सटल गर्छन् ।

अनुसन्धानले बाहिर ल्याएको विवरणअनुसार फोनमा यी एप इन्स्टल भएपछि कल लग, एसएमएस म्यासेज, जीपीएस, क्यामेरा र माइक्रोफोनबाट रूट पर्मिसन प्राप्त गर्छन् ।

यसपछि स्मार्टफोन उपकरण कब्जा गर्नुका साथै संवेदनशील डेटा निकाल्न र रिमोट आक्रमण गर्न सक्छन् । यसबाट सजिलै अन्य एपमाथि ह्याकरको पहुँच हुनसक्ने जनाइएको छ ।

यो मालवेयरबाट अमेरिकाका एन्ड्रोइड प्रयोगकर्ताहरू सबैभन्दा बढी प्रभावित भएको लुकआउटले जनाएको छ, जसअन्तर्गत पैसा कमाउने उद्देश्यले संगठित समूहले यस्ताे मालवेयर अभियान सुरु गरेको उल्लेख गरिएकाे छ ।

यस्ताे सम्भावित साइबर आक्रमणबाट बच्न एन्ड्रोइड प्रयोगकर्ताले नयाँ भर्सन अपडेट गर्न लुकआउटले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५