close

यसरी उदाउँदैछन् ‘सुपर मोबाइल एप’

टेकपाना टेकपाना

मंसिर १२, २०७८ १०:४४

यसरी उदाउँदैछन् ‘सुपर मोबाइल एप’

काठमाडौं । मानौँ तपाईं अर्को साता आफ्ना केही साथीहरूसँग सिटी सेन्टरमा मुभी हेर्न चाहनुहुन्छ । यसका लागि तपाईंले केही एपहरूमा त पक्कै चहार्नुपर्ने हुन्छ । सम्भवतः तपाईं साथीहरूसँग ह्वाट्सएपमा च्याट गरेर योजना बनाउनुहुन्छ, क्यूएफएक्स सिनेमाको एपमा गएर टिकेट किन्नुहुन्छ, पठाओमार्फत राइड बुक गर्नुहुन्छ र चिसो खाँदा ई-सेवाबाट पैसा तिर्नुहुन्छ । तर यदि यी सबै काम तपाईंको फोनमा रहेको एउटै एपबाट गर्न सकिने भयो भने कस्तो होला ?

केही वर्षयता ठूला सामाजिक सञ्जाल कम्पनी थुप्रै चिजहरू अनलाइनमा एकै ठाउँबाट गर्न सकिने माध्यम बन्ने पूर्वानुमान हुँदै आएको छ ।  जब फेसबुक, टिकटक, स्न्यापच्याट जस्ता एपहरू सुरु भए, त्यतिखेर साथी तथा परिवारसँग सम्पर्कमा रहन अथवा यी सामाजिक सञ्जालमा रमाउने प्रयोजनका लागि मात्रै थिए । तर यी एपहरू आफैँमा रमाइलोका लागि सँगै शपिङ, बैंकिङको माध्यम समेत बन्दै गएका छन् ।

त्यसमध्ये केही कम्पनीहरूले अमेरिकामा, उदाहरणका लागि स्न्यापच्याट, सुपर एपको परिष्कृत तथा परिवर्तित रुपमा आउन थालेका छन् । यद्यपि उनीहरूको प्रारम्भिक उद्देश्य भने सामाजिक सञ्जालको रुपमा रहनु नै हो । सुरुमा विच्याटसँगै सुपर एपले चीनमा निकै लोकप्रियता प्राप्त गरे ।

यो म्यासेजिङ एपले विश्वको धेरै जनसङ्ख्या भएको देशमा अनलाइनको जीवनलाई जरुरी उपायको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । विच्याटले तपाईंलाई आफ्ना साथीलाई म्यासेज पठाउने र उनीहरूको अपडेट फिडमा हेर्नमा मात्र दिँदैन, सँगसँगै यो तपाईंलाई अर्को कार खरिद गर्न ऋण लिने कार्यमा पनि प्रयोग हुन्छ ।

अन्य डेभलपरलाई विच्याटले आफ्नो प्लेटफर्ममा मिनी एपको रुपमा ब्यापर गर्न दिन्छ, गत वर्ष मात्रै विच्याटबाट यसरी २४० बिलियन अमेरिकी डलरको अचम्म लाग्दो कारोबार गर्‍यो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । पश्चिमा जगतमा सामाजिक सञ्जालहरू एक अर्कालाई भेट्ने माध्यमको रुपमा काम गरिरहेका छन् ।

साथीभाइलाई म्यासेज गर्ने अथवा कन्टेन्टको फिड ब्राउजिङ गर्ने जस्ता एक अथवा दुई प्रयोजनमा उपयोग हुने ती एपहरू विस्तारै आफूअन्तर्गत सकेसम्म मानिसहरूले अनलाइनमा गर्ने धेरैजसो गतिविधिलाई समेट्न खोजिरहेका छन् ।

गत वर्ष फेसबुकले शपिङ फिचर थप गर्‍यो, जसले प्रयोगकर्तालाई खरिद बिक्रीमा सघाउने गर्छ । फेसबुक ग्रुपकै एप इन्स्टाग्रामका प्रमुखले हालै अब आफ्नो एप फोटो शेयर गर्ने एपको रुपमा माात्रै सीमित नरहेको बताएका थिए । ह्वाट्सएप, जुन फेसबुककै अंश हो, हालै दक्षिण अमेरिकामा प्रयोगकर्तालाई स्थानीय व्यवसाय पत्ता लगाउन सक्ने गरी डिरेक्टरी थप गर्‍यो भने छिमेकी देश भारमा ऋण जस्ता बैंकिङ उत्पादनमा परीक्षण गर्दैछ ।

एउटा एसएमएस तथा अक्षरमा आधारित सेवाको रुपमा सुरु भएको ट्वीटरले अहिले प्रयोगकर्तालाई अडियो रुम सञ्चालन गर्न र न्युजलेटरको सुविधा दिन  थालेको छ । टिकटकले हालै मात्र एपभित्रै शपिङ अनुभव लिन सकिने सुविधासँगै र डेभलपरका लागि आफ्नो मुख्य भिडिओ फिडमै उनीहरूको एपको अनुभव गर्न सकिने बनाएको छ ।

चिनियाँ बाहेकका सामाजिक सञ्जालमध्ये स्न्यापच्याट सुपर एप बन्ने दिशामा धेरै अगाडि छ । केही वर्ष अघिसम्म यसले अन्य डेभलपरका लागि मिनी एप ल्याएको थियो, जसले प्रयोगकर्तालाई आपसमा गेम खेल्न, मध्यस्थता गर्न र फिल्म टिकेट बुक गर्ने जस्ता काम स्न्यापच्याट भित्रैबाट गर्ने सुविधा दिन्छ । अहिले स्न्यापच्याटमा दुई दर्जनभन्दा धेरै मिनी एपहरू रहेका छन् ।

यद्यपि कम्पनीले ती सबै मिनी एपको समग्र प्रयोगको अवस्थाको विषयमा भने जानकारी बाहिर ल्याएको छैन । एपहरूको भिडमा सुपर एप बन्नुको मुख्य उद्देश्य भनेको मानव जीवनलाई एकत्रित गर्नु र उनीहरूको ध्यान पकडमा राख्नु हो, चाहे त्यो भिडिओको अनन्त फिड होस् वा लत्ता कपडा खरिद गर्न सजिलो उपाय नै किन नहोस् ।

जुन कम्पनीको एप छ, उसको ध्यान सकेसम्म होम स्क्रिनमा रहनसक्ने एप बनाउने दिशामा हुन्छ । विज्ञापन समावेश गरेर आम्दानी गर्ने एपहरूको  तरिकाले पनि सुपर एप उदाउने क्रमलाई बढावा दिएको छ । विभिन्न साइटहरूमा प्रयोगकर्ताको ट्रयाकिङ गर्दै फस्टाएका सामाजिक सञ्जाल कम्पनीहरू आफ्नो विज्ञापनले अन्य साइटको खरिद वृद्धि गराउन सक्नेमा खासै विश्वस्त छैनन् ।

यस किसिमको डेटा शेयरिङकै लागि एपहरूले प्रयोगकर्ताको इन्टरनेट गतिविधि ट्र्याक गर्ने र उनीहरूको रुचिअनुसार विज्ञापन देखाउने हुँदा त्यसले विज्ञापन दातालाई आकर्षित गरिरहेको हुन्छ । यस्तोमा एप्पलले हालै थर्ड-पार्टी (तेस्रो पक्षीय) एपहरूलाई विज्ञापन प्रयोजनका लागि अन्य कम्पनीहरूसँग डेटा शेयरिङ गर्ने प्रवृत्तिमाथि कडाई गरेको छ ।

यसले गर्दा आईफोन प्रयोगकर्तालाई एपले ट्रयाकिङ गर्न खोजेको अवस्थामा प्रोम्टको रुपमा स्क्रिनमा देखा पर्छ । गुगलले समेत एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै यस्तै अवधारणा अगाडि बढाउन खोजिरहेको छ । साथै उसले क्रोम ब्राउजरबाट थर्ड-पार्टी कुकिज अन्त्य गर्ने घोषणा यस अघि नै गरिसकेको छ । यति मात्र होइन, विश्वभरका नियामक, खासगरी युरोपियन युनियनले विभिन्न कम्पनीहरूबीच हुने डेटा शेयरिङलाई थप कडाई तथा निषेध गर्नेछ ।

यसको अर्थ साधारण छ, फेसबुक जस्ता विज्ञापनबाट सञ्चालित एपहरूले अन्य एप तथा वेबसाइटहरूमा प्रयोगकर्ताले के गर्छन् भन्ने कुरा ट्रयाक गर्न सक्ने छैनन् । जसले गर्दा उनीहरूले सम्भव भएसम्म प्रयोगकर्तालाई  आफ्नो एपमा राख्न खोज्नेछन् । उदाहरणको लागि शपिङ जस्ता रकम तथा कारोबारमा आधारित गतिविधि हुनसक्छन् ।

यद्यपि यस किसिमका परिवर्तनबाट एप्पल तथा अन्य नियामकहरूले एपहरूलाई आफ्ना प्रयोगकर्ताको डेटा संकलनमा भने रोक लगाउने छैनन् । जसले गर्दा ‘फर्स्ट-पार्टी’ अर्थात प्रथम पक्षले संकलन गर्ने डेटा अझ महत्त्वपूर्ण हुनेछ । यदि फेसबुक प्रयोगकर्ताले एपबाट नबाहिरिँदै अर्को एप तथा वेबसाइटमा खरिद कार्य गर्छ भने कम्पनीले जुन विज्ञापनको माध्यमबाट उक्त खरिद सम्भव भएको हो, त्यस्तो विज्ञापन दातालाई भने त्यस्तो सूचना उपलब्ध गराउन सक्छ ।

यसले गर्दा आफ्नो विज्ञापनले काम गरिरहेको छ वा छैन भन्ने विषयमा जानकारी थाहा पाउन विज्ञापनदाताले थप रकम तिर्नुपर्नेछ । अहिलेसम्मको अवस्था हेर्ने हो भने ठूला ठूला सुपर एप चीनमै छन्, जुन डेभलपरको गतिविधिको आधारमा अन्य भन्दा निकै अगाडि छन् । विच्याटमा करिब ३० लाख मिनी एप रहेका छन् भने अली पेमा यस्ता मिनी एपहरूको सङ्ख्या करिब १० लाख छ, जुन चीनको दोस्रो धेरै लोकप्रिय सुपर एप हो ।

चीन र पश्चिमा बाहेकका देशहरूका प्रयोगकर्ता पछिल्ला केही वर्षदेखि सुपर एपहरूमा झुम्मिएका छन् । नेपालमा पनि हाम्रो पात्रो जस्ता एपहरूले सुपर एपको अवधारणा प्रयोग गर्न  थालिसकेका छन् । हाम्रो पात्रोकै कुरा गर्ने हो भने उसले भर्खरै खाना डेलिभरी गर्ने कम्पनी फुडमान्डुलाई मिनी एपको रुपमा आफू मातहत समावेश गरेको छ ।

साथै उसले आफ्नो मुख्य विषयवस्तुको रुपमा रहेको पात्रोमा ज्योतिष परामर्श, टेलिहेल्थ, समाचार सामग्री लगायतका विविध विषयवस्तु समावेश गर्न थालेको त वर्षौँ भइसक्यो । तर यो अवधारणाले अन्यत्रका मानिसहरूलाई आकर्षित गर्छ वा उनीहरू विभिन्न उद्देश्यका लागि थुप्रै एप डाउनलोड गर्नमै अभ्यस्त छन् भनेर हेर्न चाहिँ बाँकी छ। भुक्तानी सेवा समावेश गर्ने विषय सुपर एपका लागि निकै महत्त्वपूर्ण मान्न थालिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२