काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ‘ब्राण्ड एम्बेस्डर’ मा महजोडीको रुपमा चिनिएका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र कलाकारद्वयले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।
उनले कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेस्डरको भूमिका सहयोगी हुने विश्वास व्यक्त गरे ।
कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको र मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्राण्ड एम्बेस्डर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए ।
सम्झौतासँगै ब्राण्ड एम्बेस्डरले टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् ।