close

कुलमानलाई प्रश्न : किन बारम्बार गइरहन्छ बत्ति ?

टेकपाना टेकपाना

पुस १२, २०७८ १६:९

कुलमानलाई प्रश्न : किन बारम्बार गइरहन्छ बत्ति ?

काठमाडौं । जाडोयामसँगै अहिले बारम्बार बत्ति गइरहने समस्या देखिएको छ । छिनछिनमा बत्ती जाँदा धेरै उपभोक्ताले नेपाल विद्युत प्राधिकरणसँग गुनासो गरिरहेका छन् ।

आखिर किन बारम्बार गइरहन्छ त बत्ति ? यो प्रश्न हामीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधेका थियौं । उनले पछिल्लो समय विद्युतको माग बढ्दै गएकाले बिजुली काटिने समस्या आएको जवाफ दिए ।

‘माग बढ्नु राम्रो कुरा हो । एकैछिन बत्ति गयो भन्दैमा लोडसेडिङ गरायो भनेर आत्तिने भन्ने कुरा होइन । माग धान्न नसकेर भन्दा पनि प्राविधिक समस्याका कारण बत्ति बारम्बार गइरहेको हो, यसको सामाधानका लागि हामी काम गर्दैछौं,’ उनले भने ।

उनका अनुसार प्राधिकरणले हरेक क्षेत्रमा कम्तिमा एउटा ट्रान्सफर्मर राखेकाे छ ।

‘यदि ट्रान्सफर्मर १०० केभीको छ र २०० केभीको लोड आयो भने सो ट्रास्फर्मरले धान्न सक्दैन र बत्ति जान्छ । यसको समाधानका लागि कि त ट्रान्सफर्मर परिवर्तन गर्नुपर्छ, अथवा त्यसैको नजिक अर्को थप्नुपर्छ,’ उनले भने ।

तर उपभोक्ताले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा अर्को चुनौती थपिएको उनकाे गुनासाे छ ।

‘कसैले पनि आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न वा पोल गाड्न दिँदैनन् । अनि बत्तिचाहिँ सबैलाई चाहिन्छ । यस्तो कुरामा उपभोक्ताहरूले पनि हामीलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

काठमाडौंमा नै जाडो महिनामा एउटा क्षेत्रमा १० जनाले हिटर बाल्यो वा एसी चलायो भने विद्युतको माग ह्वात्तै बढ्ने बताउँदै उनले यसका लागि ट्रान्सफर्मर परिवर्तन नै विकल्प हुने धारणा राखे ।

‘अबको तीन/चार वर्षमा थप ५००० देखि ६००० मेगावाट विद्युत उत्पादन हुँदैछ । माग बढ्नु राम्रो कुरा हो । यसपाली पनि ३०० देखि ४०० मेगावाट माग बढेको छ । हिजो हामी १८ घण्टा लोडसेडिङ पनि भोगेकै हो । तर आज एकछिन बत्ति गएकोमा आत्तिएर बस्छौं, जुन आवश्यक छैन,’ उनले थपे ।

यसरी कहिलेकाहिँ बत्ति जाँदा प्राधिकरणलाई आलोचना गरेकाेप्रति उनले भने, ‘उपभोक्ताले अहिले नै नेपालको व्यवस्था युरोपको जस्तो खोजेर हुँदैन, प्राधिकरण यसमा काम गरिरहेको छ र चाँडै नै समस्याकाे समाधान हुन्छ ।’

‘हामीसँग पैसामात्र भएर हुँदैन । हामीले प्रक्रियामा गएर उपकरणहरू ल्याउनुपर्छ । ठाउँ-ठाउँमा सबस्टेशनहरू थप्नुपर्छ । लाइन बनाउनुपर्छ । त्याे भनेकाे एकैपटक हुने हाेइन । दीर्घकालीन उपायका लागि हामीले काम गरिरहेका छौं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२